नयाँ शैक्षिक सत्रका लागि त्रिविले तोक्यो सीट संख्या, कसले कति सीट पाउने

2018-04-16 19:29

काठमाडौं । त्रिभूवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्नात्तकोत्तर तहको भर्नाका लागि नयाँ सीट संख्या तोकेको छ । त्रिविले आर्थिक वर्ष ७५–०७६ का लागि नयाँ सीट संख्या तोकेको हो । त्रिबिले एमडी, एमएस, एमडीएसमा नयाँ भर्नाका लागि त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका लागि क्लिनिकल विषयतर्फ ८७ सीट संख्या निर्धारण गरेको छ ।

त्यसैगरी, बेसिक साइन्स र दन्त चिकित्सा लगायतका विषयमा १८, जनरल सर्जरी, इन्र्टनल मेडिसिन, स्त्री तथा प्रसुति रोग तथा जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनतर्फ सबैभन्दा बढी १०–१० सीट संख्या तोकेको छ । त्यस्तै, सम्बन्धन प्राप्त कलेजतर्फ त्रिविले चितवन मेडिकल कलेज र नेपाली सेनाको अस्पताललाई सबैभन्दा बढी सीट संख्या तोकेको छ । जसअन्तर्गत चितवन मेडिकल कलेज, भरतपुरले इन्टरनल मेडिसितमा ५, जनरल सर्जरीमा ७ सामान्य चिकित्सामा १४ गरी करिब ४४ सीट प्राप्त गरेको छ । त्यस्तै, नेपाली सेनाको इन्स्टिच्यूट अफ हेल्थ साइन्स, सानो भर्‍याङ्गले ४६ सीट पाएको छ ।

आगामी वर्षको भर्नाका लागि सीट पाउनेहरुमा युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवा समेत रहेको छ । नेशनल मेडिकल कलेज, भैरहवाले आगामी शैक्षिक सत्रका लागि कुल ३७ सीट प्राप्त गरेकोमा त्यसमध्य जनरल सर्जरी तथा प्याथोलोजीतर्फ सबैभन्दा धेरै ५–५ सीट प्राप्त गरेको छ । त्यस्तै, बीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ३० सीट , चितवन मेडिकल कलेज, भरतपुरले ४४ सीट, पिपुल्स डेन्टल कलेज, नयाँ बजारले ८ सीट, किष्ट मेडिकल कलेज,ललितपुरले १० सीट, गण्डकी मेडिकल कलेज, पोखराले १२ सीट तथा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, सोल्टीमोडले १६ सीट प्राप्त गरेको छ ।

त्रिबि चिकित्साशास्त्र अध्ययन संस्थानको गत चैत १३ गते बसेको फ्याकल्टी बोर्डको वैठकले गरेको सिफारिसका आधारमा त्रिवि कार्यकारी परिषद्को नयाँ सीट संख्या तोकेको हो ।
नयाँ भर्नाका लागि २२ लाख
त्रिविले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी र एमएस’एमडीएसको अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । नयाँ भर्ना शुल्क अन्तर्गत त्रिविले क्लिनिकल तर्फको एमडी,एमएस र एमडीएस तर्फको लागि २२ लाख रुपैयाँ शुल्क निर्धारण गरेको हो । त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गते बसेको वैठकले एमडी,एमएस–एमडीएस तर्फ नयाँ भर्नाका लागि शुल्क २२ तथा बेसिक साइन्सतर्फ १२ लाख तीन हजार, जनस्वास्थ्य तर्फ दश लाख ९१ हजार रुपैयाँ कायम गरेको हो । यसअघि चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी–एमएस’एमडीएसको शुल्क २३ लाख हुनु पर्ने माग राख्दै आएका थिए ।

त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्डको बैठकले एमडीएमएस–एमडीएसको शुल्क २३ लाख पुर्‍याउन सिफारिस गर्दै आएका थिए । नयाँ भर्ना शुल्क निर्धारण भएसँगै यस वर्ष स्नात्तकोत्तर तहमा भर्ना हुन चाहने विद्यार्थीले तीन वर्ष शैक्षिक कार्यक्रमको हकमा प्रथम किस्ता ५० प्रतिशत भर्नाको समयमा, दोश्रो र तेश्रो किस्ता २५–२५ प्रतिशत क्रमश दोश्रो र तेश्रो वर्षको सुरुवातमा बुझाउन सक्नेछन् । त्यस्तै, दुई वर्षे शैक्षिक कार्यक्रमको हकमा भर्नाको समयमा ५० प्रतिशत र बाकी दोश्रो किस्ता ५० प्रतिशत दोश्रो वर्षको सुरुआतमा बुझाउन सक्नेछन् ।

    Comment Here!


सम्बन्धित समाचार