परिवर्तन भएन भन्नेहरु : आफ्नै देश हेरेको छ ? हिँजो र आज यस्तो आकाश जमिनको फरक छ !

2018-04-01 22:10

-खिमानन्द कँडेल / काठमाडौ । म लामो समय विदेश तिर बसेर भर्खरै मात्र काठमांडौ फर्किएको थिएँ । मेरो स्वास्थ्यको नियमित चेकजाँच गर्नुपर्यो भनेर वीर अस्पताल जाने योजना मैले बनाएको थिएँ । एका विहानै वीर अस्पतालमा जाँदा राष्ट्रपति महोदय समेत विरामीहरुको लाईनमा उपचारको लागि बसिरहेको देख्दा अब चाहि देशमा परिवर्तन भएछ भन्ने महसुस भयो ।

वीर अस्पतालमा मेरो पनि स्वास्थ्य चेकजाँच गरी सिधै औषधी पसल तिर लागेँ । औषधि अत्यन्त महँगो होला भनेर डर लागिरहेको थियो । सरकारले त धेरै औषधिहरुलाई निशुल्क गरिसकेको रहेछ र निशुल्क औषधि पाउँदा त मनै फुरुंग भयो ।

एकजना मेरो अत्यन्त मिल्ने साथी लाजिम्पाटमा बस्छन् । म वीर अस्पतालबाट लाजिम्पाट जानेबेलामा पैदलै जाने योजना बनाएँ । पहिले पहिले जस्तो जाम त अहिले पुरै घटिसकेको रहेछ । थुप्रै यात्रुहरु साईकलमा सररर आफ्नो यात्रा गरिहेको दृश्य देखे अनि त अत्यन्त आनन्द महसुस भयो र अब म पनि यात्राको लागि साईकल नै किनौं किनौं जस्तो लाग्यो ।

अगाडि लम्कँदै गर्दा रानीपोखरीको दृश्यले त मन्त्रमुग्ध नै भएँ । वोहो कति चाँडो रानीपोखरीको मुहार फेरिएछ । महानगरमा नयाँ मेयर आईसकेपछि त क्रान्ति नै गरिसकेका रहेछन् , मानिसहरुको व्यापक चहल पहल ।

ठूलो संख्यामा पर्यटकहरु रानीपोखरीको वरीपरि सेल्फी खिच्नमै मस्त थिए भने अलि गर्मीको मौसम भएकोले मानिसहरु आईसक्रीम खाँदै यताउती डुलिरहेको देख्न सकिन्थ्यो । अत्यन्त खुशी लाग्यो यहाँको चहलपहल देख्दा ।

त्यसपछि म जमल हुँदै अगाडि बढें । पहिले पहिले ठूलो संख्यामा यूवाहरु पासपोर्ट बनाउन लाईनमा देखिन्थे । पासपोर्ट बनाउने ठाउँ फेरिएछ कि भन्ने शंका लाग्यो र त्यही बाहिर स्वयंसेवकको रुपमा काम गरिरहेका एकजना कर्मचारीलाई सोधेँ , के अहिले कार्यालय सर्या हो र रु कर्मचारीले मन्द मुस्कुराउँदै भने , तपाई पनि कुन दुनियामा हुनुहुन्छ अहिले यूवाहरु विदेशमा जाने हैन विदेशी यूवाहरु नेपालमा केही गरौं भनेर आईरहेका छन् ।

देशका कुना कुनामा खोलिएका उद्योगहरु र औद्योगिक क्रान्तिले नेपालको इतिहास फेरिईसकेको छ । म दँग भएँ र खुशीले गदगद् हुँदै लाजिम्पाट तिर लागें ।त्यसपछि म लाजिम्पाट तिर लाग्दै गर्दा एकजना सँगै पढेका साथी भेटिए । अत्यन्त खुशी लाग्यो एकछिन छोटो कुराकानी भयो र उनले कुनै कार्यक्रमा जानको लागि हतार भएको सुनाए ।

उनी त अहिले मन्त्री पो भैसकेका रहेछन् । उनको वरीपरी सुरक्षाकर्मी सहयोगीहरु कोही पनि थिएनन् र उनी भन्दै थिए हामी राज्यको नेतृत्वमा बस्ने भनेको त जनताहरुको सेवाको लागि हो हामी जनताको सेवा गर्दामा नै खुशी छौं र त हामी अहिले विकासमा व्यापक फड्को मारिरहेका छौं ।ल तपाईलाई पनि नेपालमा देख्दा खुशी लाग्यो र अब तपाई पनि नेपालमा नै बस्नुपर्छ । तपाई अत्यन्त रचनात्मक मान्छे एकदिन मन्त्रालयमा आउनुस् र तपाईलाई अनुकुलको जिम्मेवारी के उपयुक्त हुन्छ सल्लाह गरौंला भन्दै साथी आफ्नो बाटोमा लागें ।

म पनि विदा भएर अगाडि बढें , म बास्तबमै जिल्ल परिरहेको थिएँ । मेरो मानसिकतामा शक्तिमा बस्नेहरु महाभ्रष्ट छन् , शक्तिकै आडम्बरमा जिन्दगी चलाएका छन् , माफिया र तस्करकै हातमा देश नाचिरहेको छ , विदेशीको गुलाम गर्नेहरु चम्केका छन् भन्ने लागिरहेको थियो । देशमा यति चाँडो यस्तो प्रगति भएको देख्दा म साँच्चिनै खुशीले गदगद् भएँ ।

म मोबाईल हेर्दै अगाडि बढिरहेको थिएँ । पक्कै पनि यस्ता व्यापक परिवर्तनहरु एकछिन सडकमै हिड्दा देख्दा मैले देशले लिएको समृद्धिको गतिको सहजै अनुमान लगाउन सक्थे । समाचार त कहिलेकाही हेर्थे मैले नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री भैसकेपछि क्रान्तिकारी परिवर्तनहरु भएका छन् , देशले कोल्टे फेरिरहेको छ । यस्तै यस्तै सोच्दै म अगाडि बढिरहेको थिएँ । 

यसरी सोच्दै अगाडि बढ्दा ध्यान अन्तै तिर गएछ पो कि क्या हो , म एक्कासी सडकको विजुलीको पोलमा ठोक्किन पुगेछु । म ब्युँझिँदा मेरो वरीपरि मानिसहरुको भीड थियो, सबैले हेरिरहेका थिए , कसैले मेरो भिडियो खिचिरहेका थिए त कसैले फोटा । मैले त निद्रामा सपना पो देखिरहेको रहेछु ।ब्युँझेपछि एकछिन त म अलमलमै परेँ , खुशी यो मानेमा भएँ कि म सुरक्षित रहेछु र दुखित यस मानेमा कि मैले देखेका लोभलाग्दा गतिविधिहरु केवल सपना नै रहेछन् । यसो क्यालेण्डर हेरेको को त आज अप्रिल एक पो रहेछ ।

    Comment Here!


सम्बन्धित समाचार