कोहलीसँग विवाह गरेपछि अनुष्काको पहिलो फिल्मी तस्बिर सार्वजनिक

2018-02-13 18:12

नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग गत डिसेम्बरमा वैवाहिक बन्धनमा बाँधिएकी बलिउड नायिका अनुष्का शर्मा पुनः फिल्ममा फर्किने तयारीमा छिन्।

उनको विवाहपछिको पहिलो फिल्मी तस्बिर सोमबार सार्वजनिक भएको छ। उनी यतिबेला ‘सुई धागा’को सुटिङमा व्यस्त छिन्। यशराजको ब्यानरमा बन्न लागेको यो फिल्ममा अनुष्काको जोडीको रुपमा पहिलोपल्ट वरुण धवन देखा पर्दैछन्। ‘सुई धागा’ को पहिलो तस्बिर सार्वजनिक गर्ने क्रममा दुवै कलाकार अन्य फिल्मभन्दा भिन्न देखिएका छन्।

तस्बिरमा वरुण सामान्य सर्ट–पेन्ट र जुँगामा देखिएका छन्। फिल्म ‘बदलापुर’मा पनि उनको ‘लुक’ यस्तै थियो। फिल्ममा वरुण मौजी र अनुष्का ममताको भूमिकामा छन्। अनुष्काले साडी पहिरिएकी छिन् भने उनी गाउँकी बुहारी झैँ देखिएकी छिन्। उनले टाउकोमा मौजीको नामको सिन्दुर पनि लगाएकी छिन्।

सुई धागा’को पटकथा मनिष शर्माले लेखेका हुन्। ‘दम लगा के हइशा’का निर्देशक शरत कटारियाले यो फिल्मको निर्देशन गर्दैछन्। ‘सुई धागा–मेड इन इन्डिया’ आत्मनिर्भरतामा आधारित कहानी हो। फिल्मको रिलिज २७ सेप्टेम्बरमा हुने बताइएको छ।

अनुष्का अहिले ‘सुई धागा’ मात्र होइन, आफ्नो प्रोडक्सन हाउसले निर्माण गरेको ‘परी’ फिल्मको प्रमोशनमा पनि व्यस्त छिन्। उनी शाहरुख र कैटरिना कैफसँग ‘जिरो’ फिल्मको सुटिङमा पनि व्यस्त छिन्। अहिले वरुण पनि आफ्नो आगामी फिल्म ‘अक्टुबर’ को प्रमोशन सुरु गर्ने अभियानमा छन्।

    Comment Here!


सम्बन्धित समाचार