पोज दिन संसारकै सिपालु ​स्वयम्भूका बाँदर

2018-01-13 20:20

काठमाडौं । विज्ञान र प्रविधिको विकाससँगै मानिसमा असीमित चाहानाहरु थपिँदै गएको छ । सामाजिक सञ्जालको प्रयोगले गर्दा फोटोले पनि विशेष अर्थ राख्ने गरेको छ । त्यस्तै, मोबाइलमा आएको नयाँ नयाँ प्रविधिले फोटो खिच्न सहज भएको छ । थरिथरीका पोजसहितको फोटा सामाजिक सञ्जालमा देख्न पाइन्छ । तर क्यामरा देखेपछि बाँदरले पनि पोज दिन्छ भन्ने सुन्दा अचम्म लाग्ला । अचम्म नमान्नुस, नेपालकै बाँदरहरु संसारकै फोटोजेनिक भएको बजफीड डट कमले जनाएको छ ।

सन् २०१५ मा अध्ययनका क्रममा नेपाल आएकी टेलर एलेक्सीले खिचेको स्वम्भूनाथमा रहेको एउटा बाँदरको तस्बिर ‘संसारकै फोटोजेनिक बाँदर’ भएको बजफीडले जनाएको छ । एलेक्सीले आफूले खिचेका बाँदरका तस्बिर इन्स्टाग्राममा राखेकी थिइन् । क्यामेरा निकालेपछि बाँदरले विभिन्न प्रकारको पोज दिएको उनले बताएकी छन् । स्वयम्भूनाथमा रहेका बाँदर विभिन्न प्रकृतिका भएको भन्दै एलेक्सीले बजफीडसँग भनेकी छन्, ‘मन्दिरमा विभिन्न चरित्र र पर्सनालिटी भएका बाँदरहरु रहेका छन् । केही बाँदर मान्छेको नजिक नै पर्न चाहन्थेनन् । तर यो बाँदरको चर्तिकला भने हेर्नलायक थियो ।’ यो मन्दिर पर्यटकहरुमाझ ‘मङ्की टेम्पल’ को नामले चिनिएको छ । एलेक्सीले भनेकी छन्, ‘म उसको एकदमै नजिक थिएँ । मलाई वास्तवमै लाग्यो कि त्यो बाँदरलाई मैले फोटो खिच्दैछु भन्ने थाहा थियो । उभन्दा म केही फिट पर मात्रै थिएँ तर पनि उसले केही असजिलो मानेन ।’

    Comment Here!


सम्बन्धित समाचार