पाँचबुँदे सहमतिसँगै डा. गोविन्द केसीले अनसन तोडे के छ सहमतिमा

2018-01-13 11:28

काठमाडौ । सरकारसँग शुक्रबार मध्यराति भएको पाँचबुँदे सहमतिसँगै शनिबार बिहान डा।गोविन्द केसीले अनसन तोडेका छन् । त्रिभुवन शिक्षण अस्पताल भित्रै अनसनमा रहेका डा। केसीले नथुनिया मोचीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । सिरहाका ४५ वर्षीय मोची त्रिवि अस्पताल अगाडि विगत एक दशकदेखि जुत्ता सिउँदै आएका छन् । अनसन तोड्दै गर्दा डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नगरे पुनः अनशन बस्ने चेतावनी समेत दिएका छन् । आइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्त भएका प्रा डा शशि शर्मालाई चार दिनका लागि पुनर्बहाली गरेसँगै डा केसीले न्यायको किनबेच भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित सोमबारदेखि आमरण अनसन थालेका थिए। डा। केसीले फैसलाविपरीत अभिव्यक्ति दिएर अदालतको अवलेहलना गरेको भन्दै सर्वोच्चको आदेशमा उनलाई अनसन थालेकै राति पक्राउ गरेर भोलिपल्ट अदालत उपस्थित गराइएको थियो।

यस्तो छ पाँचबुँदे सहमति
१, चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिम सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने ।

२, सर्वोच्च अदालतको मिति २०७४ पुस २३ गतेको मुद्दा नं। ०७० डब्लुओ ०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा ‘जहाँसम्म हाल नियुक्त भएका प्रा।डा जगदीशप्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैरकानुनी हो भन्ने आधार पुष्टि नभएको’ भनी गरेको आदेशअनुसार नै निज डिन अग्रवालको नियुक्ति वैद्य भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।

३, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीध्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्न तत्काल त्रिविसभा सिनेटको बैठक बोलाउने ।

४, त्रिवि शिक्षण अस्पताल सुधारसम्बन्धी माग सम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूवार्धार सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा विस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने विस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।

५, डा. गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।

    Comment Here!


सम्बन्धित समाचार