प्रधानन्यायाधीशमाथि छानबिन गर्न चिकित्सकको माग…

2018-01-13 10:37

काठमाडाैं । डा. गोविन्द केसी पक्षधर चिकित्सकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिन हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतको अवहेलना गरेको अभियोगमा सोमबार पक्राउ परेका केसीको रिहाइको माग गर्दै चिकित्सकले बुधबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । चिकित्सकले डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि लगाएका आरोपको छानबिन हुनुपर्ने माग गरेका छन् । बुधबार चिकित्सकले माइतीघर मण्डलामा दुई घन्टा प्रदर्शन गरेका छन् । प्रदर्शनमा चिकित्सकसँगै विभिन्न राजनीतिक दलका कार्यकर्ता र विद्यार्थीको समेत सहभागिता थियो । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. केसीका विश्वास पात्र डा. जीवन क्षेत्रीले अहिले केसीको पक्ष–विपक्षमा धारणा आउनु स्वाभाविक भएको बताए । ‘सडकबाट कसले के भन्छ त्यसको पछि लाग्नुहुँदैन,’ डा. क्षेत्रीले भने, ‘डा. केसीले प्रधानन्याधीशविरुद्ध लगाएको आरोपको सत्यतथ्य छानबिन अदालतले नै गर्नुपर्छ । सत्यतथ्यको टुंगो लगाउने काम पनि अदालतकै हो ।’ डा. क्षेत्रीले अदालतमा हुने भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँदा त्यसलाई अदालतविरुद्धको मानहानीका रूपमा बुझ्नु नहुनेमा जोड दिए ।

केसीको स्वास्थ्यमा समस्या छैन

डा. केसीको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा कुनै समस्या नभएको बताएका छन् । केसीको उपचारमा संलग्न वीर अस्पतालका डा. सुरेन्द्र श्रेष्ठले उमेरका कारण डा. केसीको स्वास्थ्य सामान्य कमजोरी देखिए पनि स्वास्थ्यमा अन्य कुनै समस्या नभएको बताए । सोमबार पक्राउ परेका डा. केसीलाई मंगलबार रातभरि र बुधबार दिनभरि वीर अस्पतालको ९ नम्बर क्याबिनमा सामान्य उपचारसहित आराम गराएर राखिएको थियो । नेपाल चिकित्सक संघ र नेपाल अर्थोपेडिक संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी डा. केसीको पक्राउको विरोध गरेका छन् । अाजकाे नयाँ पत्रिकाबाट ।

    Comment Here!


सम्बन्धित समाचार