नेपालको हावा भारतमापनि प्रधानन्यायाधीशविरुद्ध चार न्यायाधीशको पत्रकार सम्मेलन

2018-01-12 14:33

काठमाडौं । नेपालमा प्रधानन्यायाधीश बिरुद्ध अभियान चलिरहेकै बेला भारतको सर्वोच्च अदालतका चार न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध उभिएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेका छन्, जुन भारतको न्यायिक इतिहासमा पहिलो पटक भइरहेको छ ।

न्यायाधीशहरु जे चेलमेश्वर, रञ्नज गोगोई, मदन लोकुर र करियन जोसेफ प्रधानन्यायाधीशविरुद्ध उभिएका हुन् । आफ्नै आवासमा पत्रकार सम्मेलन गरेका सर्वोच्चका दोस्रो नम्बरका न्यायाधीश जे चेलमोश्वरले भने, ‘हामी चार जना यो कुरामा सहमत छौं कि यो संस्थालाई नबचाए यो देशमा वा कुनै पनि देशमा लोकतन्त्र जीवित रहँदैन । स्वतन्त्र र निष्पक्ष न्यायालय राम्रो लोकतन्त्रको निशानी हो ।’ आफूहरुले शुक्रबार मात्र प्रधानन्यायाधीशलाई भेटेको तर, उनलाई सहमत गराउन नसकेको उनले बताए । उनले भने, ‘अब हामीसँग न्यायलयको हेरविचार गर्न देशबासीलाई भन्नुको विकल्प रहेन ।’

भारतमा प्रधानन्यायाधीश दीपक मिश्र छन् । उनी वरिष्ठताका आधारमा नियुक्त भएका हुन् । १३ महिनाको कार्यकाल पुरा गरेर उनी २ अक्टोबर २०१८ मा रिटायर्ड हुनेछन् । उनको चर्चित फैसलामा दिल्लीको निर्भया सामूहिक बलात्कारका दोषीको फाँसीको सजाय कायमै राख्ने र चाइल्ड पोर्नेग्राफी सम्वन्धी वेबसाइट बन्द गर्नेसम्म छन् ।

    Comment Here!


सम्बन्धित समाचार