कम्युनिस्ट एकताको आवश्यकता

2018-01-11 09:14

रमेश गुरागाईँ / असोज १७, २०७४ मा आयोजित पत्रकार सम्मेलनमार्फत् कम्युनिस्ट एकताको ६ बुँदे सहमतिपत्र सार्वजनिक गरियो, जसमा नेकपा (एमाले) अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले कार्यक्रमकै बीचमा हस्ताक्षर गरेका थिए । त्यसअघि दुई अध्यक्षको तहबाट अन्तिम रुप दिइएको सहमतिपत्र दुई पार्टीको अलगअलग बैठकबाट अनुमोदन गरिएको थियो । सहमतिपत्रका दुई कार्यभार चुनावी तालमेल र पार्टी एकता थिए, जसअनुसार पहिलो काम शानदार रुपमा सम्पन्न भइसकेको छ भने दोस्रो काम सकारात्मक रुपमा अघि बढेको छ । २०१९ साल यता नेपालमा कम्युनिस्ट पार्टीहरु अनेकौंपटक फुटे । यदाकदा तिनीहरुमध्ये केही बीचमा एकता पनि भयो तर त्यसले मूलरुपमा कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाउन सकेन । २०२८ सालको झापा विद्रोहबाट माले, एमाले हुँदै विकास भएको धारा र २०३१ सालको चौथो महाधिवेशनबाट मशाल, एकता केन्द्र, माओवादी हुँदै विकास भएको धारा नेपालमा दुई मुख्य कम्युनिस्ट पार्टीको रुपमा उदाए । त्यसैले यी दुई कम्युनिस्ट पार्टी बीचको एकताबेगर अन्य एकताको अर्थ हुन्न थियो । र, हाल यी दुई पार्टीको एकताले अन्तिम रुप नलिँदै साना समुहहरु एक वा अर्कोतिर ध्रुबिकृत भएका छन् । यो क्रम अझै जारी छ ।

सँधैभरि झगडा गरिरहने भाइहरुलाई मिलाउन एकजना विद्वानले सबैलाई एकएकवटा लाठी दिएछन् र भाँच्न भनेछन् । सबैले लाठी सजिलै भाँचे । फेरी त्यस्तै लाठीहरुको मुठो बनाएर त्यसलाई भाँच्न भनेछन् । सबैले पालैपालो प्रयास गरे तर कसैले भाँच्न सकेनन् । त्यसैले एक ठाउँमा मिलेर बसेपछि कसैले सजिलै भाँच्न सक्दैन । अनेकौँ चुनौतीसँग जुध्न सजिलो हुन्छ । ती विद्वानले एउटा सानो प्रयासबाट फुटेका भाइहरुलाई एकजुट बनाए । एकता नै बल हो भन्ने यो नीति कथाको सार कम्तिमा कम्युनिस्टहरुले आत्मसात गर्नुपर्छ । कम्युनिस्ट पार्टी भनेको अन्तरविरोधको पुञ्ज हो । प्रस्ताव वा विचारमाथि फरक मत राख्ने, बहस र छलफल गर्ने, निष्कर्षमा पुग्ने र एकरुपतामा कार्यान्वयन गर्ने कार्यशैली कम्युनिस्ट पार्टीमा हुन्छ । अझ माओ त्सेतुङ्गले सयौँ फूललाई फूल्न देऊ र हजारौँ विचार हुर्किन देऊ भन्नुभएको छ । यसैलाई वाद, विवाद र संवाद वा छलफलमा स्वतन्त्रता र कामकारबाहीमा एकरुपताको नियम मानिन्छ । यसकारण कम्युनिस्ट पार्टी मत नमिल्नेबित्तिकै फुट्न जरुरी हुँदैन र मिल्न बाँकी विषय अझै छन् भनेर एकतालाई पर धकेल्नु औचित्यपूर्ण हुँदैन ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पार्टी विभाजनको औचित्य एकपटक मात्र पुष्टि भएको छ । २०५१ सालमा एकता केन्द्रबाट माओवादी पुनर्गठित भएको थियो, जसले जनयुद्ध सञ्चालन गर्ने विचार अघि सारेको थियो । एकता केन्द्रभित्र समान विचार र कार्यनीति निर्माण हुन सकेको थिएन तर बहुमत माओवाद मान्ने र जनयुद्धको पक्षमा थियो । यस्तो अवस्थामा पार्टी विभाजन अनिवार्य थियो किनकि एउटै पार्टीमा एक पक्ष युद्धको तयारी गर्ने र अर्को पक्ष घरमा बस्ने सम्भव थिएन । त्यसैले जनयुद्ध हुञ्जेल पार्टी विभाजन सही सावित भयो । योबाहेक जतिपटक पार्टी विभाजन भए, ती सबै अर्थहीन, औचित्यहीन र गलत भएका छन् । पछि युद्धविराम र शान्ति प्रकृयाको थालनीसँगै दुई पार्टी छुट्टै बस्न जरुरी थिएन । त्यसैले माओवादी र एकता केन्द्रबीच पुनः एकता भई एकीकृत नेकपा (माओवादी) बनेको थियो । २०४७ सालमा नेकपा (मशाल), नेकपा (चौम) र सर्वहारावादी श्रमिक पार्टी एक भई नेकपा (एकता केन्द्र) निर्माण गरिएको थियो र एकीकृत पार्टीका नेता हुनुहन्थ्यो महामन्त्री प्रचण्ड । त्यसबेला उहाँले अनेकौँ प्रश्नको सामना गर्नुपरेको थियो । आफैँले दक्षिणपन्थी संशोधनवादी, गैरसर्वहारा प्रवृत्ति आदि आरोप प्रत्यारोप गरिएका समुहसँग एकता गरेपछि प्रश्न उठ्नु स्वभाविक थियो । प्रचण्डले क्रान्तिकारी पार्टी भए पनि मशालभित्र गैरक्रान्तिकारीहरु र संशोधनवादी भए पनि अन्य पार्टीभित्र क्रान्तिकारी भएका कारण एकता गर्नुपरेको अनि एकतापछि क्रान्तिकारीहरु एक ठाउँमा आउँने र गलत प्रवृत्ति अर्कोतिर जाने बताउनुभएको थियो, जुन जनयुद्धको तयारीका बेला प्रमाणित भयो । अहिले पनि दुई पार्टीबीचको एकतापछि त्यस्तो ध्रुबिकरण नहोला भन्न सकिन्न ।

विश्व कम्युनिस्ट आन्दोलनमा समेत यस किसिमका प्रश्नहरु उठेका पाइन्छन् । रुसी सामाजिक जनवादी मजदुर पार्टीको नेतृत्व गरिरहेका नेता लेनिनले पार्टी एकताको सन्दर्भमा एकपटक भन्नुभएको थियो, एकताको लागि म पनि सहमत थिइनँ तर जनताको चाहना यही भएकाले मैले एकता गरेँ । ठिक त्यसरी नै अहिले नेपालमा कम्युनिस्ट जनमत एकताको पक्षमा थियो, जुन भरखरै सम्पन्न निर्वाचनमार्फत व्यक्त भइसकेको छ । यस्तो अवस्थामा दुई फरकफरक पृष्ठभूमि र कार्यनीति लिँदै आएका पार्टीहरु एक हुनु विज्ञानसम्मत हुन्छ किनकि मिल्नेसँग मात्र मिल्नु गुटवाद हो भने नमिल्नेसँग पनि मिल्नु द्वन्द्ववाद हो । एकता नभइरहँदा पनि एमाले र माओवादी केन्द्रभित्र अनेकौँ गुट र उपगुट कृयाशील रहेको कतैबाट लुकेको छैन । सायद यस्तै अवस्थालाई चिनीयाँ कम्युनिस्ट पार्टीका नेता माओ त्सेतुङ्गले एउटै पार्टीभित्र अनेकौँ पार्टी र पार्टीबाहिर पनि पार्टी हुने भन्नुभएको हो । विभिन्न विषयमा अन्तरविरोध पैदा भई यस्तो अवस्था सिर्जना हुन्छ । ती ससाना अन्तरविरोधको हल खोज्दा कम्युनिस्ट आन्दोलनमा आवश्यक गति पैदा हुन सक्दैन । त्यसैले ती सबैलाई एक ठाउँमा ल्याउँदा नयाँ र ठूलो अन्तरविरोध पैदा हुन्छ, जसको समाधान कम्युनिस्ट अभिष्टसँग गाँसेर अघि बढ्न सकिन्छ ।

हिजो दुई पार्टीका शीर्ष नेताहरुले एकताको पहल गर्नुभयो, अधिकांश कार्यकर्ता आश्चर्यचकित मात्र होइन केही समय आक्रोशित समेत भए । त्यो विस्तारै सेलाउँदै गयो । निर्वाचनका लागि संयुक्त घोषणापत्र तयार गरियो । गठबन्धनका उम्मेद्वारहरु तय भए । निर्वाचन परिचालनको क्रममा दुई पार्टीका कार्यकर्ताबीच अन्तरघुलन भयो । जनमत एकताकै पक्षमा प्रकट भयो । अहिले दुवैतर्फबाट एकताको लागि शीर्ष नेताहरुलाई दबाब पर्न थालेको छ । घोषणापत्रको कार्यान्वयनका लागि एकढिक्का हुन जरुरी छ । हिजो सरकारको स्थायित्व, विकास र समृद्धिका लागि कम्युनिस्ट एक हुनुपरेको सगौरव घोषणा गरिएको छ । आज बहुमतको सरकार एमाले र माओवादी मिलेर मात्र बन्न सक्छ । विकास र समृद्धिका निम्ति घोषणापत्रमा निर्धारण गरिएका एक वर्षे, दुई वर्षे, तीन वर्षे, चार वर्षे, पाँच वर्षे र दश वर्षे योजना कार्यान्वयन गर्न स्थायी सरकार आवश्यक हुन्छ । समृद्धिको नाराले सार्थकता नपाए अर्को निर्वाचनमा कम्युनिस्टहरु पत्तासाफ हुनेछन् । त्यसैले यी सबै विषय सम्बोधन गर्न कम्युनिस्ट एकता झन्झन् अपरिहार्य बन्दै गएको छ, जुन अहिले सकारात्मक दिशाउन्मुख छ ।

    Comment Here!


सम्बन्धित समाचार