किमको त्यो छोटो अभिव्यक्ति जसले दक्षिण कोरिया र अमेरिकाको धारणा एकाएक बदलिदियो

2018-01-09 14:21

काठमाडौ। सन् २०१८ मा दक्षिण कोरियामा हुने शीतकालिन ओलम्पिकमा उत्तर कोरियाली टोलीले सहभागिता जनाउने पक्का भएको छ । उत्तर कोरियाका अनुसार फेव्रुअरीमा हुने ओलिम्पिकमा सहभागी हुन खेलाडीहरुसँगै समर्थक र डेलिगेसन पनि दक्षिण कोरिया जानेछन् । पछिल्लो दुई वर्षमा पहिलो पटक दुई देश वार्ताका लागि टेवुलमा बसिरहेका छन् । उत्तर कोरिया र दक्षिण कोरियाको अन्तर्राष्ट्रिय सीमामा रहेको पनमुनजोम गाउँको पीस हाउसमा यो वार्ता भएको हो ।

१९५३ को कोरियाली युद्ध समाप्तिपछि पनमुनजोमलाई दुवै देशका अधिकारी वार्तामा बस्न सक्ने ठाउँको रुपमा निर्धारण गरिएको थियो ।पनमुनजोमलाई युद्धविराम वाला गाउँ पनि भनिन्छ । यस गाँउलाई सेनाले दुई हिस्सामा बाँडेर राखेका छन्, जसको एक भाग उत्तर कोरिया र अर्को भाग दक्षिण कोरियामा छ । विशेष गरेर ओलम्पिक खेलमा सहभागिताको विषय यस वार्ताको प्रमुख एजेन्डा भए पनि दक्षिण कोरियाले यो बैठकमा दुई देशबीच सम्बन्ध सुधारका विषयमा पनि कुरा गर्ने बताइएको छ ।

दुई देशबीच पछिल्लो पटक सन् २०१५ मा छलफल भएको थियो । त्यसपछि दुई देशबीच तनाव बढिरहेको थियो । उत्तर कोरियाले निरन्तर रुपमा क्षेप्यास्त्र परिक्षण गर्नुका साथै परमाणु परिक्षण गरेपछि दुई देशबीच तनाव बढेको थियो । त्यसपछि दक्षिण कोरियाले कायसाङ औद्योगिक क्षेत्रमा रहेको संयुक्त आर्थिक परियोजना रद्द गरिदियो । प्रतिक्रियास्वरुप, उत्तर कोरियाले दक्षिण कोरियासँगको सवै सम्बन्ध तोडिदियो । यति मात्र होइन, उत्तर कोरियाले टेलिफोन लाइन पनि काटिदियो । पछिल्लो बर्षदेखि उत्तर कोरियाले लगातार प्रतिवन्धित हतियारको परीक्षण गर्दै आएको छ । यसले दुई देशबीचको तनाव बढाइरहेको थियो । गत साता किम जोङ उनले आफ्नो टिम शीतकालीन ओलम्पिकमा भाग लिने विषयमा पुर्नविचार गर्न सक्ने बताएका थिए । त्यसपछि दक्षिण कोरियाले उच्चस्तरीय संवादको प्रस्ताव राखेको थियो ।

वार्ता अगाडी दुवै पक्षले मिडियासँग कुराकानी गर्दै वार्ता सफल हुने विश्वास व्यक्त गरेका छन् । किमको एक अभिव्यक्तिले उत्तर र दक्षिणको सम्बन्ध सुधारतर्फ लम्किने सम्भावना मात्रै देखिएको छैन, अमेरिकाले पनि उत्तरलाई हेर्ने दृष्टिकोण फरक बनाइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरको सक्रियता सकारात्मक भएको प्रतिक्रिया दिइसकेका छन् । किमले दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तरका खेलाडी सहभागी हुने भन्दै दिएको एउटै अभिव्यक्तिले राजनीतिक वातावरण नै शितल बनाइदियो ।

    Comment Here!


सम्बन्धित समाचार