जान्नुहोस् नेपालमा यसकारण घरजग्गाको भाउ चर्कियो

2018-01-07 08:10

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएसँगै प्रदेशको राजधानी कहाँ बन्ने भन्नेबारे चर्को बहस भइरहँदा घरजग्गाको भाउ भने निकै उकालो लागेको छ । निर्वाचित तथा पराजित उम्मेदवारले मात्रै नभई स्थानीयले पनि आफ्नो ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने अडान लिइरहेको बेला प्रदेश राजधानीमा घरजग्गा जोड्नको लागि खरिदकर्ताहरु लागिपरेका छन् । सरकारद्वारा गठित उच्चस्तरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानीको रुपमा प्रस्ताव गरेसँगै यी शहरमा अत्याधिक रुपले जग्गाको मूल्य बढेको हो ।

हल्लाकै भरमा जग्गाको मूल्य निकै बढेको रियल स्टेट व्यवसायी संघ नेपालका केन्द्रीय सचिव तथा मनकामना रियल स्टेटका निर्देशक सरोज न्यौपानेले बताए । अस्वभाविक रुपमा प्रदेश राजधानी बन्ने हल्लाले जग्गाको भाउ चलिरहेको भाउभन्दा तेब्बरले बढिरहेको उनको भनाइ छ । आर्थिकन्यूज डटकमसँग कुरा गर्दै उनले भने–‘नेपालका धेरैजसो खरिदकर्ता हल्लाको भरमा पर्ने मूल्यभन्दा बढी मूल्य तिर्न तत्पर देखिएका छन् । २०७२ सालमा गएको भूकम्पले राजधानीमा बस्नेको संख्या घट्ने र घरजग्गाको भाउ पनि ओरालो लाग्ने अनुमान गरिरहँदा त्यसको एक वर्षपछि मूल्य चौबरसम्म भयो ।’ यसरी अनुमानविपरित मूल्य बढ्दा राजधानीको मात्रै होइन मुख्य शहरका कुना–कुनाको मूल्य पनि आकाशिने गरेको छ ।

जग्गाको कारोबार गर्दा एकैपटक नाफा कमाउन सकिने सपना देखेर खरिद गर्नेको चाप बढ्दा जग्गाको मूल्य पनि आकाशिने गरेको छ । यस्तो खालको कृत्रिम मूल्यवृद्धिले देशको अर्थतन्त्रलाई नै कृत्रिम बनाउनसक्ने भन्दै सरोकारवालाहरुले चेतावनी दिँदै आइरहेका छन् । त्यस्तै प्रदेश राजधानीको चर्चाले खेतीयोग्य जमिन खण्डीकरण हुन थालेको छ । सरकारले कित्ताकाटमा रोक लगाए पनि पहिलाका टुक्रे जग्गाको बिक्री भने दोब्बरभन्दा पनि बढी रहेको सरोकारवालको भनाइ रहेको छ । नेपालमा कुल खेतीयोग्य जमिन ४० लाख हेक्टर क्षेत्रफल रहेकोमा प्रदेश राजधानी बन्ने ठाउँको खेतीयोग्य भूमि अझै नास हुने देखिन्छ ।

    Comment Here!


सम्बन्धित समाचार