यी हुन् पार्टी एकताका सरलतम र वैज्ञानिक उपाय…

2018-01-06 19:30

ठमानसिंह तामाङ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावलगत्तै पार्टी एकीकरण गर्ने भन्दै वाम गठबन्धन भएको घोषणा गरे । सात सदस्यीय पार्टी एकता संयोजन समिति निर्माण गरेर एउटै चुनावी घोषणापत्रका साथ मङ्सिर १० र २१ को प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावमा भाग लिए । ६०–४० को भागबन्डासहित चुनाव लडेको वाम गठबन्धनले दुईतिहाई नजिकैको मतपरिणाम समेत प्राप्त गरिसकेको छ । तर, हाल आएर पार्टी एकता जटिल बन्दै गएको हल्ला छ । शीर्ष नेताहरूको व्यवस्थापन मुख्य समस्या रहेको कुरा सञ्चार माध्यमहरूमा आइरहेको छ । सबैभन्दा जटिल प्रश्न भने एकीकृत पार्टीको अध्यक्ष को बन्ने वा कसरी पार्टी नेतृत्व निर्धारण गर्ने भन्नेमै बहस केन्द्रित छ । यस सन्दर्भमा निम्न केही उपायहरू पनि उपयोगी हुन सक्छन्–

१. पहिले दुवै पार्टीले आ–आफ्नो पार्टीका आधिकारिक निकायमा पार्टी एकताको निर्णय गराउने । त्यसपछि संयोजन समितिको बैठक वा दुवै पार्टीको पदाधिकारीको संयुक्त बैठक बसी पदीय भागबन्डा गर्ने र पार्टी एकता घोषणा गरिदिने ।

जसमा–

२. दुबै पार्टीका अध्यक्षद्वयको अध्यक्षमण्डल निर्माण गर्ने ।

३. दुई अध्यक्षमध्ये एकले सरकार र अर्कोले पार्टीको नेतृत्व गर्ने गरी आ–आफ्नो लिखित क्षेत्राधिकार तोक्ने । आवश्यक परे पार्टीमा छलफल गरी सरकार र पार्टीको नेतृत्व हेरफेर वा आलोपालो वा अन्य वरिष्ठ नेताहरूले गर्ने गरी मिलाउने । दुई अध्यक्षमध्ये आवश्यक परे जो–कोहीले विश्राम लिने र छलफलबाट अरू नै वरिष्ठ नेताहरू वा अन्य कोहीमध्येबाट नेतृत्व परिपूर्ति गर्ने ।

४. एमाले पार्टी ठूलो भएकाले सरकार वा पार्टी कुन मोर्चाको नेतृत्व लिने भन्ने सवालमा एमालेलाई पहिलो छनोटको अवसर दिने । बाँकी रहेको मोर्चाको नेतृत्व स्वतस् माओवादी अध्यक्षले लिने ।

५. वरिस्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको वरिस्ठ नेताकै रूपमा राख्ने र आवश्यक परे सरकार र पार्टीको तत्कालीन जगेडा उत्तराधिकारीका रूपमा तयारी अवस्थामा राख्ने ।

६. वर्तमान पार्टी एकता संयोजन समितिलाई चिनिया कम्युनिस्ट पार्टीको शक्तिशाली स्थायी समितिकै रूपमा घोषणा गर्दा पनि हुन्छ । वरियताक्रम भने सिनियरिटी वा उमेर वा क्षमता–योग्यता वा स्वस्थताको ख्याल गरी सहमतिमा टुंग्याउने ।

७. बाँकी दुवै पार्टीका पदाधिकारी र वरिष्ठ सदस्यहरूलाई पोलिटब्युरो सदस्यका रुपमा राख्ने । आवश्यक परे वैकल्पिक पोलिटब्युरो पनि राख्ने ।

८. पार्टीका अन्य केन्द्रीय समिति सदस्यहरुलाई केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यको हैसियत दिने ।

९. माथिदेखि तलसम्म विभिन्न विभाग गठन गरी नेतृत्व र जिम्मेवारी तोक्ने ।

१०. देशको नयाँ संविधान र संरचनाअनुसारका पार्टी कमिटी निर्माण गर्ने । यसो गर्दा एकीकृत पार्टीको देशैभरिको केन्द्रीय संरचना ७ सय ७७ देखि ९ सय ९९ सम्मको बनाउन सकिन्छ । यसमा पनि बैठकलाई चुस्त–दुरुस्त बनाउन हरेक प्रदेशको मुख्य नेतृत्वबाट प्रतिनिधित्व हुने गरी ७७ वा ९९ संख्याको केन्द्रीय समितिको बैठक राख्ने व्यवस्था गर्ने । बाँकी केन्द्रीय समितिका सदस्यहरुको बैठक प्रदेशमै राख्ने र त्यसको निर्णय ७७ वा ९९ को उच्चस्तरीय केन्द्रीय संरचनाबाट अनुमोदन गराउने व्यवस्था गर्ने ।

११. रिटायर्ड हुँदै जाने पार्टीका नेताहरूको एक ‘रिटायर्ड लिडर्स क्लब’ गठन गर्ने र उनीहरुको रेखदेख पार्टीले गर्ने । पार्टीले उनीहरुबाट आवश्यक सल्लाह–सुझाव लिने ।

(तामाङ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्)

    Comment Here!


सम्बन्धित समाचार