साहित्यकार प्रेमा शाहका नखुलेका तथ्य : आऊ मलाई सम्भोग गर !

2018-01-06 16:26

प्रेमा शाहले छद्म नाममा पनि उपन्यास लेखेकी छन् । लेखकको नाम ‘शारदा’ उल्लेख गरिएको एक धून बाँसुरीको (२०४२), त्रिकोण (२०४२), कृष्ण पुष्प तथा धूलोको फूल शीर्षक चारवटा उपन्यास रत्न पुस्तक भण्डारबाट प्रकाशित छन् । सुप्रसिद्ध कथाकार एवं उपन्यासकार प्रेमा शाहले शारदाको छद्म नामबाट ती उपन्यास लेखेको भन्ने जानकारी प्राप्त भएपछि यस लेखकले उनीसँग सम्पर्क गर्दा यसलाई अस्वीकार गर्दै ‘उपन्यासकार शारदा आफू स्वयं नभएर हाल दिल्लीमा बसोबास गरिरहेकी आफ्नी बहिनी हुन्’ भनेर प्रेमा शाहले बताएकी हुन्
लीला लुइटेल
२०७४ साल पुस ६ गते साहित्यकार प्रेमा शाहले यस भौतिक संसारलाई छोडेपछि उनलाई श्रद्धाञ्जलि व्यक्त गर्ने क्रममा उनीसम्बन्धी अनेक लेखहरू लेखिए । विद्युतीय सञ्चारमा आएका लेखहरूको आधिकारिकतामाथि कुनै विश्वास नहुने भएकाले त्यसलाई त्यति वास्ता गरिएको थिएन ।

यसै सन्दर्भमा आफूलाई जीवनी साहित्यको आधिकारिक व्यक्ति ठान्नेहरूका पुस्तकाकार कृतिमा समाविष्ट लेखमा पनि अनेक प्रकारका भ्रमहरू देखिए । नेपाली साहित्यमा सम्बन्धित कृति नै नहेरी नदेखी कपोलकल्पित ढङ्गले जे पायो त्यही लेखिदिने, तिनका कृतिका बारेमा हावादारी विश्लेषण गरिदिनेजस्ता रोगले आक्रान्त व्यक्तिहरूले प्रेमा शाहलाई पनि छोडेनन् । प्रिय कथाकार प्रेमा शाहका बारेमा लेखिएका अनेक भ्रमहरूको ओइरो लगाउन थालेपछि नेपाली साहित्यलाई अत्यन्त माया गर्ने पाठकहरूलाई सत्यतथ्यको जानकारी दिन यो लेख लेखिएको हो ।

भ्रम नं १
प्रेमा शाहसम्बन्धी लेखिएका अधिकांश लेखमा उनको पहिलो विवाह पाटनका जेपी शाहीसँग भएको कुरा उल्लेख गरिएको छ, तर उनका पति जेपी शाही पाटनका नभएर भारतको पटनाका जमिनदार हुन् । आफू दोस्री पत्नीको रूपमा भित्रिएको थाहा पाएपछि उनले पति शाहीलाई छोडेकी हुन् । ‘विवाह पहिले यो कुरा थाहा थिएन र रु’ भन्ने जिज्ञासामा “अभिभावकले तय गरिदिएको परम्परागत विवाह र विवाहको लगत्तै पतिले बनारसमा लगेर ‘बाटिक पेन्टिङ’ को अध्ययनको व्यवस्था गरिदिएका कारण उताका परिवारसँग सुरुमा त्यति सम्पर्क नभएको र विवाह भएको तीन वर्षपछि मात्र आफू दोस्री पत्नीका रूपमा भित्रिएको कुरा थाहा पाउनासाथ त्यो घर छोडेर हिँडेको” कुरा उनले भेटमा यस पङ्क्तिकारलाई बताएकी हुन् । यता परम्परागत विवाहलाई तोडेको हुनाले उनका आफन्तहरू निकै रुष्ट भएको अनुभव यस पङ्क्तिकारले पनि गरेको हो ।

भ्रम नं २
केही समययता लेखिएका सबै लेखमा नेपाली कथाका क्षेत्रमा प्रेमा शाहको प्रवेश २०१६ सालको ‘शारदा’ पत्रिकामा प्रकाशित ‘प्रतिक्रिया’ कथाबाट भएको उल्लेख गरिएको पाइन्छ । नेपाली कथामा प्रेमा शाहलाई प्रवेश गराउने ‘प्रतिक्रिया’ शीर्षक कथा २०१६ सालमा नभएर २०१८ ९प्रेमा शाह, ‘प्रतिक्रिया’, शारदा, २६र४, २०१८, पृ। ३२–३४० सालमा भएको हो ।

भ्रम नं ३
प्रेमा शाहको ‘विषयान्तर’ कथासङ्ग्रहलाई दोस्रो यौन कथासङ्ग्रह भनेर उल्लेख गरिएको पनि पाइयो । २०२८ मा प्रकाशित ‘विषयान्तर’ कथासङ्ग्रहमा १० वटा कथा समाविष्ट छन् । यिनको यस सङ्ग्रहमा अनिश्चितता, सन्त्रासदेखि पर, चट्टान वरपर, मार्तोल, विरोध, कुन रङ्ग, उदात्त रेखा, स्थितिबोध, कहीँदेखि कहीँसम्म, विषयान्तरजस्ता कथाहरू समेटिएका छन् । यी कथाहरूमा यौनजन्य विषयवस्तुको अभाव रहेको छ । वैचारिकता र बौद्धिकताको प्रधानता पाइने यस सङ्ग्रहका कथाहरूमा मानवीय अस्तित्वको खोजी गर्दै विभिन्न कोणबाट जीवनको परिभाषा गरिएको छ । हाम्रो जीवन अभावग्रस्त छ, मृत्यु अपरिहार्य छ तापनि निस्सारता तथा हीनताबोधलाई पन्छाएर अभाव र विसङ्गतिका बीच पनि हाँसेर बाँच्न सक्नुपर्छ भन्ने जीवनवादी दृष्टिकोण यिनका यी कथामा अभिव्यञ्जित छ । विसङ्गतिभित्र अस्तित्वको खोजी गरिएका यस सङ्ग्रहका अधिकांश कथाहरू कथानकहीन अर्थात् अकथाको परिपाटीमा संरचित छन् । अचेतन मनको विश्लेषण गर्ने ‘पहेँलो गुलाफ’ शीर्षक कथासङ्ग्रहमा देखिएका कथात्मक प्रवृत्तिलाई त्यागेर यस सङ्ग्रहका कथामा चेतन मस्तिष्कको चित्रण गरिएको छ । समग्रमा भन्दा यस सङ्ग्रहका कथामा पाइने मूलभूत प्रवृत्ति यौनको शून्यता, वैचारिकता र कथानकहीनता हो ।
यसरी कुनै लेखकलाई कसैले लगाइदिएको ट्यागको अन्धाधुन्ध अनुकरण गर्ने महामारीले पनि नेपाली समालोचना ग्रसित देखिन्छ ।

भ्रम नं ४
प्रेमा शाह संलग्न भएको ‘आकाश विभाजित छ’ शीर्षक संयुक्त उपन्यास अन्य चार जना स्रष्टाको सहभागितामा लेखिएको हो भनेर पुस्तकमै उल्लेख गरिएको पनि भेटियो । २०३२ सालमा रत्न पुस्तक भण्डारद्वारा प्रकाशित यो उपन्यास चार जनाको सहभागितामा नभएर दस जना स्रष्टाको सहभागितामा तयार पारिएको हो । ध्रुव सापकोटाको संयोजकत्व रहेको यस उपन्यासको लेखनमा परशु प्रधान, ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, शैलेन्द्र साकार, पुष्कर लोहनी, केदार अमात्य, शङ्कर कोइराला, दौतलविक्रम विष्ट, मञ्जु तिवारी तथा प्रेमा शाह गरी दस जना लेखक संलग्न रहेका छन् । यस उपन्यासको नवौं परिच्छेद मञ्जु तिवारी ९मञ्जु काँचुली० ले लेखेकी हुन् भने दसौं परिच्छेद प्रेमा शाहले लेखेको जानकारी पाइन्छ ।

नखुलेको पाटो
प्रेमा शाहले छद्म नाममा पनि उपन्यास लेखेकी छन् । लेखकको नाम ‘शारदा’ उल्लेख गरिएको एक धून बाँसुरीको (२०४२), त्रिकोण (२०४२), कृष्ण पुष्प तथा धूलोको फूल शीर्षक चारवटा उपन्यास रत्न पुस्तक भण्डारबाट प्रकाशित छन् । सुप्रसिद्ध कथाकार एवं उपन्यासकार प्रेमा शाहले शारदाको छद्म नामबाट ती उपन्यास लेखेको भन्ने जानकारी प्राप्त भएपछि यस लेखकले उनीसँग सम्पर्क गर्दा यसलाई अस्वीकार गर्दै ‘उपन्यासकार शारदा आफू स्वयं नभएर हाल दिल्लीमा बसोबास गरिरहेकी आफ्नी बहिनी हुन्’ भनेर प्रेमा शाहले बताएकी हुन् ।

यसै क्रममा उनले ‘तपाईंले चाहिँ कसरी थाहा पाउनुभयो नि रु’ भनेर मलाई प्रतिप्रश्न पनि गरेकी थिइन् । मैले ‘हजुरको माइजू एवं उपन्यासकार रोहिणी शाह तथा साहित्यकार पारिजातबाट जानकारी पाएको’ कुरा बताउँदै प्रकाशोन्मुख ‘नेपाली महिला उपन्यासकार’ शीर्षक कृतिमा यो तथ्य उल्लेख गर्न रहर लागेको कुरा बताएँ र पछि पुस्तक प्रकाशित भइसकेपछि यो कुरा उनलाई सुनाउँदा ‘तपाईंले लेखिसक्नुभएपछि भैगो नि’ भन्दै उनले अरू कुनै प्रतिक्रिया दिइनन् ।

प्रेमा शाहले कुराकानीका क्रममा यस पङ्क्तिकारसँग पहिले यसरी खण्डन गरे पनि २०४० सालतिर काठमाडौँमा बसेका बेला उनको अप्ठ्यारो परिस्थितिमा केही आर्थिक सहयोग मिलोस् भनी ती उपन्यास लेख्न लगाएर प्रकाशन गरेको कुरा रत्न पुस्तक भण्डारसँग सम्बद्ध व्यक्तिबाट जानकारी प्राप्त भएको हो । यसबाट प्रतिकूल परिस्थितिमा आर्थिक उपार्जनको अभीष्टले सस्ता खाले कृति लेख्न बाध्य भएको कुरा स्विकार्न एउटा स्तरीय साहित्यकारलाई अप्ठेरो लागेको अनुमान गर्न सकिन्छ ।

लघु र मध्यम संरचनामा आबद्ध यिनका यी उपन्यासमा प्रेम, दया, सहानुभूति, वात्सल्य, सद्भाव, रिस, डाहा, षड्यन्त्र, ईष्र्याजस्ता मानवीय प्रवृत्तिलाई विषयवस्तुको रूपमा समेटेर नाटकीय रूपमा प्रस्तुत गरिएको छ । तस्करी, देहव्यापार, धोका, षड्यन्त्र आदि आदिलाई समाजबाट हटाई स्वस्थ समाजको निर्माणको चाहना राखिएका यिनका उपन्यासमा रहस्यको पनि प्रस्तुति पाइन्छ । विधवाले पुनर्विवाह गर्न पाउने वातावरणको सिर्जना हुनुपर्ने भाव अभिव्यञ्जित यिनका उपन्यासमा सत् पक्षको विजय र असत् पक्षको पराजयलाई देखाउँदै स्वच्छ, पवित्र र हार्दिक प्रेमको स्वरूपलाई देखाइएको छ ।

शिक्षित, उदार, चेतनशील र स्वच्छन्दवादी देखिने यी उपन्यासका सहभागीहरू प्रायस् अनुकूल प्रवृत्तिका देखिन्छन् । यिनका उपन्यास सहरी क्षेत्रको उच्च र मध्यमवर्गीय पारिवारिक वृत्तमा घुमेका छन् र तिनैको खानपान, रहनसहन तथा जीवनशैलीलाई उपन्यासमा प्रस्तुत गरिएको छ । युवावर्गलाई समय कटाउने साधनको अभीष्टले लेखिएका यिनका उपन्यासको यी उद्देश्य हल्काफुल्का मनोरञ्जन प्रदान गर्नु रहेको देखिन्छ । यिनका उपन्यासमा प्रयुक्त भाषा सरल हुनुका साथै उपन्यासका शीर्षकहरू अभिधामूलक र सामञ्जस्यमूलक देखिन्छन् ।

अन्त्यमा
पुस्तकै नहेरी नदेखी कपोलकल्पित एवं हावादारी व्याख्या गर्ने प्रवृत्तिले नेपाली समालोचनाको इतिहास प्रदूषित भएको कुरा मैले धेरै अगिदेखि नै उठाउँदै आएकी छु । इतिहास लेखक सदैव सम्बद्ध विषयमा अद्यावधिक हुनुपर्छ, इतिहास लेखनमा तथ्यगत गल्ती कसैले पनि गर्नु हुँदैन । अझ स्थापित एवं वरिष्ठ भनिएका भनाइएका लेखकका कृतिलाई धेरैले आधिकारिक मानेर चर्चा र उद्धरणसमेत गर्ने हुँदा तिनमा त झनै गल्ती हुनु हुँदैन । कथंकदाचित गल्ती भइहाले यथार्थ जानकारी उपलब्ध हुनेबित्तिकै त्यसलाई हार्दिकतापूर्वक स्विकारेर सच्च्याउन पछि पर्नु हुँदैन । यसप्रकारका मनोमानीपूर्ण हावादारी उल्लेखले नेपाली साहित्यलाई पार्न सक्ने नकारात्मक असरप्रति गम्भीर हुनुलाई कसैले आफ्नो मानमर्दन भएको ठानी ‘प्रेस्टिज इस्यु’ बनाएर नसच्च्याउनु भनेको चाहिँ काँध थाप्नु त परै जाओस् रामराम पनि भन्न नसकिने स्थितिको सिर्जना हुनु हो ।

अर्को कुरा तथ्यगत गल्ती क्षम्य हुन सक्छ तर पुस्तकै नहेरी नदेखी हावादारी विश्लेषण गर्नु जघन्य अपराध भएकाले यो क्षम्य पनि हुन सक्दैन ।
कसैले त्रुटि देखाइदिँदा आवेशमा आएर व्यक्तिगत सन्दर्भका अनेक कुरा उठाएर गल्ती देखाइदिनेकै आलोचना गरिने प्रवृत्ति पनि नेपाली साहित्यमा यदाकदा देखिएकै हो । अझ अर्को आश्चर्यजनक सन्दर्भ यस प्रकारलाई गल्तीलाई देखाइदिँदा अनेक प्रकारका समूह सिर्जना गरी यथार्थ जानकारी गराइदिनेको प्रायोजित ढङ्गले विरोध गर्दा गराउँदा सम्बन्धित व्यक्तिलाई के तुष्टि मिल्छ, योचाहिँ मनोविज्ञानको अध्ययन हुन सक्छ । यस्ता हास्यास्पद एवं गलत क्रियाकलापका कारण भोलि आफ्नै सन्तानको शिर ननिहुरियोस् र आफ्नै सन्तानले आफूलाई नधिक्कारुन् भन्नेतर्फ पनि सम्बन्धित व्यक्तिले सोच्नुपर्ने हो कि ? तत्कालमा सजिलै उपलब्ध गर्न सकिने कृतिसमेत हेर्दै नहेरी अनुमानका भरमा कृतिको विश्लेषण गरेजस्तो गरी त्रुटि नै त्रुटिको चाङ लगाएर भविष्यका लागि हामी कस्तो सन्देश छोड्दै छौँ भन्ने कुरा बुझ्न विलम्ब भइसकेको छ । समग्रमा भन्दा नेपाली साहित्यको इतिहास लेखनमा देखिएका यसप्रकारका विडम्बनापूर्ण दुष्वृत्तिको अन्त्य अपरिहार्य भइसकेको यथार्थप्रति हाम्रो ध्यान जान ढिलाइसकेको छ । कोसेलीबाट

    Comment Here!


सम्बन्धित समाचार