इपिएलको फाईनल खेल आज उपाधिका लागि विराटनगर र भैरहवा भिड्दै

2017-12-30 10:01

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधिका लागि विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटरबीच आज प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुनेछ। दुई टिमबीच इपिएलमा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। समूह चरणमा अपराजित विराटनगरले भैरहवालाई ३५ रनले हराएको थियो। भैरहवाले समूह चरणमा विराटनगर बाहेकका खेलमा जित हात पारेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेको थियो। पहिलो क्वालिफायरमा फेरि विराटनगर भैरहवामाथि हाबी भयो। भैरहवालाई ८ विकेटले सजिलै हराएर विराटनगरले फाइनलमा स्थान पक्का गरेको हो।

विराटनगरका कप्तान पारस खड्काले जितका लागि खेल्ने बताएका छन्। फाइनलअघि भैरहवालाई २ पटक पराजित गरे पनि उसलाई कमजोर आँक्ने पक्षमा छैनन् पारस। टी–२० क्रिकेटमा एकै ओभरमा खेल बदलिन सक्छ। हामी आफ्नो नेचुरल खेल खेल्छौं। समूह चरणमा गरेको मिहिनेतको फल हामी फाइनल जितेर प्राप्त गर्न चाहन्छौुं, पारसले भने।

ब्याटिङमा राम्रो गरेकाले विराटनगर फाइनलमा पनि हङकङका दुई ब्याट्सम्यान अंशुमान राथ र बाबर हायतको भरमा छ। यस विषयमा पारसले भने, ुफाइनलसम्म पुग्नमा टिमका सबै खेलाडीको मिहिनेत छ। विशेषगरी अंशुमान र बाबरले आफ्नो जिम्मेवारी पूरा गरेका छन्। अंशुमान र बाबर इपिएलमा सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीको अग्रस्थानमा छन्। पहिलो स्थानमा रहेका बाबरले ६ खेलमा ३ सय २ रन प्रहार गरेका छन् भने दोस्रो स्थानमा रहेका अंशुमानले २ सय ३० रन बनाएका छन्। बाबरले प्रतियोगितामा ३ अर्धशतक प्रहार गरिसकेका छन्।

भैरहवाका कप्तान शरद भेषावकर पनि फाइनल जित्ने योजनामा छन्। उनले भने, ुहामी जितको योजना बनाएर आउछौं। जुन खेल फाइनलमा देख्न पाउनुहुनेछ। उनले भैरहवाले विस्तारै ब्याटिङमा लय पक्रेकाले जित निकाल्ने आधार प्रस्तुत गरे। पछिल्ला खेलमा भैरहवाको मध्यक्रमका ब्याट्सम्यानले राम्रो प्रदर्नशन गरिरहेका छन्। भैरहवाका आरिफ शेख बढी रन प्रहार गर्ने सूचीको छैटौं स्थानमा छन्। उनले ७ खेलमा १ सय ६० रन बनाएका छन्। ५३.३३ को औसतमा रन प्रहार गरेका आरिफको स्ट्राइक रेट १२०.३० छ। भैरहवालाई फाइनलमा पुर्‍याउन दोस्रो क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गरेका रोहितकुमार पौडेलमाथि पनि शरदको विश्वास छ। रोहितले ललितपुरलाई दोस्रो क्वालिफायरमा हराउने क्रममा अन्तिम ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए।

खेलपछि रोहितबारे शरद भन्छन्, ुउनले उत्कृष्ट फिनिसरको काम गरे। हामीले नेपालमा अब नयाँ फिनिसर पाएका छौं।ु

कप्तानको रुपमा पारस र शरदबीच ८ महिनाको बीचमा दोस्रो पटक उपाधि भिडन्त हुन लागेको हो। यसअघि गत बैशाखमा धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधि भिडन्तमा पनि पारस र शरदको टिमबीच प्रतिस्पर्धा भएको थियो। त्यतिबेला भने शरद विराटनगर किंग्सको कप्तान थिए। पारसले घरेलु टिम धनगढी टिम चौराहाको कप्तानी सम्हालेका थिए। उक्त फाइनल भिडन्तमा धनगढीले जित हात पारेको थियो। पहिले ब्याटिङ गरेको धनगढीले १ सय ६० रनको लक्ष्य दिएको थियो। तर, शरदको विराटनगर ब्याटिङमा फिक्का देखिँदा ९७ रनमा अलआउट भयो र पारसको धनगढीलाई ६२ रनले नतिजा सुम्पिएको थियो।

    Comment Here!


सम्बन्धित समाचार