सीपले खुल्यो लालबहादुरको भाग्य : विदेशको कमाईले ५० लाखको घर

2017-12-26 08:46

रामेछाप । ९ महिनासम्म पनि तलव नपाएपछि सँगै गएका दुई जना साथी नेपाल फर्किए । तर लालबहादुरले काम गरिरहनुभयो । अरु दुई महिना पनि उहाँले तलबबिना नै काम गर्नुभयो । चार महिना काम गर्दा पनि तलब नदिएपछि उहाँले श्रीमतीलाई फोन गर्नु भयो । अनि श्रीमती सविनाले एजेण्टलाई कम्पनीमा कुरा गर्न दवाव पनि दिनुभयो । त्यसपछि उहाँले तीन वटा भवनमा प्लम्बिङ र इलेक्ट्रिसियनको जिम्मेवारी पाउनुभयो । त्यसले लालबहादुरलाई तलव मात्रै दिलाएन भाग्य नै खुले जस्तै भयो ।

दिएको जिम्मेवारी पूरा गरेपछि उहाँले प्लम्बिङ र इलेक्ट्रिसियनको इजाजतपत्र पाउनुभयो । ‘मेरो काम देखेर खुसी भएपछि मालिकले काम गर्ने लाइसन्स दियो’ लालबहादुरले भन्नुभयो । ६ महिनासम्म तलब नपाएका लालबहादुरको महिनाको तलब तोकियो ७० हजार । सोचेको जत्तिकै तलब पाएपछि रामेछाप नगरपालिका–२ गोल्माटारका लालबहादुर थापामगर तीन वर्ष बसेर नेपाल फर्किनुभयो । अनि विदेशको कमाईले जिल्ला अस्पताल जाने बाटोमा घडेरी किनेर दुई तले घर बनाउनुभयो । अनि त्यही घरमा होटल सुरु गर्नुभएको छ । उहाँको प्रगतिमा श्रीमती सविनाको पनि उत्तिकै ठूलो साथ छ । श्रीमान विदेशमा हुँदा सविना होटल चलाउनुहुन्थ्यो । ‘उनले गरेको कमाईले घर खर्च चलेकाले मेरो कमाइ बचेको हो’ लालबहादुर भन्नुहुन्छ ।

केही गर्दा नभएपछि विदेश गएको थिएँ
लालबहादुरको सोच विदेश जाने थिएन । उहाँ गाउँ ठाउँमै धेरै कुरा गर्न सकिन्छ भन्ने सोच्नुहुन्थ्यो । उहाँले रामेछापको च्यास्कु बजारमा इलेक्ट्रोनिक्स पसल र होटल खोल्नुभयो । तर सोचे जस्तो भएन । सोचे जस्तो नभएपछि इलेक्ट्रोनिक्स पसल बन्द गरेर होटल मात्रै चलाउन थाल्नुभयो । तर त्यसले पनि पार लाएन । ‘त्यही भएर नै मैले विदेश जाने सोच बनाएँ’ लालबहादुरले सम्झिनुभयो । त्यति बेला उहाँसँग विदेश जाँदा लाग्ने खर्च थिएन । त्यसैले उहाँले डेढ लाख ऋण लिनुभयो । ऋण काढेर विदेश हिँड्दै गर्दा लालबहादुरसंग धेरै कमाउने सपना थियो । त्यो संगै उहाँसंग सपना पुरा गर्न इलेक्ट्रिसियन र पलम्बिङको सिप पनि थियो । भन्नुहुन्छ ‘त्यही भएर नै हो मैले ६ महिना दुःख पाएर पनि राम्रो कमाउन सकेको ।’

यहीँ पनि सम्भावना छ
विदेशमा कमाएको पैसाले लालबहादुरले घडेरी किनेर घर बनाउनुभयो अनि होटल पनि सुरु गर्नुभयो । तर आफ्नो पुरानो पेसा छोड्नुभएको छैन । उहाँ अहिले पनि इलेक्ट्रिसियन र प्लम्बिङको काम गरिरहनुभएको छ । ‘ठेक्का लिएर काम गर्दा सन्तुष्ट हुने गरि कमाइरहेको छु’ लालबहादुर भन्नुहुन्छ । पुरानै पेसामा विदेशमा काम गर्दाको अनुभव थपेर राम्रो कमाई गरिरहेका लालबहादुरले भुइँचालोपछि गाउँमै धेरै कामको संभावना देख्नुभएको छ । भुइँचालोपछि विभिन्न संघसंस्थाले मेसन, प्लम्विङ्ग, स्टिलफिक्चर्स सम्बन्धी तालिम निःशुल्क दिएको देखेपछि उहाँले यिनै काममा युवाको भविष्य देख्नुभएको हो । भन्नुहुन्छ ‘पेट पाल्नकै लागि भनेर हो हामी विदेशिने तर त्यहाँ गएर लेभरको काम गर्नुभन्दा नेपालमै यस्ता सीप सिकेर काम गर्ने हो भने विदेश जानै नपर्ने रहेछ ।’

    Comment Here!


सम्बन्धित समाचार