विराटनगर समूह विजेता बन्दै क्वालिफायरमा, काठमाडौं बाहिरियो

2017-12-25 15:46

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्स समूह विजेता बनेको छ। विराटनगरले सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ८ रनले पराजित गर्दै लगातार पाँच खेलमा जित निकाल्यो। जितसँगै विराटनगर समूह विजेता बन्दै क्वालिफायरमा पुगेको छ। क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ। पराजित भएमा पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। यता चार खेलमा पराजित भएको काठमाडौं भने बाहिरिएको छ। समूह चरणका सबै खेल सकिएपछि २ अंक जोडेर पाँचौ स्थानमै सिमित बनेपछि काठमाडौं बाहिरिएको हो। विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो।

अन्तिम ‍ओभरमा १७ रन चाहिएको काठमाडौंले पहिलो बलमै सागर कुमारलाई गुमाएको थियो। त्यसपछि सिद्धान्त लोहनीले छक्का प्रहार गरेर आसा जगाएपनि चौथो बलमा उनी आउट भएपछि काठमाडौंको आसा सकिएको थियो। त्यसअघि कप्तान फरविज माहारुफले सबैभन्दा बढी ४२ रनको योगदान गरे। उनले ३७ बलमा ४ चौका प्रहार गरे। नरेश बुढाऐरले ३० रन जोडे भने सागर पुन १३ रनमा आउट भए। सागरलाई विराटनगरका कप्तान पारसले आउट गर्दा नरेश र माहारुपलाई अंशुमान राथले सिकार बनाएका थिए। बलिङतर्फ विराटनगरका अंशुमान राथले ३ विकेट लिए। रामनरेश गिरी र बसन्त रेग्मीले २–२ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १ सय ४७ रन जोड्यो। विराटनगरका लागि बाबर हायतले सबैभन्दा बढी ६७ रनको योगदान गरे। उनले ५० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अंशुमान राथले ३२ रन बनाए। उनले २६ बलमा ४ चौका र १ छक्का हिर्काए। कप्तान पारस खड्काले सोमपाल कामीबाट बोल्ड हुनुअघि २६ रन बटुले। पारसले २५ बलमा २ छक्का हिर्काए। अन्य ब्याट्सम्यानदे दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङतर्फ काठमाडौंका सोमपाल कामी र अमरसिंह रोउटेलले समान २–२ विकेट लिए। कप्तान फरविज माहारुप र जितेन्द्र मुखियाले १–१ विकेट हात पारे। जितसँगै विराटनगरले ५ खेलबाट १० अंक जोड्यो। अपराजित विराटनगरले ५ खेलबाट २ अंक मात्र जोडेको छ।

    Comment Here!


सम्बन्धित समाचार