प्रवासमा जन्मेको ‘हामी नेपाली’

2017-12-23 10:51

– डा. रोड्रिक चाल्मर्स / नेपालभित्र देशलाई ‘गोर्खा राज्य’ र भाषालाई ‘गोर्खा’ नै भन्ने समयमा भारतमा ‘नेपाली’ शब्दले जाति र भाषाको प्रतिनिधित्व गर्न थालिसकेको थियो । प्रवासमा जन्मिएको त्यही जातीय भावना नै नेपालभित्रको राष्ट्रिय भावनाको आधारभूमि बन्यो । सय वर्षअगाडि ‘नेपाली’ शब्दको प्रयोग कमै मात्रामा हुन्थ्यो, र, “हामी नेपाली हौँ” भन्ने सामूहिक भावना त देशव्यापी भएकै थिएन । नेपालको भौगोलिक र राजनीतिक एकीकरण भएको एक शताब्दीभन्दा बढी नै भए पनि गोर्खा राज्यभित्र बस्ने विभिन्न जनसमूहहरूमा त्यतिखेर कुनै सर्वमान्य एकीकृत पहिचान निर्माण भइसकेको थिएन । पहाडका जातिहरूले तराईबासी र भारतीयहरूसँग एउटा स्वाभाविक भिन्नता अनुभव गर्थे । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बनारस जाँदा ‘मुग्लानमा हामी पहाडेहरू एकै हौँ’ भन्ने टिप्पणी स्वीकार्नु परेको थियो । त्यसो त, अहिलेका कतिपय इतिहासकारहरूले पनि नेपालको सामाजिक एकीकरण राजनीतिक एकीकरणपछि मात्र भएको दाबी गरेको पाइन्छ ।

यदि त्यसै हो भने त्यो सामाजिक एकीकरण कहिले र कसरी भयो होला ? ब्रिटिशसँगको लडाइँ र सुगौली सन्धिको पीडा व्यहोर्नुपर्दा नेपाली जनताबीच एकताको भाव बढ्न थाल्यो कि ? अथवा भानुभक्तको रामायण पहाडका घरघरमा पस्न थालेपछि मात्र गाउँगाउँका आम मान्छेहरू नेपालीपनको समान भावमा गाँसिन पुगे कि ? केहीले पञ्चायतकालमा आधुनिक शैक्षिक प्रणालीको विस्तारपछि मात्रै एउटा विकसित राष्ट्रिय अस्तित्व नेपालका कुनाकाप्चासम्म फैलिएको दाबी गरेका छन् । अहिलेसम्म पनि सबैको मनमा स्वतःस्फूर्त “नेपाली हुँ” भन्ने भावनाले घर बसाइसकेको छैन भन्ने धारणा राख्नेहरू पनि छन् ।

यसरी नेपालको सामाजिक एकीकरणको सबालमा मानिसहरूबीच मतान्तर रहेको पाइए तापनि अहिले “हामी नेपाली” भन्ने भावनाले नेपाली समाजमा केही न केही मात्रामा भए पनि जरो गाडिसकेको कुरामा विवाद नहोला । तर, त्यसको बीउ भने संभवतः नेपालमा नभई भारतमा रोपिन पुगेको थियो । र, नेपाली राष्ट्रियताको सामूहिक भावना जन्मनुभन्दा अगाडि नेपाली जातीयताको आविर्भाव भएको देखिन्छ । १९ औँ शताब्दीको उत्तराद्र्धदेखि मुग्लान पस्ने नेपालीहरूको सङ्ख्या वर्षैपिच्छे बढेको पाइन्छ । धार्मिक र शैक्षिक तीर्थस्थलका रूपमा चिनिने बनारस (काशी), त्यसबखतका नेपाली युवाहरूका लागि ठूलो महŒवको थलो बन्नपुग्यो, नेपाली पुस्तक प्रकाशन केन्द्रका रूपमा । हिन्दुस्तानी लेखक हरिश्चन्द्रको प्रभावमा परेका मोतीराम भट्टले काशीलाई नै आफ्नो मुख्य कर्मथलो बनाए भन्ने तथ्य नेपाली विद्यार्थीको सामान्य ज्ञानमा पसिसकेको छ । तर, मोतीरामको बनारस प्रवेशभन्दा पहिले पनि कर्मठ र सिर्जनशील नेपालीहरू आधुनिक प्रकाशन प्रणालीको पूर्वाधार बनाउने प्रयासमा लागिसकेका थिए । ठोस प्रमाणहरू थोरै भए पनि बीसौँ शताब्दी शुरु नहुँदै नेपाली पुस्तकहरू त्यहाँबाट लाखाँै सङ्ख्यामा छापिएको अड्कल गर्न सकिन्छ । यस्ता किताबहरूमा परिवर्तनशील र विकासोन्मुख नेपाली संस्कृतिको झ्लक स्पष्ट देख्न सकिन्छ । नेपाली इतिहासलेखनमा रहेका कमजोरीहरूका कारण आधुनिक नेपालीपनको विश्लेषणका कतिपय कारकहरू लोप भएका हुनसक्छन् । पुराना वंशावली र अभिलेखहरूको आ–आफ्नो महŒव रहे तापनि नेपालमा इतिहासको बौद्धिक एवं प्रणालीगत ऐतिहासिक अनुसन्धान र प्रकाशन सूर्यविक्रम ज्ञवाली तथा बाबुराम आचार्यका प्रयासहरूदेखि मात्र प्रारम्भ भएको थियो । र, तिनका प्रारम्भिक रचनाहरूदेखि आजसम्म लेखिएका अधिकांश सामग्रीहरू मूलतः राजनीति र केही मात्रामा आर्थिक इतिहासमा केन्द्रित पाइन्छन् । उदाहरणका लागि, सूर्यविक्रमको ऐतिहासिक शोध शाहवंशीय राजाहरूका जीवनीमा आधारित थियो । तर, ‘नेपालीपन’को उत्पत्तिलाई केवल राजनीतिक घटनाको रूपमा वर्णन गर्न सकिँदैन । सामाजिक चेतनाको विश्लेषण गर्दै सामाजिक र सांस्कृतिक पक्षबाट नै यसलाई नियाल्नुपर्छ ।

नेपालको सामाजिक तथा सांस्कृतिक विकासक्रममाथि प्रकाश पार्ने सामग्रीहरूको अभाव छैन, तर यिनीहरूलाई कुन दृष्टिकोणबाट हेर्ने ? पुराना नेपाली पत्रिकाहरू प्रायः साहित्यिक इतिहासकारहरूका लागि मात्र सूत्र बन्न पुगेका छन् । कविता, उपन्यास जस्ता सिर्जनशील रचनाहरूको विश्लेषण त झ्न् सीमित भएको देखिन्छ । तर यस्ता सामग्रीबाट नेपालको सामाजिक विकाससम्बन्धी अमूल्य तथ्यहरू खुट्याउन सकिन्छ । विस्तृत र विकसित नेपाली सामाजिक चेतनाको निर्माण प्रक्रियाका लागि अनुकूल वातावरण बनाउनमा तिनताकका पत्रिकाहरूले कस्तो योगदान गरे त ? बनारसबाट निक्लेका “सुन्दरी” र “माधवी” जस्ता पत्रिकाहरू प्रायः ‘साहित्यिक’ कहलाइन्छन् र यिनमा छापिएका ललितसाहित्यका केही नमूनाहरू मात्र प्रकाशमा ल्याइएका छन् । तर त्यस्ता पत्रिकाहरूले साहित्यिक सामग्री मात्र नभई आफ्नो समयावधिका जिउँदा अनुभवहरूको प्रतिबिम्ब समेत प्रस्तुत गर्छन् । त्यसबखतका पत्रिकाहरू अध्ययन गर्ने हो भने तिनमा बदलिँदो नेपाली समाजको छायाँ स्पष्ट देख्न सकिन्छ । आफूलाई अराजनीतिक दाबी गरेतापनि तत्कालीन पत्रिकाहरूले सामूहिक नेपाली राजनीतिक चेतना जगाउनमा महŒवपूर्ण भूमिका निर्वाह गरे । “सुन्दरी” का समस्यापूर्ति कविताका बीचमा समाचारस्तम्भ अन्तर्गत भारतमा फैलिँदै गएको स्वदेशी आन्दोलनका खबरहरू समेटेर सम्पादकमण्डलले त्यसप्रति सहानुभूति मात्र दर्शाएन, आन्दोलनलाई ठोस समर्थन पनि पु¥यायो । सन् १९०६–१९०८ मा प्रकाशित यो पत्रिका नेपालका विभिन्न ठाउँमा पुगेको प्रमाण भेटिन्छ । कविता पठाउनेहरू प्रायः नेपालबाट बनारस गएका नेपालीहरू नै थिए भने तराईका विभिन्न स्थान एवं गोर्खा, पोखरा र काठमाडौँका बासिन्दाहरूले समेत यस पत्रिकाका छरिएका पाठक र लेखकवर्गको प्रतिनिधित्व गरेका थिए । नेपाली स्रष्टाहरूमा योगबीर सिंह कंसाकार तथा गौरीदास जस्ता नेपालभाषाका कविहरू पनि गनिन्थे । त्यतिखेरदेखि नै नेपाली पत्रिकाहरूले सामाजिक जागरणको अभियन्ताका रूपमा आफूलाई प्रस्तुत गरेको पाइन्छ । पत्रिका र पुस्तक प्रकाशकहरूले नेपाली समाजभित्र नौलो उपभोक्तावादलाई आकार तथा गति दिने र त्यसबाट लाभ उठाउने काम गरे । प्रकाशकहरूमध्ये केही साहित्यानुरागी पनि थिए, अनि कलात्मक सिर्जनालाई व्यवसायको वस्तु बनाउनुपर्छ भनेर उनीहरूले बुझ्े । मुद्रणदेखि वितरण र बिक्रीसम्मका माग–आपूर्तिका नियमलाई उनीहरूले अनुशरण गरे । पाठक बढे भने अन्य उपभोग्य सामानका ग्राहक पनि बढ्छन् भन्ने आश राखेर प्रकाशन संस्थाका मालिकहरू औषधि, भाँडाकुँडा, तस्बिर, बाजा, ग्रामोफोन र घडी जस्ता कारखाना–उत्पादित सामानका व्यापारी पनि बने । र, कर्मकाण्डका पुस्तकहरू सँगसँगै तत्कालीन बजारमा लोकप्रिय बन्दै गएका लोककथा, श्रृङ्गार रसले भरिएका कविता, गजल र झयाउरे गीतका सङ्कलनहरू समेत हजारौँ प्रति छापिन थाले । आधुनिक नेपालीपनको प्रथम बीज यसरी पुस्तक प्रकाशकहरूको नाफाघाटाको हिसाब–किताबसँग गाँसिएको थियो ।

संस्कृति भनेको प्राचीन, हिमालजस्तो अटल र नित्य हुन्छ भन्ने सोचाइ कतिपय मानिसहरुमा भेटिन्छ । तर नेपाली संस्कृतिको नौलोपन, त्यसको परिवर्तनशील स्वभाव त्यस समयावधिका गतिविधिहरूमा स्पष्ट देखिन्छ । नयाँ प्रविधि, नयाँ शैक्षिक अवसर, नयाँ आर्थिक वातावरण, नयाँ क्षेत्रमा बसोबास– यी सब तŒवले नयाँ नेपाली समाजको निर्माण प्रक्रियामा प्रभाव पारेका थिए । तर बनारसको नेपाली समाजले नेपालको जनसङ्ख्याको उचित प्रतिनिधित्व भने गर्न सकेको थिएन । त्यहाँ उब्जेको सामूहिक भाव सानो समुदायमा मात्र सीमित रहेको थियो । वीर शमशेर सत्तामा आएपछि ब्रिटिश इण्डियन आर्मीमा गोर्खालीहरूको भर्ती बढ्न थाल्यो । त्यसै समयमा पूर्वतिर दार्जीलिङमा चियाखेतीको भव्य विकास भएपछि लाखौँ गोर्खालीहरू त्यता पनि लागे । त्योभन्दा अझ्ै पूर्व ब्रह्मपुत्रका छेउछाउमा पुगेका नेपालीहरूले दूधको व्यापार गर्न थाले भने शिलङ, नागाल्याण्ड र मणिपुरजस्ता भारतका सुदूर सिमानाका क्षेत्रमा अवकाशप्राप्त गोर्खा सैनिकहरूले बसोबास गर्न थालेर त्यहाँ स्थायी नेपाली समाजको जरो गाडे । यसरी विभिन्न जात र विभिन्न मूलका लाखौँ नेपालीहरूले मुग्लानमा जिन्दगीका नयाँ–नयाँ अनुभव गर्न थाले । चुनौती सामना गर्नुपरे पनि सबैले नयाँ अवसर र संभावना देखेर नै जन्मभूमि नेपाललाई त्यागेका थिए । तर, त्यहाँ पुगेपछि अरू जातिका तुलनामा आफूहरू धेरै पछाडि रहेको चेतना सचेत नेपालीहरूमा तीव्र रूपमा जाग्यो । लगभग साझ समस्याहरू सामना गर्दागर्दै एउटा समान अस्तित्वले विस्तारै स्पष्ट रुप लिन थाल्यो । नेपालभित्र विभिन्न वर्ग र जातिमा विभाजित समाजमा शायद पश्चिमको लाहुरे, काठमाडौँको पुरोहित र पूर्वको किसानमा त्यतिखेर “हामी एक हौँ” भन्ने सामूहिक भाव पलाउनु कल्पना बाहिरको कुरा थियो । सोचे पनि मनको कुरा एकअर्कालाई व्यक्त गर्न भाषा नै समस्या हुन्थ्यो । “गोर्खा भाषा” देशमा केही मात्रामा फैलिए तापनि आम जनताका लागि त्यो सरल सञ्चारको माध्यम बन्नसकेको थिएन । थरिथरिका भाषा बोल्ने लाहुरे, रिकुटेहरू त्यहाँको सेनामा भर्ती भएपछि नेपाली सिक्न र बोल्न बाध्य बने । दार्जीलिङतिर जमेको मिश्रित गोर्खाली समाज (जसमा राई, लिम्बू, तामाङ, गुरुङ, मगर, शेर्पा र थामी जस्ता अनेपालीभाषीको बाहुल्य थियो) ले छिटै नै ‘लिन्ग्वा फ्रान्का’ (साझ बोली) का रूपमा नेपाली भाषालाई अँगाल्यो । बनारसका संस्कृतप्रेमी बाहुनहरूले पनि प्रकाशन, शिक्षा जस्ता क्षेत्रमा नेपाली भाषाको बढ्दो महŒव बुझ्ेर त्यसप्रति विशेष ममता देखाउन थाले । यसरी विभिन्न सकारात्मक कारणले गर्दा नेपालबाहिर नेपाली भाषा पूरै समाजको उत्थान र उन्नतिको आशा बोक्ने साझ बाहक बन्न पुग्यो ।

यसरी भाषाको विस्तारसँगै सामाजिक एकताको पनि विकास हुनथालेको देखिन्छ । दार्जीलिङको इतिहास नियाल्दै कुमार प्रधानले लेखेका छन्, “पूरै ब्राह्म धर्ममा हुर्केको र खस कुरा बोल्ने वर्णाश्रमको आदर्शमा जात बाँडिएको समूहमा ‘हामी’ भन्ने भावना थियो । हो, मङ्गोलीय मूलका, शामानी धर्म मानिआएका र विभिन्न परिमाणका हिन्दू धर्मको प्रभावमा परेका भोट–बर्मेली भाषा र विभाषाहरू बोल्ने समूहमा त्यो भावनाको प्रबलता किट्न अप्ठ्यारो पर्छ …यस्ता जातिहरूमा यस्तो भावना आफ्नो समूहभित्र मात्र सीमित हुनसक्थ्यो ।” सन् १९१५ मा बनारसमा खोलिएको “नेपाली लाइब्रेरी” का संस्थापकहरूको “हामी” त्यति विस्तृत थिएन होला । उता बनारसका नेपाली संस्थाका दस्तावेजहरूले त्यतिञ्जेलसम्म केवल एउटा साँघुरो नेपालीपन मात्र उत्पन्न भएको सावित गर्छन् । तर यो नयाँ “हामी” को सिमाना निर्धारित थिएन, त्यो बढ्दै थियो । साहित्यिक इतिहासहरूमा तिनका नाम नभेटिएलान्, तर उन्नाइसौँ शताब्दीदेखि नै जनजाति लेखकहरूले लेखेका नेपाली रचना बनारसमा, पुस्तकको रूपमा प्रकाशित भई बिक्री हुन्थे । मणिपुरका लाहुरे तुलाचन आलेले लेखेको ‘लडाइँका सवाई’ ठूलो सङ्ख्यामा छापिएको भेटिन्छ । डाकमान थुलुङ राईले दार्जीलिङमा गएको पहिरोको सवाई सन् १८९९ मा लेखेका थिए । यस्ता पुस्तकले अरुतिर बस्ने नेपालीभाषीलाई दैवी प्रकोपका वर्णन या स्थानीय इतिहास पढ्ने÷बाँड्ने र आफूले पनि लेख्ने हौसला दिलाए । त्यति मात्र नभई व्यावसायिक प्रकाशन बजारमा उत्रेका अनेपालीभाषी लेखकहरूले नेपालीलाई नै आफ्नो अभिव्यक्तिको माध्यम बनाए र ख्याति कमाए । यसलाई प्रथम विश्वयुद्धको बेलामा विकसित र लोकप्रिय, श्रृङ्गार रसले भरिएको लहरी साहित्य रचनाहरूमध्ये प्रसादसिंह राईको “प्रीति लहरी” र रतननारायण प्रधानको अति सफल “प्रेमलहरी” ले प्रमाणित गर्छन् । धरणीधर कोइरालाको चर्चित कवितासङ्ग्रह “नैवेद्य”, अरूले नभई; आसाममा बसोवास गर्ने नेपालीहरूमध्ये सर्वप्रथम बीए पास गर्ने मणिसिंह गुरुङले प्रकाशित गरेका थिए । नेपाली भाषाको बढ्दो प्रभाव र महŒव त्यतिखेर पाठ्यपुस्तकहरूको उत्पादन तथा विभिन्न जातका मानिसले नेपालीमा लेख्न देखाएको रुचिबाट स्पष्ट हुन्छ । सन् १९०८ मा बलुचिस्तानको क्वेटामा सेवारत सैनिक कुलबहादुर गुरुङले “नेपाली पहिला पुस्तक” लेखेर बनारसमा १००० प्रति छाप्न दिएका थिए । त्यसको केही महिनाभित्रै प्रतिष्ठित बनारसी प्रकाशक पद्मप्रसाद उपाध्यायको “गोर्खा भाषा वर्णमाला” को २००० प्रति बजारमा पुग्यो । व्यावसायिक प्रतिस्पर्धामा कहिल्यै पछि नपर्ने प्रकाशकद्वय विश्वराज तथा हरिहर शर्माले सम्भवतः यिनै किताबहरूको बिक्रीबाट उत्साहित भएर एक वर्षपछि ५००० प्रति “नेपाली पहिली पुस्तक” निकाले । दुई वर्षभित्र यसैको परिवद्र्धित द्वितीय संस्करण १०,००० प्रति एकैचोटि छापिएको तत्कालीन सरकारी तथ्याङ्कले प्रमाणित गर्छ । नेपाली पुस्तक प्रकाशनमा एउटा आश्चर्यजनक नयाँ कीर्तिमान थियो त्यो ।

विभिन्न लेखक र प्रकाशकहरू फाइदाको अवसर देखेर नेपाली भाषाको यो नयाँ बजारमा पसे । प्रथम विश्वयुद्धभन्दा अगावै गैर नेपाली मूलका व्यक्ति समेत नेपालीमा शैक्षिक सामग्री लेख्न क्रियाशील भएको पाइन्छ । दक्षिण भारतका गंगाधर शास्त्री द्राविडले नेपाली विद्यार्थीहरूका लागि लेखेका थुप्रै किताबहरुमध्ये एउटा “गणित चन्द्रिका” को तस्रो संस्करण सन् १९०२ मा निक्लेको थियो । सन् १९१० मा विश्वराज हरिहरले प्रकाशन गरेको त्यसैको नयाँ संस्करण २००० प्रति छापिएको थियो । दुर्भाग्यवश, द्राविडका बारे अरू कुनै व्यक्तिगत जानकारी अहिले उपलब्ध छैन । आफ्नो अति सफल पुस्तक “प्रेमलहरी” बाट नाम कमाएका रतननारायण प्रधान नैतिक र शैक्षिक किताबका पनि लेखक थिए । गढवालबाट स्वप्रकाशित उनको “प्रधान सुन्दरी शिक्षा” संभवतः नेपाली भाषाको पहिलो बालिका–शिक्षाकेन्द्रित पाठ्यपुस्तक थियो ।

यसरी विभिन्न लेखक–प्रकाशकका प्रयत्नद्वारा नेपाली भाषाले उपलब्ध गराएको यो सार्वजनिक मञ्चमा भारत र नेपालमा छरिएका विविध मूलका गोर्खालीहरूले सक्रिय भूमिका खेल्न थाले । नेपाली भाषीहरूको “हामी” बढ्दै गयो । र, “नेपाली” भन्ने नाम पनि आधुनिक अर्थमा प्रयोग हुन थाल्यो । नेपालभित्र देशलाई गोर्खाराज र भाषालाई गोर्खा नै भन्ने गरिएको बेला भारतमा “नेपाली” भन्ने शब्द जाति र भाषा दुवैका लागि प्रयोग हुन थालिसकेको थियो । जातीय चेतना यसैबीच उत्पत्ति भएको देखिन्छ । कुमार प्रधानको विश्लेषण अनुसार त्यतिखेर नेपाली जातिको “पहिलो पहर” शुरु भएको थियो भने बनारसको शिक्षित समाजले पनि सबै वर्ग र जातका नेपालीलाई समेटेर “हामी नेपाली” भन्ने भावना महसूस गर्न थाल्यो ।

नयाँ पुस्ताका भाषाप्रेमी र सामाजिक सुधारवादीहरू त्यस उप्रान्त पूरै नेपाली जातिको उन्नतिका लागि काम गर्नथालेको देखिन्छ । सन् १९१८ मा खरसाङबाट पारसमणि प्रधानको सम्पादनमा निस्कने “चन्द्रिका” पत्रिकामा लेख्दै बनारस निवासी सूर्यविक्रम ज्ञवालीले जातिको पुकार उठाएका थिएः “हामीले पहिले आफ्नो घर, वहाँ पछि टोल, वहाँ पछि गाउँ, वहाँ पछि प्रान्त, वहाँ पछि आफ्नो देश र जातिकै दुःख निवारणतर्फ ध्यान दिनु उचित छ । जुन देशको हावापानीले तपाईंको शरीर बनेको छ, जुन देशको मट्टीमा तपाञीको मट्टी मिल्छ, त्यस देशसँग अवश्य तपाञीको केही घनिष्ट सम्बन्ध छ । जुन रगत तपाञीमा बगिरहेछ उही रगत अझ् तपाञीका स्वजातीयहरूमा पनि छ, जुन भाषा बोल्नुहुन्छ उही उनीहरू पनि बोल्छन् । जो तपाञीको सुख, दुःख छ उही उनीहरूको छ ।” अन्य जातिसरह उन्नति गर्न सक्यो भने “हामी नेपाली हौँ” भन्नुमा गौरव हुन्छ भन्ने आदर्शले धेरै जनालाई प्रेरणा दियो । भाषाको प्रचारसँगै शिक्षाको विकास, सामाजिक सुधार, नवजात राजनीतिक चेतना र फैलिँदै गरेको जातीय भावना गाँसिन पुगे । तर यो नयाँ नेपालीपनमा अझ्ै सबैको संलग्नता हुन सकेन । निर्माण हुँदै गएको “हामी” को भावना पहिलेभन्दा निक्कै विस्तृत भए तापनि यसको सच्चा भावनालाई कतिपयले अँगाल्न सकेनन् । नेपाल र भारतका ठाउँ ठाउँमा पुग्ने नेपाली पत्रिकाहरू सार्वजनिक बहसका माध्यम बने र विभिन्न संघसंस्थाहरूमा जातीय उन्नतिको विषयमा लगातार छलफल हुन थाल्यो । तर, सहभागी हुन नपाउने थुप्रै थिए । शैक्षिक योग्यता र आर्थिक क्षमताका कारण भारतको नेपाली समाजमा नयाँ वर्ग विभाजनहरू थपिए । पहाडका जातिहरूले “नेपाली” छातामुनि ओत लागे पनि तराईबासीहरूको लागि त्यहाँ ठाउँ थिएन र दलितप्रतिको भेदभाव यथावत् नै थियो । घरबाहिर नागरिक जीवनमा सक्रिय हुन महिलाहरूका लागि प्रायः असम्भव थियो ।

आजको नेपालमा एक सय वर्ष अगाडि बनेको नेपालीपन (अथवा “हामीपन”) को प्रासङ्गिकता के होला ? ऐतिहासिक अनुभव मात्र नभई यसबाट केही न केही पाठ पनि सिक्न सकिन्छ कि ? त्यतिबेलाको नेपालबाहिर जन्मेको सम्मिश्रित नेपाली जातीय भावना पछि नेपालभित्रको राष्ट्रिय भावनामा परिणत भयो र यो राष्ट्रिय भावना सरकारी नीतिको मूलप्रवाहमा आयो । तर पहिलेको नेपाली भाषाले उब्जाएको नेपालीपनको विकास आम नेपालीहरूका लागि स्वाभाविक र स्वेच्छिक देखिन्छ, जसले समान चुनौती सामना गरिरहेका विभिन्न जातजातिहरू मिलेर आफ्नो समाजभित्रै र अन्य समुदायका आँखाहरूमा बल, सुरक्षा र पहिचानको गौरव निर्माण गर्ने उपाय बनायो । तुलनात्मक रूपमा सानो नेपाली समाज नयाँ जमानामा पनि आफ्नो अस्तित्व कायम राख्न सफल भयो । र, जहाँबाट जसरी शुरु भए पनि, जहाँ रोपिए पनि “हामी नेपाली” भन्ने भावना नेपाली भाषीहरूबीच झयाङ्गिसकेको छ । यो भावनालाई अझ् विस्तृत रूपमा वर्ग, जाति र लिङ्गमा भेदभावरहित तरिकाले जरा पसाउने काम चाहिँ इतिहासबाट पाठ सिक्दै नयाँ पुस्ताले गर्नुपर्ने हो कि ? (दक्षिण एशियाका भाषा र संस्कृतिमा विद्यावारिधि गरेका डा. चाल्मर्स हाल त्रिवि ‘सिनास’ का ‘भिजिटिङ फेलो’ हुन्)

    Comment Here!


सम्बन्धित समाचार