‘झापाले लोकतान्त्रिक छवि बनाएको छ म जित्छु’ – देउमान थेवे (देउकुमार)

2017-11-30 20:10

आम्बेगुदिन ताप्लेजुङ जन्मनु भएका देउमान थेवे २०३९ सालदेखि कुमरखोद झापालाई कर्मथलो बनाएर राजनीतिलाई निरन्तरता दिंदै आउनुभएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ४मा नेपाली कांग्रेसको उम्मेदवार रहनुभएका थेवे अहिले मतदातालाई घरघरमा पुगेर भेटिरहनुभएको छ । आदिबासी जनजाती समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा उहाँले आफ्नो उम्मेदवारीको औचित्य, लक्ष्य र चुनावी एजेन्डाको बारेमा धेरै मतदातालाई बुझाई सक्नुभएको छ । सिनाम माविबाट २०३६ सालमा एसएलसी दिनुभएका थेबे सोही सालमा भएको विद्यार्थी आन्दोलनका क्रममा पक्राउ पर्नुभएको थियो । २०४१ सालदेखि राजनीति सुरु गर्नुभएका थेवे ०४३ सालमा कुमरखोदमा इतर पक्षबाट प्रधानपञ्चमा उठ्नुभएको थियो । त्यसबेला ४३ मतले पराजित हुनुभएका उहाँ नेपाली कांग्रेस कुमरखोदको गाउँ उपसभापति बन्नुभयो ।

आठौँ महाधिवेशनमा क्षेत्रीय सदस्य निर्वाचित हुनुभएका उहाँ २०४९ सालमा कुमरखोद गाविसको अध्यक्षमा निर्वाचित हुनुभयो । २०५४ सालमा दोस्रोपटक कुमरखोद गाविस अध्यक्ष बन्नुभएका थेवे नवौँ महाधिवेशनबाट क्षेत्रीय सभापति र पार्टीको जिल्ला सदस्य बन्नुभयो । थेवेले १२औँ महाधिवेशनपछि झापा कांग्रेसको उपसभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएको थियो । १३औँ महाधिवेशनमा उहाँ महासमिति सदस्य निर्वाचित हुनुभएको थियो । पार्टीभित्र विकासप्रेमी, निडर र स्पष्ट वक्ताको छवि बनाउनुभएका थेवे पार्टीको साह्रोगाह्रो पन्छाउने नेताका रुपमा परिचित हुनुहुन्छ । आदिबासी जनजाति महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका थेवे ‘रिक्स’ लिएर काम गर्ने नेताका रुपमा स्थापित हुनुहुन्छ । जिल्लामा देखापर्ने विभिन्न खाले समस्यामा जुधेर काम गर्ने स्वभावले थेवेलाई कुशल वार्ताकारका रुपमा चिनाएको छ । जनताका एजेन्डामा सफलता हात पार्ने कौशल भएका थेवेको चुनावी रणनीति र योजनाका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

राजनीतिमा तपाईं कसरी प्रवेश गर्नुभयो ?
– म राजनीतिक परिवारकै सदस्य हुँ । मेरा पिता पनि राजनीति नै गर्नहुन्थ्यो । बुवाले २०१२÷१३ सालदेखि कांग्रेसको राजनीति गर्दै आएको थाहा पाएँ । १७ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको आएपछि २१ सालदेखि जनपक्षीय प्रधानपञ्च, जिल्ला विकास समितिको सदस्य हुँदै बुवाले ताप्लेजुङमा राजनीतिक भूमिका निर्वाह गर्नुभयो । म त्यही परिवारमा हुर्किएँ । मुलुक बदल्न राजनीति गर्नु पर्दोरहेछ भन्ने कुरा मैले त्यतिबेलै बुझेँ । मैले २०३५÷३६ सालमा विद्यार्थी राजनीति सुरु गरेँ, ताप्लेजुङको सिनाम माविबाट । त्यहाँबाट उत्पादन भएका धेरै विद्यार्थी अहिले राष्ट्रको उपल्लो तहमा पुगेका छन् । मैले पनि त्यही विद्यालयबाट शिक्षा लिएको हुँ । म सानै उमेरदेखि नेविसंघको राजीनितमा सहभागी थिएँ । झापा झरेपछि कुमरखोदबाट राजनीति सुरु गर्नुभएको तपाईंले अहिले झापा–४ बाट टिकट पाउनुभएको छ । कस्तो छ चुनावी माहोल ?

झापामा म जुन ठाउँमा बसेँ, यो ठाउँ (कुमरखोद) कुनै समय जिल्लाको सदरमुकामसमेत थियो । यहाँ तराई मुलका बासिन्दाको बसोबास बढी छ । यहाँ विभिन्न जातजाति छन् । यहाँ बस्दा मैले सबै जाति, वर्गको भरपूर सहयोग पाएँ । यहाँ बस्ने मात्र होइन, अरुको खुशीमा रमाउने, आपतमा सघाउने पनि गरेँ । मैले पार्टीको जिम्मेवारी पनि तल्लो तहबाटै निर्वाह गरेको हुँ । एकैपटक माथि आएको होइन म । शून्यबाटै राजनीति सुरु गरेको हुँ । २०४९ सालमा मलाई जनताले विश्वास गरेर गाविस अध्यक्ष बनाए । २०५४ मा फेरि दोस्रो पटक गाविस अध्यक्ष भएँ । साह्रै माया र प्रेरणा पाएँ मैले आदिबासी समुदायबाट पनि । मैले झापाको दक्षिणी क्षेत्रका बासिन्दाको औधि माया र प्रेरणा पाएको छु । म निरन्तर उहाँहरुका लागि काम गरिरहेको छु । मेरो निर्वाचन क्षेत्रभरका सबै जातजाति, वर्गबाट धेरै माया र स्नेह पाएको छु । लोकतन्त्रलाई विश्वास गर्ने मतदाता धेरै हुनुहुन्छ । नेपाली कांग्रेस पुरानो पार्टी हो । कांग्रेसको संघर्ष उहाँहरुले राम्ररी बुझ्नुभएको छ । चुनावी माहोल एकदमै राम्रो छ । मलाई भोट दिएर मतदाताले जिताउनेमा म पूर्ण विश्वस्त छु ।

तपाईंका प्रतिष्पर्धी १६ हजारभन्दा बढी मतले जित्ने कुरा गर्दै हुनुहुन्छ नि !

उहाँहरु स्थानीय तहको मतपरिणामलाई विश्लेषण गरेर खुशीयाली मनाउँदै हुनुहुन्छ । यसरी गणितीय हिसाबले हेर्ने हो भने त पहिलो संविधानसभाको निर्वाचनमा जसरी माओवादीले देशभर जित्यो, दोस्रो संविधानसभा निर्वाचनमा अरु दलले उम्मेदवारी नदिँदा पनि हन्थ्यो नि त ! तर, माओवादीले पहिलो संविधानसभा निर्वाचनमा जसरी देशभर जित्यो, ४ वर्ष नजित्दै परिणाम उल्टियो । त्यसैले म भन्छु– गणितीय हिसावले राजनीतिमा परिणाम निस्कँदैन । म लगभग ३ देखि ५ हजार मतले जित्छु, यो मेरो दाबी हो ।

तपाईंको निर्वाचन क्षेत्रमा आदिबासीको बाहुल्यता छ । मतदाताले तपाईंलाई नै भोट दिनुपर्ने कारण के छ ?

आदिबासी जनजाति मात्र होइन, यहाँ विभिन्न जातजातिको बसोबास छ । जातीय पहिचानभन्दा पनि म समग्र जातजातिलाई विश्वास गर्छु । म जन्मे–हुर्केको ठाउँमा पनि राई, लिम्बू थिएनन् । हामी ३ घर मात्र राई, लिम्बू थियौँ पहाडमा । अरु सबै क्षेत्री, बाहुन मात्रै । भट्टराई, डाँगी, बिष्ट, चौहान यस्तै–यस्तै थिए । त्यो समुदायमा म हुर्किएर जीवनयात्रा सुरु गरेको हुँ । म झापा आएर राजनीतिको कर्मभूमि बनाएको ठाउँमा चाहिँ सबै तराईबासी छन् । राजवंशी, गनगाईं, सतार, कोच, यादव, मुस्लिम, पश्चिमा समूदाय, मारवाडी लगायतको बसोबास छ । मैले सबै जात–जातिबाट माया, प्रेरणा र स्नेह पाएको छु । म विश्वस्त छु उहाँहरुले मलाई नै भोट दिनुहुन्छ ।

तपाईंको प्रतिस्पर्धीले त आफ्नो प्रतिस्पर्धी नै छैन भन्नुभएको छ नि !
त्यसो भए त उहाँले घरैमा सुतिरहँदा भइहाल्थ्यो नि, होइन र ! अस्ति पत्रकारहरुका माझमा उहाँले जनतालाई ३ तले घरमा बसेर सुनको थालमा खिर खाने बनाउँछु भन्नुभयो । अहिलेको २१ औँ शताब्दीमा त्यसरी झुक्याउँदा जनता झुक्किन्छन् ? जनतालाई ३ तले घर, त्यस घरको छतमा बसेर सुनको थालमा खिर खुवाउनका लागि वामगठबन्धन भएको भनेर बोल्नुभयो, मेरा विपक्षी उम्मेदवारले । साँच्चै जनतालाई ३ तले घर बनाइदिएर सुनको थालमा खिर खुवाउँछन् भने त हामी सबैले उम्मेदवारी फिर्ता लिँदा भइगो नि ! हामी पनि जनता सम्पन्न बनुन् भनेरै राजनीतिमा लागेका हौँ ।

विपक्षीले त्यसो भनिरहँदा तपाईको चुनाव जित्ने आधार चाहिँ के हो ?

मैले निरन्तर राजनीतिक जीवनयात्रा गरेँ, गरिरहेको छु । हिजो पञ्चायत कालमा प्रतिबन्धित अवस्थामा पनि पार्टी संगठनमा रहेर काम गरेँ । २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि म पार्टी संगठनको तल्लो तहबाट संघर्ष गर्दै यो तहसम्म आइपगेको छु । विकास निर्माणकै कुरा गर्ने हो भने म २÷२ पटक गाविस अध्यक्ष भएर कमसेकम विकास निर्माणको पद्धति, प्रक्रियााई राम्ररी बुझेको छु । म निरन्तर जनताका माझमा छु । चाहे बाढी, पहिरो जाँदा होस्, चाहे आपत्–विपद् पर्दा । जन्ती, मलामीमा होस् या ओल्लो घर, पल्लो घरमा पूजापाठ हँुदा किन नहोस्, म जहाँ पनि पुगेकै छु । अहिले उम्मेदवार हुँदा मात्रै म घर–घरमा पुगेको होइन । मैले त जनताको सुख, दुःखमा साथ दिएको छु ।

अर्को कुरा– मैले निर्वाचनमा खर्च पनि गर्नु परेको छैन । स्वतस्फूर्त रुपमा यहाँका जनता र पार्टीका कार्यकर्ताले आफ्नै गोजीबाट २÷४ रुपैयाँ निकालेर सहयोग गरेर मलाई चुनावमा सघाउँदै हुनुहुन्छ । मलाई त्यतिसम्म सजिलो छ । अरुले चुनावमा धेरै खर्च हुन्छ भन्छन् तर, मैले त्यो खर्चको अनुभूति गर्नै पाएको छैन । मेरा शुभचिन्तकलाई राम्ररी थाहा छ, यो मान्छेले निरन्तर हामीसँग बसेर काम गरेको छ भन्ने कुरा साँच्चै मैले हरेक सुख, दुःखमा जनतालाई साथ दिएको छु, विकास निर्माणका काम गरेको छु । यही नै हो मेरो चुनाव जित्ने आधार ।

तपाईं जिल्लाको संयन्त्रमा पनि बस्नुभयो, पार्टीको नेतृत्व पनि गर्नुभयो, के विकास गर्नुभयो तपाईंले ?

कुमरखोदको गाविसको अध्यक्ष हुँदा मैले हेल्थपोष्ट भवन बनाएँ, विश्व बैंकको पैसाबाट । झापामा सबैभन्दा पहिलो भीएचएफ टेलिफोन भित्र्याउने मान्छे मै हुँ । २०४९ सालमा मैले टेलिफोन लिएर जाँदा सब्जी बजार नै खाली भएको थियो, टेलिफोन हेर्न सबै भेला भएका थिए । सुरुंगा–झापा सडकको रेखांकन मात्रै थियो । मैले समितिको संयोजक भएर काम गरेँ, बाटो बनाएँ । सुरुङ्गा–झापा सडकलाई दानाबारी हुँदै इलाम–कन्चनजंघा सडकमा परिणत गरेर हामीले हरेक साल बजेट छुट्याइरहेका छौँ । दुधे–महाभारा–कोरोबारी–बघाहाचौधरी सडक हामीले दक्षिणतिरबाट पिच गरेर ल्याएका छौँ । अहिलसम्म खाली उत्तरबाट सडक बनाउने परिपाटी थियो । हामीले दक्षिणबाट सुरु ग¥यौँ । उत्तर–दक्षिणका हरेक बाटाहरु हाम्रै अगुवाइमा बनेका छन्, अरुको अगुवाइमा होइन । यो कुरा म गर्वका साथ भन्छु ।

तपाईंले आफैँ शिलान्यास गरेको कुमरखोद–महाभारालाई जोड्ने माईखोलाको पुल चाहिँ कहिले पूरा हुन्छ ?

त्यो पुल ७२४ मिटरको हो । संयोगले मैले शिलान्यास गर्नुप¥यो । वास्तवमा त्यो पुल शिलान्यास गर्न पाउनु मेरा लागि शौभाग्य हो । मलाई त्यहाँ बोलाइयो, म पुग्दा सबैथोक ठिक्क पारेको रहेछ, शिलान्यास गरेँ । त्यसपछि ठेकेदारले निरन्तर एक वर्षसम्म काम ग¥यो, पुरस्कृत नै गर्नुपर्छ जस्तो गरेर । तर, बिचमा ठेकेदारले फेरि धेरै ढिलासुस्ती गरिदियो । हामी यही विषयमा मन्त्रालयसम्म पनि डेलिगेशन गयौँ ।

र, ठेकेदारले अहिले फेरि काम सुरु गरेको छ । छिटो काम गराउन सकियो भने अबको दुई–अढाई वर्षमा पुल पूरा हुन्छ । जमिनमूनिको काम पूरा भइसकेको छ । माथि पनि केही पिल्लर बनिसके । यो पुल निर्माण सम्पन्न गराउन मेरो दायित्व छ । म निरन्तर लागिरहेको छु । अहिले मसँग प्रतिष्पर्धा गर्ने उम्मेदवारलाई त्यो पुल कहाँनेर पर्छ भनेर सोध्ने हो भने उहाँलाई ठाउँ पनि थाहा छैन ।
तपाईंले चुनाव जित्नुभयो भने के गर्नुहुन्छ यो क्षेत्रमा ?

म यो क्षेत्रमा धेरै गर्छु भनेर आश्वासन दिने पक्षमा छैन । जनताको जनजीवनमा कमसेकम राहत हुने काम चाहिँ पक्कै गर्छु । म कसैलाई तीन तले घर बनाइदिन सक्दिनँ । त्यो मेरो पार्टीको नीति पनि होइन । कसैले भूकम्पको डरले अढाई तले मात्रै घर बनाउँछन्, कसैले ५ तले पनि ठड्याउँछन् । कसैले एकै तले बनाएर पनि बस्छन् । सबैलाई तीन तले घर बनाइदिने मेरो कुनै सोच छैन । जनताको जनजीवनमा सामान्य उन्नति प्रगति होस् । विकास निर्माणका संरचनाहरु पूरा हुन् । शिक्षा, स्वास्थ्य सेवाबाट सबै जनता लाभान्वित हुन् । मेरो निर्वाचन क्षेत्रमा आदीबासी समुदाय धेरै छ । उहाँहरुका लागि रोजगारीको सिर्जना मुलुकले गर्नुपर्छ । झापा गाउँपालिकामा मैले खानेपानीको कार्यक्रम ल्याएको छु । मैले खानेपानीको योजना ल्याउँदा यो कुमरखोद गाविस नै थियो । भर्खर भएको हो झापा गाउँपालिका । एउटा योजना १ करोडको छ । अर्को १३ करोडको योजना हो । सबैलाई थाहा छ, म विकासप्रेमी हुँ । तसर्थ मलाई जनताले मतदान गर्नुहुन्छ ।

उम्मेदवारको टिकट दिने विषयमा कांग्रेसभित्र विवाद भयो तर, ४ नम्बर क्षेत्रमा तपाईंलाई टिकट दिने विषयमा कुनै हिच्किचाहट भएन । त्यसको कारण ?यसका लागि चाहिँ मेरो क्षेत्रका समकालीन नेता, कार्यकर्ता, पार्टीका शुभचिन्तकलाई म धन्यवाद तथा आभार व्यक्त गर्दछु । हुनत मैले पनि धेरै नै त्याग गरेको छु पार्टीभित्र । मसँगै यात्रा गर्ने थुप्रै साथीहरु सांसद्, मन्त्री भइसक्नुभयो । तर, मैले निरन्तर पार्टीको निर्णय मान्दै हिँडेँ । तसर्थ अहिलेको निर्वाचनमा पार्टीले मेरो नाम सर्वसम्मत सिफारिस गर्नु नै मेरो पहिलो जित हो । मेरो नाम क्षेत्र हुँदै जिल्लाबाट केन्द्रमा पठाउँदा केन्द्रले पनि केही तलमाथि नगरी टिकट दियो । टिकट नपाइने पो हो कि भनेर म काठमाडौँ पनि गएँ । तर, केन्द्रीय नेताहरुले निर्वाचन लड्ने तयारी गर्नु भनेर पठाउनुभयो । म लगत्तै झापा आइहालेँ । टिकट दिने विषयमा अन्य निर्वाचन क्षेत्रमा चाहिँ केही रस्साकस्सी भएकै हो । तर, यो क्षेत्रमा यसले पक्कै जित्छ भनेर मलाई टिकट दिइएको हो । यसकै आधारमा पनि म चुनाव जित्छु ।

मतदातालाई के भन्नुहन्छ ?

जुन परिस्थितिमा हामी छौँ, मुलुक दुई ध्रुवीकरणमा छ । एकातिर वामपन्थी गठबन्धन छ, उनीहरुले संविधान धरापमा पर्ने हुन् कि भन्ने शंका छ । अर्कोतिर लोकतान्त्रिक गठबन्धन छ । तसर्थ कांग्रेसलाई पक्कै मतदाताले भोट दिनुहुनेछ । लोकतन्त्र, प्रजातन्त्र बचाउनका लागि र संविधान संस्थागत गर्नका लागि पनि सबैले लोकतन्त्रको अगुवाई गर्ने पार्टीका उम्मेदवारलाई मतदान गरेर विजयी गराउनुहुने छ । म यही आग्रह गर्न चाहन्छु ।

 

    Comment Here!


सम्बन्धित समाचार