साहित्यकार डा. कविताराम श्रेष्ठको निधन : को हुन् कविताराम ?

2017-11-20 16:39

काठमाडौँ । अस्वीकृत साहित्य आन्दोलनका जनक कविताराम श्रेष्ठको निधनले विश्वमा छरिएका नेपाली समूहमै निकै ठूलो हलचल ल्याएको छ । वि.सं. २०२६ देखि थालिएको अस्वीकृत जमातका एकजना योद्धा कविताराम श्रेष्ठ हुन् ।  भाउपन्थी, पुष्कर लोहनी, शैलेन्द्र साकार, अन्जिर प्रधान, प्रकाश प्रेमि, प्रेम नारायन प्रेमी, इन्द्र राजभन्डारी, नेपाल भूषण न्यौपाने, कुमार नेपाल, काशीनाथ तमोट, साकेत विहारी ठाकुर, मोहनसिंह  आदि यस आन्दोलनमा उनीसितै सक्रिय भूमिका निर्वाह गर्ने प्रमुख साहित्यकारहरू हुन्। वि सं. २०२६ मा नेपालभूषण न्यौपाने र कविताराम श्रेष्ठले ‘सञ्जीवनी’ पत्रिकामार्फत अस्वीकृत जमातको घोषणा गरेका थिए । पञ्चायतकालमा लेखक कविहरूमाथि लागेको प्रतिबन्धकै परिणति यो आन्दोलन थियो  ।

“पुराना जीर्ण अनुपयोगी मान्यताहरूलाई अस्वीकार गर्दै स्वाभाविक परिवर्तनकामि मान्यताको लागि गरिने सङ्घर्ष अस्वीकृत साहित्यको अभीष्ट हो” भन्ने कविताराम साहित्यलाई ‘भाषाको कलात्मक अभिव्यक्तिको माध्यम’ हो भन्ने धारणा राख्ने गर्दथे । नेपाली साहित्यको तरलवादी आन्दोलनसित अस्वीकृत साहित्य जमातको निकै साम्यता रहेको छ । तरलवादी आन्दोलनपूर्व नै अस्वीकृत साहित्यले यो धारणा आत्मसात् गरिसकेको थियो भन्ने कविताराम श्रेष्ठको भनाई रहेको पाइन्छ ।

कविताराम श्रेष्ठले बेलायतको स्कटल्यान्डमा आमन्त्रित प्राध्यापकका रूपमा पनि कार्य गरेका थिए । यिनी किस्ट मेडिकल कलेजका निर्देशक सम्म बनेर राष्ट्रिय – अन्ताराष्ट्रिय सम्बन्धका क्षेत्रमा कार्य सम्पादन गरेका थिए ।अनुसन्धान र प्रशिक्षण सेवाका लागि परामर्श सहयोगीहरू (कार्ट्स)-का अध्यक्ष समेत बनेका कवितारामले प्रिसियस नेसनल कलेज, काठमाडौँमा प्रिन्सिपलका रूपमा पनि काम गरेको थाहा पाइन्छ ।

समाजशास्त्रीका रूपमा कार्य गर्ने कवितारामको वास्तविक नाम रामबहादुर श्रेष्ठ हो । ग्रामीण विकास, सार्वजनिक स्वास्थ्य, अनुसन्धान, प्रशिक्षण, अडियो भिजुअल र संचार सामाग्री विकासका क्षेत्रमा दक्ष  श्रेष्ठ दुईवटा अन्ताराष्ट्रिय र आठवटा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका थिए । उनलाई दुईवटा अन्ताराष्ट्रिय तथा छवटा राष्ट्रिय सम्मान पनि प्राप्त भएको थियो ।

Kabitaram shrestha

सत्ताइसवटा साहित्यिक महत्त्वका नेपाली पुस्तकका लेखक श्रेष्ठको पाँचवटा अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू पनि प्रकाशित भएका छन् । उनले तीनवटा साहित्यिक पुस्तकहरू सङ्कलन तथा सम्पादन गरेका छन् । २५० भन्दा बढी लेखहरू उनका राष्ट्रिय तथा अन्ताराष्ट्रिय पत्रिकामा प्रकाशित पनि भइसकेका छन् । यसका अतिरिक्त नेपालमा सक्रिय एनजिओ, आइएनजिओका निम्ति ३३ थान शैक्षिक सामग्री तथा शोध सामग्रीहरू पनि उनले अङ्ग्रेजी भाषामा तयार पारेर प्रकाशित गराएका छन् । यसरी नै उनले नेपालमा सक्रिय एनजिओ, आइएनजिओका निम्ति ४० वटा भन्दा बढी प्रशिक्षण सामग्रीहरूको विकास गरेर प्रकाशित गराएका छन् ।

साहित्यिक कार्यमा सक्रिय श्रेष्ठले आफ्नै गीतलाई संगीतबद्ध गरेर एल्बमका रूपमा सिडी पनि निकालेका थिए । उनले आफैले लेखेको दुईवटा सिनेमालाई स्वयं निर्देशक, उत्पादक तथा अभिनयकर्ताको रूपमा जनतासामू ल्याएका छन् । उनले दुईवटा वृतचित्र पनि उत्पादन, निर्देशन तथा लेखन गरेका छन् । अन्ताराष्ट्रिय फ्लिम महोत्सवमा अन्ताराष्ट्रिय निर्णायक मण्डलका सदस्यका रूपमा पनि यिनले कार्य सम्पादन गरेका थिए ।

बिगत एक दशकदेखि बेलायत बस्दै गरेका श्रेष्ठ केही समयदेखि क्यान्सरले पीडित थिए । यस्ता बहुप्रतिभाशाली व्यक्तित्वको आइतबार भएको अवसानले नेपाली साहित्यजगत् स्तब्ध बनेको  छ ।

 

 

    Comment Here!


सम्बन्धित समाचार