बाढी उद्धारमा लगेको डुंगा पल्टियो

2017-08-12 19:56

बाँके, साउन २८ । बाढीपीडितको उद्धारमा गएका प्रहरीले नै झन्डै ज्यान गुमाउनु परेको छ । बाँकेको नरैनापुर गाउँपालिका–५ तल्लो भगवानपुरमा गाउँलेको उद्धारका लागि बाढीमा हेलिएका बेला एक्कासी पानीको बहाब बढुपछि उनीहरूले पिपलको रूखमा चढेर ज्यान जोगाएका हुन् ।

पानीको बहाब बढेर गाउँ डुबानमा परेपछि नेपाल राष्ट्रिय प्राविको छतमा बसेका एकजनाको प्रहरीले ज्यानको जोखिम मोलेर सकुशल उद्धार गरेको छ । उनको उद्धारका लागि दुर्इजना प्रहरी बाढीमै पौडिएर गएका थिए । तर, पौडिने क्रममा तत्काल पानीको बहाब बढेपछि उनीहरु पनि त्यही छतमा अड्किएका थिए ।

त्यसपछि छतमा अड्केका गाउँले र दुर्इ प्रहरीको उद्धारका लागि इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४ प्रहरी र ६ जना स्थानीयसहित १० जनाको टोली डुङ्गा चढेर गएको थियो । तर, बाढीमा हेलिएको डुंगा पनि पल्टिएपछि सबैजना पौडिएर नजिकै रहेको पिपलको रुखमा चढेर बाच्न सफल भएका हुन् ।

बाढी उर्लेपछि प्रहरीसहितका गाउँले करिब ४ घन्टासम्म रुखमै बसेका थिए । पानीको बहाव घट्दै गएपछि उनीहरूले नै रूखबाट झरेर छतमा अड्केका तीनजनाको उद्धार गरेका नेपाल प्रहरीले जनाएको छ ।

    Comment Here!


सम्बन्धित समाचार