सप्तकोशीले पूर्वी सबै तराई डुवाउने खतरा !

सबै ढोका खोल्न भारतलाई नेपालको आग्रह सुनेन

2017-08-12 19:47

काठमाडौं, साउन २८ । सप्तकाशी नदी पूर्वी तराईका लागि खतराको विन्दुमा पुगेको गृह मन्त्रालयले जनाएको छ । सप्तकोशीप्रति सचेत गराउदै मन्त्रालयले सबै सचेत र सुरक्षित रहन अपिल समेत गरेको छ । खतरा न्युन गर्न नेपालले सप्तकोशीको बाँधका सबै ढोका खोल्न भारतीय पक्षलाई अनुरोध गरेको छ । तर अहिलेसम्म भारतले नखोलेको जनाइएको छ । सप्तकोशी बाँध सम्झौता अनुसार बाँधको तालाको चावी भारतसँग छ ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वी र मध्य पहाडी क्षेत्रमा बाढी र पहिरोले बढी क्षति पुर्याएको र डुबानको अवस्था भयावह भएको बताए । तर, मौसम प्रतिकूल भएकाले उद्धार कार्यलाई तिव्रता दिन नसकेको उनले बताए । बढी सम्बन्धि गृहमन्त्री शर्माको जानकारीमा अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर ३० जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

‘काठमाडौंको एयरपोर्टमा उद्धार तथा राहतका लागि जाने टोली अलर्ट छ । पूर्वको इटहरीमा पनि हेलिकोप्टर तयारी अवस्थामा छ । तर, मौसमले साथ नदिएकाले जान सकिएको छैन,’ मन्त्री शर्माले जानकारी दिएका थिए ।

‘मौसम प्रतिकूलका कारण प्रभावित क्षेत्रमा केन्द्रबाट पुग्न सकेको अवस्था छैन । तर, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई खटाइएको छ । कतिपयलाई उद्धार गरिएको छ भने कतिपय स्थानमा पानीको बहाव तीव्र भएपछि सुरक्षाकर्मीहरु पनि जान सक्ने अवस्था छैन,’ उनले भने ।

उनले सतर्क रहँदै उद्धार तथा राहतमा जुट्न सुरक्षाकर्मी, व्यवसायी, स्थानीयबासी लगायत सबैलाई अनुरोध समेत गरे । ‘विमानस्थल समेत डुबानमा परेको छ । जताततै जलमग्न भएकाले कुनै जिल्लामा हेलिकोप्टर बस्ने ठाउँको पनि अभाव देखिन्छ, मन्त्री शर्माले भने, ‘भद्रपुर विमानस्थल डुबेको त छैन तर मौसम सफा नभएकाले जान समस्या भइरहेको छ । म आफू सुरक्षित रहँदै उद्धारमा परिचालित हुन सबैलाई विशेष अपिल गर्दछु शर्माले भनेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार