कविता – क्रान्ति पटाक्षेप !

(शार्दूलविक्रीडित छन्द)

धर्म पोखरेल
2017-08-11 11:38

-धर्म पोखरेल

कुर्सीमा सरकार ढल्पल यहाँ टाँसी लिसोझैँ छ यो
आफ्नो मुक्ति निमित्त जाति छ रुँदै देख्दै नदेख्ने भयो
यो नेत्तृत्व विवेकहीन किन हो ? सत्ता लिने नाउँमा
गिद्देदृष्टि छिमेकको तर सधैँ नेपालकै दाउमा ।

 

सारा देश दलालको छ नभनूँ छन् राष्ट्रप्रेमी पनि
सारामा छ स्वदेश प्रेम म भनूँ देखिन्न त्यस्तो पनि
हाम्रा भूमि, नदी, घना वनहरू पेल्दो छ सीमा पनि
पानीकै बिजुली छ झल्मल उतै हामी अँधेरोमुनि ।

 

नाका बन्द सह्यौँ ठुलो भनिरह्यौँ अन्याय खप्दै गयौँ
लोभी स्याल ढुकेर चोर्छ कुखुरा हामी दुखी भैरह्यौँ
कैले गर्दछ जाति जाति बिचमा यी जात मास्ने कुरा
कैले धर्म भिडाउँदै मनुजको अस्तित्व नास्ने पुरा ।

 

हामी मख्ख परेर बोल्नु किन पो ? हिन्दी मिसाईकन
भाषाप्रेम बगेर भाषिक कतै चल्दै छ आन्दोलन ।
गोर्खाल्यान्ड अनेक दु:ख पिरले लड्दै छ रातोदिन
सक्नै पर्दछ दु:खबाट सुखको पीयूष बर्साउन ।

 

आफ्नो यो अधिकार निम्ति मनमै सीमा लगाऔँ सब
ए देवस्थल ! मन्दिरादि शुभको घण्टा बजाओ अब
ए पानी ! अब बर्सिदे हृदयको मैलो पखाल्ने गरी
जस्तै दुष्ट कुबुद्धि हुन् अब उठून् कैले नरोक्ने गरी ।

 

कर्णालीसित गण्डकी मन मिलोस् कोसी उठोस् छाल ली
टिस्टा, केरुङ, काङ्गडा पनि उठून् भिन्नै नयाँ ताल दी
यो पाहाड, हिमाल झैँ मन मिलोस् सिङ्गो तराई पनि
नेपाली जनता मिलून् सिलिगुडी आसाम गान्तोक नि ।

 

कोदालो, तरबार, औ धनुष हो डल्ला, मट्याङ्गग्रा जुट
भाला, कर्द, चुपी, खुँडा र खुकुरी, खुर्पा, हथौँडा उठ
जा जा शैल उठेर दक्षिण दिशा पर्खाल हो देशको
सीमामै बम छेक बन्दुकहरू गोला र क्षेप्यास्त्र त्यो ।

 

ठोक्दे मेघ चट्याङ त्यो क्षितिजमा सातो उतै भ्याइदे
उर्ली छाल समुद्रमा लहरले उत्पात मच्चाइदे
ए भूकम्प ! तँ आइदे दसदिशा आ आ सुनामी पनि
ज्वाला अग्नि तँ भ्याइदे रिपुहरू हुन् भस्म सारा गनी ।

 

ए आँधी तँ नि वैरिदे कण लिई आफ्ना नढल्ने गरी
ए माया तँ नि बर्सिदे मुलुकको छाया नगल्ने गरी
गर्ने सन्धि कुनै नयाँ अब नहोस् लड्ने छु पानी पिई
पाऊँ फुक्न म शङ्ख त्यो विजयको माटो र झन्डा लिई ।

 

इन्द्रेणी तँ तयार हो विजयको माला छ पैह्राउनू
ट्याम्का, मादल, बाँसुरी हृदयमै सङ्गीत बर्साउनू
मेरो देश म लेख्छु मै रगतले नेपाल यो सानले
मेरो पौरख वीरता जगतले श्रद्धा गरोस् मानले ।।

धर्म पोखरेल – 

देउमाई नगरपालिका इलाम,

हाल ललितपुर

    Comment Here!


सम्बन्धित समाचार