कविता – नेपाल

{ बसन्ततिलका छन्द }

गोपालप्रसाद भण्डारी
2017-08-11 11:11

रचनाकार :- गोपालप्रसाद भण्डारी

नेपाल हो परम सुन्दर देवलोक

छन् जाति संस्कृति र भेषहरु अनेक |

पाइन्छ सज्जनहरुसित सद्विवेक

छन् देशमा पशुपति प्रभुका प्रतीक ||१||

 

सर्वोच्च शैल छ यहीं बहुतै छ पानी

यो देश हो प्रकृतिको रमणीय खानी |

पुर्खा थिए समझदार र वीर मानी

नेपालमा अधिक मानव छन् इमानी ||२||

 

अल्लाह बुद्ध इशु छन् प्रिय कृष्णराधा

बन्दैन धर्म भयदायक शान्तिबाधा |

छन् रामभक्त जनता अधिकांश सीधा

गर्छन् प्रयत्न तर पेट रहन्छ आधा  || ३||

 

गर्मी हुने र हिमपात हुने पहाडी

भूभाग छन् वन नदी अनि ताल झाडी |

नेपालमा अधिक शान्ति थियो अगाडि

बाधा परे विविध देश भयो पछाडि || ४||

 

फुल्छन् यहाँ कुसुम दुर्लभ उच्च जात

मिल्छन् विभिन्न फल अन्न र सागपात |

ज्यामी तथा कृषकवर्ग दिवा र रात

गर्छन् परिश्रम जुटाउन दालभात  ||५ ||

 

हो कस्तुरी मृग मनोरम वन्यजन्तु

गर्छन् शिकार यसको पटमूर्ख किन्तु |

डाँफे चरो पनि छ सुन्दर राष्ट्रपक्षी

मार्छन् छलेर कति दुर्जन मांशभक्षी || ६ ||

 

लालीगुराँस सबको प्रिय राष्ट्रफूल

छन् फूलका गुण तथा सुषमा अमोल |

सौन्दर्यमा अति धनी छ चरो मुनाल

यो देशका धन र गौरब हुन् हिमाल || ७||

 

गैंडा तथा हरिण जङ्गलभित्र हुन्छन्

हात्ती र बाघ चितुवा अनि सिंह घुम्छन् |

धेरै थरी रूख र झार लताहरु छन्

नेपालको प्रकृतिमा सब मुग्ध हुन्छन् || ८||

 

हो देश नागरिकको प्रिय फूलबारी

छन् देशसेवक मनुष्य परोपकारी |

स्वामी बने तर अहो अधिकारधारी

दिन्छन् अझै दुख यहाँ कति कर्मचारी ||९||

 

घट्तो छ देशभर अर्थ दिने लगानी

नेता भए बिफल सत्य कुरा नजानी |

छैनन् चरित्र फलदायक बुद्धिबानी

पारे दरिद्र जनता धनमाल तानी || १० ||

 

विद्वान् युवा प्रमुख शक्ति बिदेशमा छन्

छोडेर देश घर पौरख गर्न खोज्छन् |

राखी स्वसंस्कृति र धर्म मिलेर बस्छन्

छन् देशभक्त दिलले सहयोग दिन्छन् || ११||

 

गर्छन् परिश्रम असाध्य सुकर्म ठानी

छन् योजना असल हार्दिक दूरगामी |

सोचाइ छन् प्रबल मार्मिक शान्तिकामी

माया गरौ स्वजनको दिलबाट हामी ||१२||

 

बढ्दैछ बालक नयाँ गणतन्त्र हाल

गर्ला अवश्य शुभकार्य बनी बिशाल  |

होला सशक्त जनराज्य यहाँ बहाल

आशा गरौँ दुखविहीन हुनेछ काल || १३||

 

श्रीवल्लीधाम , बत्तीसपुतली , काठमान्डू |

हाल;- टेक्सास, अमेरिका |

रचनास्थल : – कल्पनादुर्गा निवास ,

वियरडेन् स्ट्रिट , डेभिस्, क्यालिफोर्निया ९५६१८ , संयुक्त राज्य अमेरिका |

सान्दर्भिक शब्दार्थ : –

दिवा = दिवस , दिन | मनोरम = सुन्दर | सुषमा= शोभा |

दिनांक:- बि स : २०७१| ८| ९ | ३

ई सन् २०१४ | ११ | २५  मंगलबार |

 

    Comment Here!


सम्बन्धित समाचार