बाइस वर्ष बित्यो, घर फर्किएन छोरो

2016-12-08 08:39

रामपुर (पाल्पा), २३ मङ्सिर । “बुढेसकालमा छोराले सेवा गर्ला भनेर छोरो जन्माए, २२ वर्ष बित्यो छोरो बेखबर छ”, नेत्रप्रसाद तिवारीले बिलौना गर्नुभयो । रामपुर नगरपालिका–७ सुन्दरटोल बस्ने तिवारीका छोरा खगनाथ तिवारी बेपत्ता भएको २२ वर्ष हँुदा पनि उनी अझै बेखबर छन् ।

“कसले कहाँ लग्यो, कता गयो, जिउँदो छ या म¥यो, केही पत्तो पाइएन”, उनका बाबु नेत्रप्रसादले भन्नुभयो । १९ वर्षको उमेरमा विसं २०५१ साउन ९ गते दिउँसो घरबाट निस्केका खगनाथ अहिलेसम्म आफन्त, परिवार, छिमेकी, साथी कसैको पनि सम्पर्कमा नभएको परिवारका सदस्यको भनाइ रहेको छ ।

बुढेसकालमा छोराले सहारा दिन्छ कि भनेको छोरो नै बेपत्ता हुँदा निकै पीडा मनमा बल्झिरहने गरेको बाबु नेत्रप्रसादले भन्नुभयो । चाडपर्वका बेला गाउँमा अरूका छोरा देश विदेशबाट घर फर्कंदा, छोराको झझल्कोले सताउने गरेको उहाँले बताउनुभयो । उमेरले ६७ वर्ष पुग्नुभएका नेत्रप्रसाद जीवनको अन्तिम घडीसम्म भएपनि छोरो घर फर्कन्छ कि भन्ने आशामा हुनुहुन्छ ।

दुःख गरेर छोरो हुर्काएँ, अहिले पालनपोषण गर्ने बेलामा छोरो नै बेपत्ता छ । कसैले अपरहण गरेर लग्यो कि कहाँ छ ? सधैँ उहाँले भेट्ने जो कोहीलाई पनि यही प्रश्न गर्नुहुन्छ । एकातिर श्रीमती चन्द्रकला तिवारीको मृत्युको पीडा, अर्कोतिर छोरो बेखबर रहँदा उहाँका दिन सधँै आँसुमा बितेका छन् । “खोज्न जाउँ कहाँ ? केही पत्तो छैन, घर बसौँ त मनमा धेरै कुरा खेल्छन्, बुढेसकाल लाग्यो, छोरो घर फर्किएन”, उहाँले भन्नुभयो ।

नेपालका धेरैजसो र भारतका केही स्थानमा समेत खोजीनिती गर्दा पनि अहिलेसम्म सम्पर्कमा नरहेको उनका दाजु दोबराज तिवारीको भनाइ छ । सबैसँग मिजासिलो पाराले बोल्ने, रातो वर्ण भएका भाइ खगनाथको बेखबरको पीडाले दिनरात परिवारका सबै सदस्यलाई तड्पाउने गरेको उहाँले भन्नुभयो । परिवारले भने बेखबर बनेका खगनाथ अझै पनि घर आउने आशा गरिरहेको छ । रासस

    Comment Here!


सम्बन्धित समाचार