अविबाहित सभासदलाई मध्यरातमा अर्कैकी श्रीमतीले फोन गरेर भागौं भनेपछि…

2017-09-28 15:19

रामहरी खतिवडा नेपाली कांग्रेस ओखलढुंगाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी अझै अबिबाहित छन् । उनीसँग गरेको रोमान्चक कुराकानी….

कति वर्ष हुनु भो ?
ओखलढुंगाको थाक्ले–२ मा आमा यशोदा र बुबा जीवनाथ खतिवडाको जेठो सन्तानका रुपमा २०२६ साल पुस २४ गते जन्मिएको हुँ । तपाईं नै हिसाब गर्नुस्, कति वर्ष भएँ हुँला ? ’

बिहे किन नगर्नुभएको ?
२०४२ सालमा एसएलसी पास गरेर काठमाण्डुमा क्याम्पस पढ्न आएको छ । पढ्दापढ्दै किसुनजी(कृष्णप्रसाद भट्टराई) को संगतले राजनीतिमा लागियो ।

जेल परियो, राजनीतिक कामको व्यस्तताले गर्दा बिहे गर्नै भ्याइएन ।

अब गर्दा के फरक पर्छ र ?
गर्ने भनेको हो । मनले खाएको फेलै परेका छैनन् । राम्री केटी देखेर छेउमा गएर बोल्न खोज्यो भने ‘अंकल’ भनेर बोलाउँछन् । कुरै नगरी फरक्क फर्कन्छु । भर्खरकाले बूढो भनेर नपत्याउने । धेरै बूढी आफूलाई मन नपर्ने । बिहेजस्तो कुरा हो । जीवन बिताउनुपर्छ । घरबार चल्ने खालको केटी चाहियो ।

घरपरिवारबाट बिहेका लागि दबाब आउँदैन ?
आमाले हरेकपटक भेट्दा बिहेको कुरा निकाल्नुहुन्छ । यसपालि दसैंमा टीका लगाएर ‘बिहे होस्’ भन्ने आशिर्वाद दिनुभयो । आमा सधैं भन्नुहुन्छ, सभासद् भइहालिस्, अब मलाई तेरो केही चाहिएन । एउटी बुहारी र एउटा नाति चाहियो ।
म सभासद् भएपछि आमा दोलखा भीमसेन मन्दिर दर्शन गर्न जानुभएको थियो । आमाले भीमसेनसँग बरदान माग्नुभयो, ‘छिट्टै बुहारी र नाति देख्न पाउँ ।’

आमाले बिहेका लागि दबाब दिँदा जवाफ चाहिं के दिनुहुन्छ ?
केही भन्दिन, सुनिरहन्छु । हाँस्छु मात्र ।

मतदाताबाटै व्यापक दबाब छ रे भन्ने सुनियो ?
त्यसको त झन् कुरै नगरौं । गाउँ जानै हुँदैन । कुरै त्यही मात्र हुन्छ । माननीयको घरमा आउँदा छमछम चुरा बजेको हातले दिएको चिया–खाना खान पाउने दिन कहिले हो भनेर हैरान पार्छन् ।

आफूसँगैका अरुको प्रगति देखेर लोभ लाग्दैन भन्या ?
साथीहरुका नातिनातिना भइसके । म जेठो हुँ । साइँलो भाइका दुईटी जुम्ल्याहा छोरी छन् । प्लसटु पढ्ने भइसके । भाइले बिहेको कुरा निस्कँदा जिस्काएर भन्छन्, ‘पहिला छोरीहरुको गर्ने, अनि मात्र दाइको ।’

यही मंसिरको २० गते ओखलढुंगाको बिजीफलाँटे गएको थिएँ । काँग्रेस जिल्ला सभापति प्रदीप सुनुवारको घरमा बास बसेको थिएँ । राति युवायुवतीहरुले नाचगान गरे । मैलाई लक्षित गरेर उनीहरुले ‘झम्के फुली नाकैमा बुलाकी, यसपालि त घरबार होला कि’ भाखामा गीत गाए ।

अहिलेसम्म कतिजनासम्म लभ गर्नुभयो ?
अहिलेसम्म लभ परेको अवस्था छैन । तर रातिराति फोन खुब आउने गरेको छ । कोही मन पराउँछन् । तर भन्न सक्दैनन् । एक महिलाले संकेतमा राति तपाईंलाई सपनामा देखें भनिन् । कसैले साथीहरुमार्फत बिहेको अफर पठाउने गरेका छन् । एक विवाहित महिलाले त एकपटक राति फोन गरेर मलाई श्रीमानसँग बस्नै मन छैन । तपाईंसँग जीवन बिताउन चाहन्छु । ‘प्लिज’ मलाई अपनाउनुस् भनेर रुवाबासी गरिन् ।
त्यस्ताहरुलाई के जवाफ दिने गर्नुभएको छ ?
तपाईंहरु जस्तै ‘रामहरि खतिवडा पति पाउँ’ भनेर स्वस्थानी व्रत बस्ने कति होलान् । कोही सडकमा बसेर ‘फल्याङ किस’ गर्छन्, कोही राति सपनामा देख्खन् । म एकजना छु । कसरी भाग पुग्छ र भन्ने ठट्टा गरेर उडाइदिन्छु ।

तपाईंका लागि चाहिएकी कन्याको योग्यता चाहिं के–के हुनुपर्ने ?
मकहाँ पार्टीका कार्यर्ता धेरै आउँछन् । आउनेमध्ये कसैको मोजा गन्हाउँछ होला । मोजा गन्हायो भनेर नाक ठुस्स पार्नुभएन । भित्र रिसाए पनि बाहिर कार्यकर्तासँग ‘बाबु चिया–खाना खानुभएको कि भएन ? भनेर सोध्ने खालको हुनुप¥यो ।

म आज जहाँ छु, यो ठाउँमा ल्याइपु¥याउन मेरो बुबाआमाको ठूलो तपश्या र लगानी छ । उहाँहरुले मेरी श्रीमतीबाट अपमानित भएको महसुस गर्नुभएन । उहाँहरुको सत्कार र रेखदेख गर्नुप¥यो । यस्तो खालको केटी पाए बिहे गर्ने मनस्तिथिमा छु ।

कति पढेको हुनुपर्ने नि ?
कम्तिमा बीए पासवाला चाहिन्छ ।

विचारमा काँग्रेस नै हुनुपर्ने कि गैरकाँग्रेस भए पनि हुने ?
विचार भने जे भए पनि हुन्छ । किन भने विचार भनेको मानिसको व्यक्तिगत स्वतन्त्रता हो

उमेर नि ?
२५ वर्ष पूरा भएको, ३१ वर्ष नकटेको । यसको अर्थ यो हो कि २५ देखि ३० वर्षको भए राम्रो ।

सक्रिय राजनीति गर्ने कि नगर्ने ?

घर सम्हाल्न बिहे गर्न लागेको हो । किन चाहियो राजनीति गर्ने ? राजनीति त परिवारमा एकजनाले गर्ने हो । राजनीति राजनीति नगर्ने, तर राजनीति बुझेको केटी चाहिएको छ ।

रुप कस्तो हुनुपर्ने ?

मेरा पनि आँखा छन् । आँखालाई यत्तिको भए हुन्छ भन्ने हुनुपर्छ । अरुले देख्दा पनि माननीयको जोडा मिलेको छ भन्ने होस् ।

ससुराली धनी कि गरिब ?

(हाँस्दै) अहिलेसम्म गएको छैन, कस्तो हुनुपर्छ भन्ने ? राजनीति बुझेको होस् । तर ज्वाईंको कार्ड प्रयोग गरेर कमाउने खालको भने हुँदैन । त्यस्तो मानसिकता भएकाले प्रयासै नगर्दा राम्रो ।
आफैं खोज्ने कि, अरुले खोजेको गर्ने त ?

पाए आफैंले खोज्ने हो । नपाए साथीभाई बाआमा जसले खोजेको भए पनि हुन्छ ।
बिहे नगर्दाको बेफाइदा के–के हुँदोरहेछ ?

राजनीतिक काममा बढी व्यस्त भइन्छ । सभासद् भएपछि त झन् व्यस्तता बढेको छ । लुगा धुन भ्याइन्न । घरबाट हिंड्ने बेलामा मोजा कता छ, जुत्ता कता छ पत्तो हुँदैन । कपडामा आइरन लगाउन भ्यायन्न । भान्छा अस्तव्यस्त हुन्छ । बेडहरु भद्रगोल । भो कुरै नगरौं । केही भाईहरु र काम गर्ने मानिस पनि छन् । उनीहरुले सकेसम्म राम्रो गर्न खोज्छन् तर श्रीमती हुँदाजस्तो हुँदोरहेनछ ।

ओखलढुंगामा मेरो सम्पर्क कार्यालय छ । हाम्रै पार्टीका एकजना कार्यकर्ताको घरमा डेरा लिएको छु । उनकी श्रीमती छन्, कोपिला भन्ने । राति १२ बजे दुई सय मान्छे आए पनि भात पकाएर खुवाउँछिन् । उनीहरुका लागि सुत्ने ठाउँको व्यवस्था मिलाइदिन्छन् । राम्रो सहयोग मिलेको छ, उनीहरुबाट पनि ।

नेताजीहरुले ‘बिहे गर’ भनेर जिस्काउँदैनन् ?
अहिलेका नेताले भनेका छैनन् । आफ्नै तहका साथीभाइहरु कहिलेहाकीं गफगाफको विषय बनाएर बिहेको आग्रह गर्छन् । तर किसुनजी (स्व. काँग्रेस संस्थापक कृष्णप्रसाद भट्टराई) ले बारम्बार बिहे गर भन्ने गर्नुहुन्थ्यो । एकजना पार्टी केन्द्रीय सदस्यकी छोरीसँग बिहेको चाँजोपाँचो पनि मिलाइदिनुभएको थियो । मैले पनि यत्तिको भए हुन्छ भन्ने मनस्थिति बनाइसकेको थिएँ । उताबाट पनि मनपराइएको अवस्था थियो । उहाँको बुबा काँग्रेस छाडेर पछि राजाको मन्त्री पनि हुनुभयो ।

नाम भने अहिले नलिऔं, किन भने उहाँको बिहे भइसक्यो । विदेश जाँदा मलाई उपहार आउँथ्यो । एकपटा सुनको सिक्री नै आएको थियो । तर एक दिन ती युृवतीले पहाड घर (ओखलढुंगा जाँदा) हिंड्न सक्दिन, आउँदा जाँदा हेलिकोप्टर चढ्नुपर्छ भनिन् । मलाई लाग्यो यस्तो महंगो केटी बिहे गरियो भने दुःख पाइन्छ । त्यसपछि तपाईं र मेरो हैसियत मिलेन भनेर छाडिदिएँ ।

अहिले पनि उहाँको याद त आउला नि ?
आउँदैन । उनको बिहे भइसक्यो । बालबच्चा भइसकेको अर्काकी श्रीमतीलाई सम्झेर किन समय बर्बाद गर्नु ? ०५६ सालपछि भेट पनि भएको छैन ।

बिहे नगरेका कारण व्यहोरेको कुनै पीडाजनक अवस्था पनि छन्. कि ?
किसुनजी बिरामी हुनुहुन्थ्यो । उहाँ अन्तिम अवस्थामा नर्भिक अस्पतालमा मृत्युसँग संघर्ष गरिहिनुभएको थियो । एकदिन मलाई भन्नुभयो कि रामहरि आज मलाई वाइन खान मन लागेको छ । वाइन र प्राउन ल्याउ भन्नुभयो । मैले डाक्टरको आँखा छलेर वाइन खान दिएँ ।
अर्को दिन कफी खान मन थियो भन्नुभयो ।

अमिता कपाली (कृष्णप्रसाद भट्टराईकी सहयोगी) र म थियौं । अमिताले भर्खरै दुःख खाएको होइन र किसुनजी ? भनिन् । दूध र कफीको स्वादै फरक हुन्छ । दूधभन्दा फरक स्वादको कफी खाने उहाँको इच्छा थियो । त्यो इच्छा कपालीको ठाउँमा यदि किसुनजीको श्रीमती भइदिएको भए बुझ्ने थियो । मलाई बिहे गर्नुपर्दोरहेछ भन्ने महसुस पहिलोपटक त्यस दिन भएको थियो ।

म सभासद् भएपछि एक दिन मर्निङवाकमा मेरै जिल्लाबासी पूर्वसिडिओसँग भेट भयो । उहाँका छोराहरु अमेरिका छन् । श्रमती बितेको केही महिना भएछ । घरमा काम गर्ने मान्छे त छन्, तर गतिलो रेखदेख गर्देनन् । ७० आसपास उमेर भएको वृद्धले ‘बिहे गर्नुप¥यो’ भनेर रुनुभयो । त्यो घटनाबाट पनि मलाई लाग्यो कि बिहेचाहिं गर्नैपर्ने रहेछ ।

म संधै माननीय नभइरहन सक्छु । पावरमा नहुन सक्छु । बूढ्यौली लाग्ला । आफ्ना मनका कुरा शेयर गर्न पनि नजिकको मान्छे चाहियो । त्यो श्रीमतीजति नजिक कोही हुन सक्दैन ।

आधार उमेर गइहाल्यो, अब बिहे नगरौंक्यारे भन्ने विचार चाहिं कहिल्यै आउँदैन ?
अब आधा उमेर बाँकी छ । कति नै बाँचिएला र ? पछिल्लो समय बिहे गर्ने इच्छा चाहिं जागेको छ । हुन त सुशील ‘दा’ बिहे नै नगरी प्रधानमन्त्री हुनुभयो । शेरबहादुर दाई (शेरबहादुर देउवा) ले पनि ५० वर्षको उमेरमा बिहे गर्नुभएको हो ।

बिहे गरेपछि बच्चा पाउने कि नपाने ?
किन नपाउने । बकाइदाले बाबु बन्ने हो ।

छोरी कि छोरी ?
छोरा वा छोरी जे भए पनि फरक पर्दैन । छोरा वा छोरी होइन, सन्तान चाहियो । तर एउटाभन्दा दुईवटा बच्चा पाइँदैन ।

तपाईं भर्जिन हो कि होइन ?
हाँस्दै, यो मामलामा म किसुनजीको चेला हुँ । (किसुनजी अर्थात कृष्णप्रसाद भट्टराई तपाईं कुमार हो कि होइन ? भन्ने पत्रकारको प्रश्नमा भन्ने गर्थे, ‘बिहे गरेको छैन, तर कुमार पनि होइन’ ।)

किसुनजीको चाहिं बिहेका बारेमा तपाईंसँग के भनाइरहन्थ्यो ?
उहाँले मुख त खोल्नुभएन । तर बिहे नगरेकामा हल्ला पछुतो मानेको जस्तो अभिव्यक्ति आउँथ्यो । जस्तै उहाँले राति सुत्ने बेलामा भन्नुहुन्थ्यो कि ‘मेरो को छ र ? गिरिजा (गिरिजाप्रसाद कोइराला) को जस्तो घरमा आएपछि तातो, चिसो के ल्याउँ ? दूख खानुहुन्छ कि केरा खानुहुन्छ कि ? भन्ने मान्छे मेरो छैन ।’ यो सम्झिंदा पन िबिहे गरौंगरौं लाग्ने गर्छ ।

दुलही पहिला कि संविधान पहिला ?
पहिला संविधान, त्यसपछि दुलही । किन भने यो उमेरसम्म बिहे नगरेर केही भएन । अब दुई महिना नगर्दा केही फरक पर्दैन । तर संविधान त हामीले माघ ८ मै दिन्छौं भन्ने बाचा जनतामा गरेका छौं ।

अरुको बूढाबुढी सँगै हिंडेको देख्दा डाहा हुन्छ कि हुँदैन ?
कहिले काहीं गाउँतिर गयो । पार्टीकै साथीहरु साथमा हुन्छन् । घरमा राति फोन गरेर ‘ए बूढी के कसो छ ? छोराछोरी के गर्दैन् ? खाना खायौ कि खाएनौ ? भनेर सोध्छन् । उताबाट पनि त्यस्तै कुरा सोधिन्छ । तर आफ्नो त कोही छैन । साथीहरु गृह (आफ्नो) नभए परराष्ट्र (बाहिर) पनि फोन गर्छन् । आफ्नो त न गृह, न परराष्ट्र ?

यो उमेरमा किन बिहे गर्नुहुन्छ त, कसैसँगै लिभिङ टुगेदर बसे हुँदैन ?
ओहो त्यस्तो कुरा नगर्नुस् । मेरो त्ययतातिर सोचाई नै छैन । घरमा बाआमालाई बुहारी नै चाहिएको छ ।

    Comment Here!


सम्बन्धित समाचार