नर्सिङ पढाई चरम चासोको विषय

राम्रो जागिर पाउने र भविष्य सुरक्षित हुने विश्वास

विनु बज्राचार्य
2017-09-14 15:48

विनु बज्राचार्य/हालै नेपालमा एस्.ई.ई.को परीक्षाफल प्रकाशित भएको छ । यो सँगसँगै विद्यार्थीहरुमा अब अगाडि के विषय पढ्ने भन्ने प्रश्न एक तर्फबाट उठिरहेको छ भने आमाबुबाको मनमा छोराछोरीलाई के पढाउने जसले गर्दा पिरोलिरहेको छ । अहिलेको समयमा यदि हामीले सबै तिर बुझ्ने हो भने नर्सिङको पढाई चरम चासोको विषय बनिरहेको छ । ३ वर्षको पढाई पछि छोरीले राम्रो जागिर पाउने र भविष्य सुरक्षित हुने विश्वासले पनि अभिभावकलाई लोभ्याएको देखिन्छ । काठमाण्डौ भित्र र वाहिर गरेर धेरै नीजि शैक्षिक संस्थाहरु छन् । जसले नर्सिङ विषय पढ्नको लागि तयारी कक्षाहरु सञ्चालन गरिरहेका छन् र ती सबै संस्थाहरुमा पढ्नेहरुको भीड उत्तिकै छ । यो देख्दा मेरो मनमा एउटा प्रश्न आउँछ, यो भीड नर्सिङ प्रतिको आकर्षण र यो पेशा यथार्थ जानेर बुझेरै हो त ?

यदि हामीले नर्सिङको पृष्ठभूमी हेर्ने हो भने, नर्सिङ सेवाको सुरुवात फ्लोरेन्स नाईटिङ्गेलबाट सुरु भएकोे हो । पाना पल्टाएर हेर्ने हो भने नर्सले विरामीको सेवा साथै पुरै समाजको सेवामा आफ्नो सम्पूर्ण जीवन त्याग गरेको देखिन्छ । वर्तमान समयमा, के सम्पुर्ण नर्सहरुले आफ्नो जीवन विरामीको सेवामा दत्तचित्त भएर विताएका छन् त ? भन्ने प्रश्न उठिरहेको छ । हामी कतै छुच्ची नर्स त कतै लापरवाह भन्ने वाक्य सुनिरहेका हुन्छौँ । तर के यो कुरा, सही हो त ? नर्सिङको पहिलो खड्किलो भन्नु नै नर्सिङ प्रवेश परीक्षमा उत्तीर्ण भई प्रविणता प्रमाण पत्र तहमा पाईला टेक्नु हो ।

आमाबुबाको चाहना बाहेक नर्सिङ पढ्नुमा धेरै कारणहरु देखिन्छन् जस्तै सजिलै जागिर पाउने, नर्स बन्ने चाहना, अहिले चलेको पेशा, आर्थिक अवस्था सुधार्न, साथीहरुको लहैलहैमा लाग्नु जस्ता थुप्रै छन् । मेरो प्रश्न यहाँ आएर उठ्छ, के यही नै हो त नर्सिङ पेशाको यथार्थ विश्लेषण ? मान्छेको यो अपेक्षाहरु केही हद सम्म नर्सिङसँगको अवस्था पनि सम्बन्धित छ तर पहिलो प्राथमिकता भनेको विरामीको सेवा हो ।

३ वर्षको पढाई अवधिमा पढिने कुरा र प्रत्यक्ष मानव स्वास्थ्य र संवेदनासँग जोडिएर काम गर्ने कुरा मान्छेको नर्सिङ प्रतिको काल्पनिक सोचाई भन्दा फरक छ । कुनै अरु साधारण विषय जस्तो हैन यो पढाई । विभिन्न सपना बोकि नर्सिङमा प्रवेश गर्छन् र जब पढाई सुरु हुन्छ आफ्नो सोचाई भन्दा फरक पाउने वित्तिकै कतिमा नर्सिङ प्रति वितृष्णा जागेको पनि पाईएको छ । जब नर्सिङ प्रति नै नकारात्मक सोच जाग्छ भने, उसले कसरी एउटा विरामीको मर्म बुझ्दा र उसलाई आवश्यक स्याहार पुर्याउन सक्ला ? यो समस्या नर्सिङ पढ्दा मात्र हैन पढाई सिद्ध्याई सकेपछि पनिको समस्या पनि हो । सजिलै राम्रो जागिर पाउने र पैसा कमाउने सपना बोकेका धेरै जना निराश हुन्छन् । तर यसको मतलब सयमा सय प्रतिशत भने हैन किन कि विभिन्न सरकारी, अर्ध–सरकारी र नीजि स्वास्थ्य संस्थाहरुमा जागिर खाएर नर्सिङ पेशा प्रति सन्तुष्ट भई काम गर्नेको संख्या पनि कम चाहिँ छैन । अहिले च्याउ उम्रे जतिकै नर्सिङ कलेजहरुको संख्या र त्यसबाट निस्किने नर्सको संख्या हजारौँ छन् । जागिर पाउन सहज छैन, पाएता पनि चित्त बुझ्दो आएको छैन । जति आशा गरेर लगानि गरियो त्यसको दाँजोमा न्युन भन्दा पनि न्युन विन्दुमा छ, तलब अनि कसरी हुन्छ काममा सन्तुष्टि । यहाँ तलबको कुरा गरी रहँदा स्वयंसेवकको रुपमा काम गराउने स्वास्थ्य संस्था र काम गर्ने व्यक्तिको कुनै कमि छैन यहाँ । छ महिनादेखि वर्षौँ दिनसम्म पनि स्वयंसेवकको नाममा तलब नदिई काममा पेलाईन्छन् भने धेरै जसो कमसेकम केही समय पछि त जागिर पक्का हुन्छ भन्ने आशमा स्वेच्छा अनुरुप स्वयंसेवक गर्नेको संख्या पनि कम छैन । क्षमताभन्दा बढी कार्य भए काम गरेता पनि सिमित सुविधामा कार्य गर्नुपर्ने विरामीको सेवामा पनि समझौता गर्नुपर्ने बाध्यताले गर्दा नर्सिङ पेशा र यस पेशाको सम्बन्धन गर्न भनि लागेका नेतृत्व प्रति आक्रोश उत्तिकै बढ्दो छ । वर्षौँ वर्ष काम गरीसक्दा पनि नर्सिङ पेशा प्रति गुनासोको दर पनि कतैबाट कम भएको देखिँदैन । कतिपय त यो पेशा नै छोडेर अरु पेशा तिर लागेको पनि देखिन्छ भने धेरै जसोले आफ्ना सन्तति र चिनेजानेकालाई नर्सिङ नपढ्ने सल्लाह पनि दिने गरेका छन् । धेरै जसो यो पेशागत तनाबबाट मुक्त हुन विदेशिने पनि गरेका छन् ।

धेरैको मनमा नर्सिङ पढेमा ग्लानी छ । यस्तो वातावरण देखिरहँदा मेरो मनमा सधैँ एउटा प्रश्नले घर बनाएको छ, यो सबै समस्याको कारण के हो त ?
मलाई लाग्छ नर्सिङ पेशा प्रतिको यथार्थ पाटोलाई सुरुवातमै उजागर नगर्नाले हो । जसरी अरु क्षेत्रमा करियर काउनसेलिङ, गरिन्छ । त्यसै गरी नर्सिङमा पनि त्यो आवश्यक हो कि ? उदाहरणको लागि जापानमा विद्यार्थीलाई स्कुल पढाई देखि नै नर्सिङको बारेमा जानकारी दिईन्छ । जसले गर्दा उनीहरु आफ्नो स्वेच्छाले खुशी खुशीले नर्सिङ पेशामा जीवन विताउँछन् र फलस्वरुप आफ्नो ड्युटिलाई डटेर मुस्कानका साथ निभाउँछन् । मेरो विचारमा जब विद्यार्थीहरु नर्सिङमा नाम निकाल्छन् त्यस पछि जुन नर्सिङ कलेजमा नाम निकाल्छन् त्यो कलेजले नाम निकालेकाहरुलाई नर्सिङको बारेमा विस्तृत जानकारी दिनु आवश्यक छ । जानकारीमा नर्सिङ, शिक्षा यसमा गर्नुपर्ने कामहरु र नर्सिङ पढिसके पछिको नर्सिङ पेशाका अवसर चुनौतिहरु देशका पेशाका अवस्था बुझाउन अनिवार्य भैसकेको जस्तो लाग्छ । नर्सिङ पेशाको बारेमा जानकारी पाएपछि पढ्न चाहनेहरुले पढाईलाई निरन्तरता दिन्छन् भने नचाहनेहरुले छोडेर आफ्नो इच्छाको विषय पढ्नेछन् जसले गर्दा अर्का पढ्न चाहने व्यक्तिले अवसर पाउने छन् । यति सानो पहलकदमीको यदि सुरुवात गर्ने हो भने नर्सिङमा निराशा, ग्लानी र वितृष्णा कम हुने थियो कि ? विरामीले राम्रो उपचार पाउने थियो कि ? समाजमा नर्स भनेका छुच्ची नभई जीवन बचाउने देवी हुन् भन्नेमा कुनै दुई मत हुने थिएन कि ?
यसले त्यस नर्सलाई हरेक अवस्थामा विचलित हुन दिने थिएन किन कि ! आउने अवस्थाहरुको लागि मानसिक रुपले तयार रहन्छ ।

विनु बज्राचार्य
लेखक वीर अस्पतालमा नर्सिङ अधिकृत हुनुहुन्छ ।

    Comment Here!


सम्बन्धित समाचार