बसमा महिलामाथि यौन दुव्र्यवहार गर्ने ७१ पक्राउ

2017-09-13 17:55

२८ भदौ ।
प्रहरीले बसमा महिलामाथि यौन दुव्र्यवहार गर्ने ७१ पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकामा सार्वजनिक यातायातलाई महिला मैत्री बनाउने उद्धेश्यले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले यही श्रावण १८ गते वाट सुरू गरेको “सेफ्टी पिन” अभियान अन्तर्गत एक महिनाको अवधिमा ७१ जना पक्राउ परेका हुन् ।

प्रहरीले ३३ वटा टोली बनाई उपत्यकामा गुड्ने बिभिन्न सार्वजनिक सवारी साधनमा सादा पोसाकमा एक महिना अघिदेखि निरन्तर रुपमा प्रहरी परिचालन गर्दै आएको थियो ।

सार्वजनिक सवारी साधनमा महिला तथा बालबालिका माथि हुने यौनजन्य दुर्ब्यबहारलाई न्यूनिकरण गरी उपत्यकामा महिला तथा बालबालिकाहरुको लागि सुरक्षित यात्रा गर्ने वातावरण वनाउन प्रहरीले उत्त अभियान चलाएको दावी गरेको छ ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशीका अनुसार उपत्यकामा चल्ने सवारी साधनमा दुर्ब्यबहार गर्नेलाई नियन्त्रणमा लिने क्रममा काठमाण्डौबाट ६१ जना पक्राउ परेका छन् भने ललितपुर र भक्तपुरबाट ५र५ जना पक्राउ गरिएको छ ।महानगरीय प्रहरी कार्यालयको तथ्यांक अनुसार यौनजन्य दुर्ब्यबहार र अपशब्द गालीगलौज गर्ने ४८, अश्लिल हर्कत गर्ने १० र अन्य ५ जना पक्राउ परेका छन् ।

यस अभियान अन्तर्गत खटिएका प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेट मार्ने ८ जनालाई पनि नियन्त्रणमा लिएको छ । जस मध्ये हिंसाको गाम्भीर्यता अनुसार २४ जनालाई मुद्दा चलाईएको छ भने ४७ जनालाई यस्तो कार्य नदोहोरिने गरी आफन्तको जिम्मा लगाईएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यौनजन्य दुर्ब्यबहार र गालीगलौज गर्ने ४८ मध्ये सबै भन्दा बढि साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नाकोत्तर गरेका १ जना समेत रहेका छन् । यस्तो हिंसाजन्य क्रियाकलापमा १५ देखि २५ बर्ष उमेर समुहको बाहुल्यता रहेको देखिन्छ ।

 

सेफ्टी पिन अपरेसन के हो ?
सार्वजनिक यातायातमा महिला तथा बालबालिकाहरू माथि हुने यौनजन्य दुर्व्यवहारस यौनजन्य आशयले महिला तथा बालबालिकाको अङ्गमा छुने वा छुने प्रयास गर्ने,अश्लील तथा यौनजन्य आशय प्रदर्शन गर्ने,यौनजन्य आशयले जिस्काउने तथा हैरानी दिन लगायतका कार्यहरू कानूनद्वारा बर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु र कतिपय पिडितले डर, सामाजिक प्रतिष्ठा, लाज वा असहजताको महसुश गरी कानुनी प्रक्रियामा आउन नचाहेको कारण प्रहरीले आफ्नै सक्रियतामा त्यस्ता गतिविधि गर्नेलाई कानूनी कारवाही गरी सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारको न्यूनिकरण गरि व्यवस्थित, सुरक्षित र मर्यादित साथै महिला तथा बालबालिका मैत्री सार्वजनिक यातायातको वातावरण निर्माण गर्न प्रहरीले थालेको अभियान हो ।

यस्ता किसिमका हिंसाको प्रतिकारमा महिलाले सेफ्टी पिनको प्रयोग गर्ने यथार्थलाई नै प्रहरीले अभियानको नाम दिएको हो । त्यसैले कसैलाई कुनै हिंसा भएमा प्रहरीको हटलाईन १०० वा ९८५१२८९१११ मा तुरून्त खबर गर्न प्रहरीले अपील गरेको छ ।

    Comment Here!


सम्बन्धित समाचार