“एकता नै हाम्रो शक्ति”

बिशन प्रधान
2017-09-10 12:33

-बिशन प्रधान/आज दार्जिलिङमा बंगालले गोर्खाहरुलाई पैताला मुनि कुल्चेर राखेको छ। भारत जस्तो गणतान्त्रिक देशमा हामी देशकै खाँटी रैथाने गोर्खाहरुलाई आफ्नो बिचार व्यक्त गर्न, आफ्नो आवाज सम्म उठाउन दिएको छैन। सिधै निधारमा गोलि ठोकेर मार्दैछ गोर्खाहरुलाई। बंगाल सरकारले अनेकौं कुटनैतिक चालहरु चलेर हाम्रो माँग, हाम्रो आवाजलाई दबाउने कार्य गर्दैछ। आज गोर्खाहरु माझ फाटो ल्याउने कार्य गर्दैछ। कसैलाई लोभ लालचमा फँसाएर, कसैलाई पुर्ण अगणतान्त्रीक, गैर कानुनी ढंगमा पुलिस बल प्रयोग गरेर कानुनी दाउपेचमा फँसाएर, साधारण जनताको घरमा CRPF अनि पुलिस पठाएर कुटपिट, लूटपाट , तोडफोड गराउँदै छ।

दार्जिलिङ पहाडमा गोर्खाहरु माथि भइ रहेका, यी अन्याय, अत्त्याचार र दमनहरु देखि केन्द्र सरकार पुर्ण रूपले अवगत हुँदाहुँदै पनि आज गोर्खाहरुलाई आफ्नो हालमा मर्नलाई छोडिदिएका छन्। केन्द्र सरकारले आज ३ महिना बितिसक्दा पनि गोर्खाहरुको हितमा एक शब्द्ब बोलिदिएन।

Ekatnai shakti-www.janabolinews.com

राष्ट्रिय स्तरका मिडियाहरुले पनि कुनै दिन दार्जीलिङको घट्नाहरुको साँचो खबरलाई प्रशारण गरि दिएनन्। जति पनि खबरहरु प्रशारण गरे सबै एक पक्षीय गरे, गोर्खाहरुको छविलाई देशको अघि बिगार्ने ध्येयले मात्र गरे, देश अनि सरकार समक्ष गोर्खाहरु प्रति नकारात्मक सोच उत्पन्न गर्ने उद्देश्यले मात्र दार्जिलिङमा घटेको घटनाहरुलाई प्रशारण गरे। दिल्लीको सडकमा कुकुर गाडिले कुच्च्याउँदा ब्रेकिङ्ग न्युज बनाउने राष्ट्रिय स्तरका मिडिया च्यानलहरुले दार्जिलिङ पहाडमा भएको राजनैतिक घटना, अन्याय अत्याचार , गोलि काण्ड, बम काण्ड, पुलिस को मनमानी, प्रशाशनीक हत्या जस्ता गम्भीर मामिलाहरुलाई प्राथमिकता दिएर, निष्पक्ष भएर कुनै दिन देशको जनता समक्ष प्रस्तुत गरेनन्।

यी सबै कुराहरुबाट छर्लङ्ग हुन्छ देशमा हामी कति अवहेलित छौं भनेर, देशको मूल धारा देखि हामीलाई कतिको टाढा राखिएको छ भनेर। देशको संविधान कै अन्तर्गत आफ्नो अधिकार पुर्ण गणतान्त्रिक ढंगले माँग गर्दा पनि आज हामीलाई पैतालो मुनि कुल्चिएर राखिँदै छ। हाम्रो आवाजलाई दबाइन्दैछ। हाम्रो घाँटी निमोठिंदै छ। यसको बिरोधको आवाज हामीले दबिनु दिनु हुँदैन। यस पाली पनि यो आवाज दबियो भने अब यो आवाज सदा सदाको लागि दबिएर जाने छ।

आज यो बिरोधको आवाज, यो हाम्रो माटोको माँगको आवाज, हाम्रो एक मात्र चाहना ” छुट्टै राज्य गोर्खाल्यान्ड” को आवाजलाई जनताले सडक सडक, गाउँ गाउँ , गल्ली गल्लीमा कराएर हिमशिखरको चुलीमा पुर्‍याएको छ। तर अफसोस हाम्रा नेताहरु जनताको यो आवाज, यो एकत्रित भएको जनशक्तिलाई सहि दिशा दिन बाट यस पालि अन्तिम भनेर लडिएको को यो अन्तिम लडाइँमा पनि चुके। कोही सत्ता र कुर्सीको लोभमा आफ्नै जातिलाई धोका दिएर बंगाल सरकार कै चरणमा शरण लिन पुगे, कोहि मौन धारण गरेर तप ध्यानमा लीन भए, कोहि एक अर्का मै दोषारोपण गरेर आफै हाँसो को पात्र बन्न थाले, एक-अर्काको निम्ति खाडल खन्न थाले, परोक्ष रूपमा हेर्नू हो भने आफ्नै निम्ति आफै खाडल खन्न थाले। रहल केही साँचो कर्मठ योद्दा तथा नेताहरुमा भेटेको जतिलाई बंगाल सरकारले पुलिस लगाएर समातेर आज सिलगडीको जेलमा पाइला हाल्ने ठाउँ छैन भने नभेटेकाहरुलाई भुमीगत हुन बाध्य गराए।

यसरी सब लथालिङ्ग हुनमा बंगाल सरकारको षडयन्त्र भन्दा बढी हाम्रो आफ्नै भूल छ भन्नूमा कुनै अत्युक्ति नहोला। गोर्खाल्यान्डको आवाजलाई दबाउनु बंगालको कर्म धर्म सब हो। उ आफ्नो जगामा सहि छ। तर त्यसरी नै गोर्खाल्यान्डको निम्ति एक भएर आवाज उठाउनु, एक सुत्रमा बाँधिएर लड्नु हरेक गोर्खाको पनि कर्म धर्म हो। तर यो एकता नै हामी गोर्खाहरुले कहिले गठन गर्न सकेनौं। राजनैतिक शक्तिमा कमजोर हामी सँग सरकारको विरुद्धमा लड्न यहि “एकता” तर अत्यन्त प्रभावशालि हतियार बाहेक अर्को कुनै हतियार छैन। यही कुरोलाई भापेर नै बंगाल सरकारले हाम्रो शक्तिलाई तोडन अनेकौं युक्तिहरु लगाए अनि सफल भए पनि। तर आफूलाई यहाँ गोर्खाभुमिपुत्र हुँ भन्ने कतिपय दाजु्भाइहरुले आज आफ्नै जातिको अस्मितालाई गोर्खाल्यान्ड बिरोधिहरु समक्ष समर्पण गरेको देख्दा यिनीहरूको शरीरमा कुन खून बग्छ भन्ने प्रश्न मनमा उठेको छ। गोर्खाल्यान्ड बनिन्दा कुन गोर्खालाई नोक्सान होला र आज हाम्रा दाजु भाइहरु एक-अर्का कै बिरोधमा उभिए? हामी एक भएर अघि बड्दा हाम्रो के नोक्सान हुन्छ र हामी सधैं आफ्नैहरुको बिरोध गर्न थाल्छौं? दार्जिलिङ जस्तो यति सानो ठाउँमा एक दर्जन भन्दा बढी राजनैतिक पार्टीहरु हुनु सायदै बिश्व भरीमा यो एक मात्र ठाउँ होला। यदि आज यति बिघ्न भिन्न भिन्नै पार्टी नभइ दिएको भए, भिन्न भिन्नै बिचार पनि हुने थिएन होला, भिन्न भिन्नै मत, भिन्न भिन्नै झण्डा, भिन्न भिन्नै झुन्डहरु हुने थिएनन्। बंगाल सरकारले एक एक वटा गर्दै कसैलाई किन्न सक्ने थिएन, एक एक वटालाई पछार्दै मार्न सक्ने थिएन। तर यहाँ सबैलाई आफू ठूलो हुने रहर छ, सबैलाइ सबैभन्दा माथि पुग्ने रहर छ। यसै कारण आज बंगाल सरकारले एक एक गर्दै हामी सबैलाई माथि पुर्‍याउँदै छ। अनि हामी एउटा सिंहले झुन्डमा भएको २, ३ सय भैंसीहरु मध्ये एउटाको शिकार गर्दा अन्य भैंसीहरुले तमाशा हेरे झै चुप चाप तमाशा हेर्दैर्छौं । तर हामीले बिर्सेका छौं, उसलाई खाने बाघले भोलिको दिनमा हामीलाई पनि अवश्य खान्छ।

अझ पनि केही बितेको छैन। राम्रो कार्य शुरु गर्नलाई कुनै पनि समय ढिलो हुँदैन। बिगतमा भएको भूल चुक कमीहरुलाई सच्च्याएर, आज भट्किएको यो जनान्दोलनलाई पुन सहि मार्गमा नयाँ अनि प्रभावशालि रणनीतिहरुको साथमा अघि बढाउन सकिन्छ। नेतृत्व स्तरमा रहेका व्यक्तिहरुले यी कुराहरुलाई एक पल्ट गहन गरुन् , जातिको अस्मिता र जनभावनालाई आफ्नो स्वार्थको निम्ति संकटमा नपारी दिउन्। यतिका दिनहरु सम्म भोगेको दुख कष्टहरु, ११ जना गोर्खे दाजु भाइहरुले दिएको जीवनको बलिदान र सैंकडौं योद्दाहरुले बहाएको खूनलाई सित्तैमा जान नदिउँ।

जय गोर्खा जय गोर्खाल्यान्ड

    Comment Here!


सम्बन्धित समाचार