मुक्तिनाथ पत्नीको विलौनाः “न्याय हरायो”

कम्तिमा हत्याराले कारवाही भोग्नुपरे त मन मान्थ्यो

दीपक अधिकारी
2017-09-05 13:13

दीपक अधिकारी

३, माघ २०५८ मा आफ्ना श्रीमान मुक्तिनाथ अधिकारीले अनाहकमा ज्यान गुमाउनु परेपछि चन्द्रेश्वर–७, की ईन्दिरा अधिकारीलाई नियतीले झनै पिडामा पुर्यायो । १३ बर्षको कलिलै उमेरमा बैबाहिक जिवन बाँधिएर जिम्मेवारीले थिचेको त्यो समयमा श्रीमानको अकल्पनीय निधनले उनमा ठुलो बज्रपात पर्यो । जिवनको त्यो चोट उनका लागि कहिल्यै नमेटिने छाप बनेर बसीरहेको छ ।

रुढीवादीले थिलोथिलो परेको तत्कालिन समाजमा पढ्नु पर्छ भन्ने मान्यतानै बसीसकेको थिएन् । त्यसमा पनि छोरीले पनि पढ्नु पर्छ भन्ने चेतना त नगन्य नै थियो । घाँस दाउरा र गाईवस्तु चराउदै दुःखले बाल्यकाल झेलेकी उनलाई बिबाह पछिका दिनहरु पनि सहज र सजिला भएनन् । श्रीमान मुक्तिनाथ अधिकारीसँगको दाम्पत्य जिवन यताका धेरै दुःखका मोडहरु र जिन्दगीका उतारचढावहरु उनलाई अहिले पनि ताजै लाग्छन् । चाहेर पनि बिर्सन सक्दिनन् ती क्षणलाई उनले ।

Muktinath-Indira-Janaboli

डेढ बर्षका थिए मुक्तिनाथ, बुवा हरीप्रसाद अधिकारीको मृत्यु हुँदा । पितृसतात्मक प्रबृत्तिले गाँजेको समाजमा दुःखले दिन काट्दै जसोतसो छोरा मुक्तिनाथलाई बिद्यालय जानबाट कहिल्यै बञ्चित गराईनन, उनकी आमा कौशिलाले ।

दीदी बिष्णुमायाँ र बहिनी सुर्यदेबी उनको सहयोगी थिए । ‘हामी त कहाँ स्कुल जान पाउँथ्यौं र ? बाल्यकाल सम्झंदै सुर्यदेबी भन्छिन ‘घर गर्जो चलाउन र भाईको पढाई खर्च जुटाउनलाई आमासँगै संघर्ष गर्नुपथ्र्यो ।’ आमाको मायाँ र दीदीको साथ हुँदै पत्निको पूर्ण सहयोग पाएका मुक्तिनाथ पढ्नमा  निकै अब्बल थिए । एसएलसी प्रथम श्रेणीमा उत्र्तिण भएपछि उनले बीएड सम्मको अध्ययन सकाएर गाउँमै शिक्षकका रुपमा काम गर्न थाले । श्रीमान शिक्षण पेशामा लागेपछि ईन्दिराको परिवारमा शुःखका दिनले पछ्याउँदै थिए । दुई छोरा सुमन र सुभास पढ्नका लागि काठमाडौंमा बस्न थालेका थिए । दैनिकी र जीवनस्तरमा परिवर्तन आउँदै थियो ।

गणित र बिज्ञानका शिक्षक मुक्तिनाथ आफ्नो बिषयबस्तुमा निकै दख्खल थिए । अनुशाशन र मर्यादालाई आर्दश ठान्ने उनीप्रति शिक्षक र बिद्यार्थीको ठुलो श्रद्वा थियो । माओवादी शशस्त्र युद्धले तीब्र गति लिईरहेको त्यो समयमा बिद्यालयहरुमा माओवादीको ‘चन्दा आतंक’ ले शिक्षकहरु त्रसित थिए । चन्दा नदिए ‘सफाया’  गर्ने धम्कीले माओवादीले भनेजति पैसा प्राय शिक्षकले बुझाए । तर, मुक्तिनाथ पटकौं चन्दा दिने कार्यको भने बिरोध गर्थे ।  यद्यपी, उनीसँग पनि माओवादी कार्यकर्ताले चन्दा लिन भने छाडेनन् ।

माओवादी आतंकका कारण बिद्यालयका प्रधानाध्यापकहरु निकै जोखिम मोल्दै बिद्यालय सञ्चालन गर्न बाध्य थिए । सोही कारण बिद्यालयका तत्कालिन प्रधानाध्याक नबकुमार अधिकारीले राजीनामा दिएपछि स्कुल चलाउने जिम्मेवारी मुक्तिनाथको काँधमा आयो । ‘मैले उहाँलाई हेडमास्टर नहुनुस भनेर बारम्बार भनें, आशुं झार्दै पत्नि ईन्दिराले भनिन्, ‘मैले कसको के बिगारेको छु र ? मलाई कसैले केहि गर्दैन भन्नुभयो ।’ तर, त्यही प्रधानाध्यापक पद मुक्तिनाथको जिवनमा भने काल बनेर  आयो । प्रधानाध्यापकको नियुक्ति लिएर बिद्यालय आएकै दिन गाउँ नजिकैको उत्तिसको रुखमा हातखुट्टा बाँधेर बिभत्स हत्या भयो उनको । माओवादी द्धन्दकालको गम्भिर मानवअधिकार उल्लघंनको त्यो घटनाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ठुलै चर्चा पायो । ‘मुक्तिनाथ’ हत्याले देश बिदेशमा ठुला चर्चा पाउन थालेपछि माओवादी भित्र आत्मग्लानी भएपनि लामो अन्तराल पछि माओवादीका तत्कालिन नेता बाबुराम भट्टराईले मुक्तिनाथ अधिकारी हत्याको गल्ति त स्वीकारे तर, उनी स्वयं र माओवादी पार्टीले अनवरत रुपमा मुक्तिनाथको हत्यामा संलग्नहरुलाई जोगाउन प्रयत्न जारी राख्यो ।

मुक्तिनाथ हत्या, केबल ‘हत्या’ मात्र थिएन् । तत्कालिन बिद्रोही माओवादीले गरेको क्रुरताको एउटा उदाहरण सँगै नेपाली समाजमा एउटा नारीले जिवनभर भोग्नुपरेको दुःख र त्यसमा डटेर गरेको सामनाको प्रतिनिधिमुलक घटना समेत थियो ।

जागिरे श्रीमान बिताउनु परेपछि उनका लागि फेरी दुःखले पछ्याँउदै थियो । दुई छोराको पढाई खर्च पु¥याउनु र घर ब्यबहार चलाउनु सामान्य गरिब कृषक महिलाका लागि निकै चुनौति नै थियो  । ‘परेपछि सबै ब्यहोरीदाें रहेछ, ईन्दिराले भनिन,‘ दुःखका के कुरा गर्नु ? मेरो जिवननै दुःखमा बित्यो ।’

अहिले ६३ बर्ष लागिन ईन्दिरा । गाला चाउरीएका छन् । धेरै थाकेको जस्तो देखिन्छीन् । आशा र भरोसा र आत्मसन्तुष्टीबाट बिस्तारै टाढा हुन खोज्दैछन् उनी । अरुसँग कुराकानी गर्न बिगतको घाऊ कोट्याउन उनलाई मनलाग्न छाडेको छ ।
उनले भनिन्, ‘के कुरा गर्नु ? जति कोट्याएपनि हुने केही होईन्, त्यही दुःख मात्र त हो । कानुन सानाका लागि मात्रै रहेछ ठुलाबडाका लागि त कहाँ रहेछ र ?

“मुक्तिनाथ हत्या, केबल ‘हत्या’ मात्र थिएन् । तत्कालिन बिद्रोही माओवादीले गरेको क्रुरताको उदाहरण सँगै नेपाली समाजमा एउटा नारीले जिवनभर भोग्नुपरेको दुःख र त्यसमा डटेर गरेको सामनाको प्रतिनिधिमुलक घटना समेत थियो ।”

श्रीमान बितेपछि झण्डै दुई बर्ष एक्लै गाउँमा बिताईन् उनले । घर एक्लो ठाउँमा थियो । साँझ पर्न थालेपछि उनलाई डरलाग्ने रहेछ । ‘पाँचबजेनै खाना खाएर सुत्नका लागि गाउँमा जान्थेँ’ उनले       भनिन् ।’

माओवादीले ‘भेट्न आउँछौ’ भनेर छिमेकी मार्फत खबर पठाउँदा उनलाई निकै डर लाग्न थालेको थियो । एक्ली महिला । केही छिमेकी बाहेक अन्यले उनीप्रति गर्ने ब्यबहार र हेर्ने दृष्टीकोण पनि बदलिंदै गयो । ‘सबै बलेको मुढा त ताप्ने रहेछन नी’ उनले भनिन्,‘ कोही हेप्थे, यही हो मौका भने झैं गर्थे ।’

एक्लो घर । बेसाहारा अनि त्रसित मन लिएर उनी गाउँमा बस्न सकिनन् । गाउँको जग्गा जमिनको मायाँ एकातिर , गाउँ वस्नै नसक्ने वाताबरण अर्को थियो, उनका छोरा सुमन भन्छन, ‘ पहिले त घर छाड्न मान्नुभएको थिएन्, पछि हामी सबैको आग्रहमा घरजमिन छोडेर काठमाडौंमा बस्न सहमत हुनुभयो ।’

गाउँबाट छाडेर काठमाडौ बसेको यतिका बर्ष बितिसक्दा पनि उनलाई दुराडाँडाको त्यो घर र त्यो ठाउँ देखेपछि पुरानै घटनाको याद आई हाल्छ । गाउँको घरधन्सार जिर्ण भएर भत्किसकेका छन् । जग्गाहरु बाँझै छन् । कहिलेकाहिं गाउँमा आउँदा पनि आफ्नो घरजग्गाको त्यो हालत देखेपछि उनले मनलाई थाम्नै  सक्दिनन् । हिजोआज काठमाडौंमा बसेपनि उनको मन अझै खुशी छैन् । खुशी हुनलाई त भित्र मनबाटै खुशी हुनुपर्ने रहेछ, उनले भनिन, ‘मन रमाईलो भए पो अरु रमाईलो ।’ छिया छिया भएको मनलाई उनले संहाल्न पनि नखोजेकी होईनन् । काठमाडौंमा दैनिकजसो सत्संगमा जान्छिन् । मनलाई धार्मिकता जोड्न खोजेपनि अझै मनमा शान्ति नभएको उनले बताईन् । मनलाई शान्त पार्ने आधार खै ? उनी भन्छिन् ,‘ कम्तिमा हत्याराले कारवाही भोग्नुपरे त मन मान्थ्यो ।’

 

कहिले पाईन्छ न्याय ?
श्रीमानको हत्या भएकै भोलीपल्ट ४, माघ २०५८ मा उनले प्रहरीमा खबर गरेपनि डरका कारण किटानी जाहेरी दिन सकिनन् ।  २४, चैत २०६७ मा पिस ब्रिगेड्स इन्टरनेशनल नेपालका प्रतिनिधि, एड्भोकेसी फोरम र इन्सेकको सहयोगमा तत्कालिन माओवादीका कार्यकर्ताहरु साबिक जिता–५ का ‘प्रताप’ भनिने देवेन्द्र पौडेल, ईशानेश्वर–४ का प्रभु भनिने साधुराम घिमिरे र कास्की मिजुरे– ५ का ध्रुव अधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यलय बेसीशहरमा किटानी जाहेरी दिएकी थिइन् । परिवारले प्रहरीमा किटानी जाहेरी दिएको १ बर्ष बितिसक्दा पनि निबेदन उपर सुनावाई नभएपछि महान्याधिबक्ताको कार्यालय काठमाडौंबाट आबश्यक अनुसन्धान गरी तत्कालन कारवाही अघि बढाउन १२ बैशाख, २०६८ मा परिपत्र समेत गरेको छ । तर, हालसम्म पनि न  पीडितको निबेदन उपर कारवाही भएको छ न त महान्याधिबक्ताको कार्यालयको परिपत्रको कार्यान्वयन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलकुमार रजौरिया मुक्तिनाथ घटना कार्यान्वयनको अवस्थामानै रहेको दावी गर्छन् । किटानी जाहेरी परेपछि हामीले मातहातका निकायमा पत्राचार गरेर पक्राऊ पुर्जी जारी गरीसकेका छौं, उनले भने, कर्मचारी सरुवा बढुवा, द्धन्दकालको घटना भएका कारण ढिलाई भयो ।’ तत्कालै अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउँछु, उनले भने ।’ उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा यो घटना सहित द्धन्दकालका २४ वटा मुद्धाहरु बिचारधीन अवस्थामा छन् ।

द्वन्दकालको  गम्भिर मानव अधिकार उल्लंघंनको यो घटनाका ओरोपितहरु खुलेआम सामाजिक देखि राजनितिक गतिबिधिमा सक्रिय बनेको देख्दा ईन्दिरालाई मुलुकमा अब न्याय नै हराए झैं लाग्दो रहेछ । किटानी जाहेरी दिएको पाँचबर्ष कटिसक्दा पनि आरोपीतलाई केही नहुनु र समाजमा अझै उनीहरुकै बोलवाल चलीरहको देख्दा उनी आक्रोशित हुन्छिन् । ‘हामीले केही बोल्न जानिएन, जसको ठुलो स्वर उही माथी पर्ने रहेछ’ उनले भनिन्,‘सरकार पनि बलियाका लागि मात्रै रहेछ ।’ ‘मन कसरी बुझाउने ? कम्तिमा ओरोपीतले सजायँ पाएपनि मनले त मान्थ्यो ।’ उनले भनिन् । न्यायको प्रतिक्षामा बाटो कुरेर बसीरहेकी छन् उनी ।

 

‘भोट नै दिन्न’
गएको दोस्रो संबिधान सभाको निर्वाचनमा पनि ईन्दिरा अधिकारीले मताधिकारको प्रयोग गर्न गईनन् । ‘मत हालेर कसलाई जिताउने ? जो पनि हाम्रै मतले माथी जान्छन् ’ उनले भनिन्,‘जनताको काम गर्ने कोही देखिन् ।’ दुनियाँ मान्छे मारेर नेता बन्नेलाई आफुले अबदेखि पनि कसैलाई पनि भोट नहाल्ने बताईन् । मुलुकको न्याय प्रणाली, सरकारको संयन्त्रमाथी नै बिश्वास छैन आजकल ईन्दिरालाई । ‘बोलवाला र पहुँचवालाले नै चलाउने रहेछन देश’ उनले भनिन् ।
(नारीदिवस २०७२ को अबसरमा अन्नपूर्ण पोष्टमा प्रकाशित आलेख ।)

    Comment Here!


सम्बन्धित समाचार