कुमारित्व फर्काउन ! बक्षस्थल ठुलो, सानो, टाईट बनाउन ! यो कस्तो विज्ञापन ?

2017-09-03 17:50

छवी अधिकारी । नेपाली दैनिक पत्रिकाको ग्राहक म, ठुलो कम्पाण्ड भएको मेरो घरको गेटबाट ५–६ वटा पत्रिका फुत्त भित्र फालियो । बिहानै उठेर ससुरा बुहारी करेसा बारीको हेरचाह गर्नमा खटिएका थियौँ । पत्रिका बोक्नेले गोलो रोल गरेर फुत्त भित्र फाल्दा नागरिक दैनिक र कान्तिपुर दैनिक छरिए फुके । संयोगपनि कस्तो दुवै पत्रिकाको बर्गिकृत बिज्ञापन भएको पाना असरल्ल भएर पल्टिए । पत्रिकाको फालिएको आवाजले हामी ससुरा बुहारी दुवैको आँखा त्यही पुग्यो । सधैँ पत्रिका टिपेर सम्हालेर राख्ने बुहारीका आँखा त्यो दिन टक्क रोकिए । दर्जनौ काला र २–४ वटा रंगिन बिज्ञापनले बुहारी लाजले पानी–पानी भईन् । उनको अनुहार रातोपिरो भयो । मैलेपनि हठात् पत्रिका उठाउन साहास गर्न सकिन । बुहारीलाई राम्रोसँग हेर्नपनि सकिन । एकछिनपछि हतार गर्दै पत्रिका नजिकै पुगे यस्ता छाडा विज्ञापन किन छाप्छ पत्रिकाले यसै मेरो मुखबाट शब्दले बाछिटा छर्दै बाहिर निस्किएको थियो ।

एउटा चिया गफमा एक सिनियर प्रतिष्ठित व्यक्तित्वले ओकल्नुभयो । उहाँले ती बिज्ञापनका बारेमा मसँगपनि खुलेर शब्द ओकल्न सक्नुभएन । कुन्नी के कुमारीत्व फर्काइदिने रे । बक्षस्थल टाईट, सानो, ठुलो बनाउने रे, लिङ्गको साईज बढाउने घटाउने रे भगवान जस्तै दावी गर्दै सबै प्रकारका यौन समस्या समाधानका लागि भन्दै बिज्ञापन गरिरहेको हुन्छ । तपाईको मिडियामा ल्याउनुस् न ती कस्ताहरुका बिज्ञापन हुन् ? पत्रिकाले किन छाप्छन् ? राज्यले खोजेको छ की छैन ?

मेरो मनमा चसक्क पस्यो । मैलेपनि कयौँ पटक पत्रिका पल्ट्याउदा दिदि, आमा, भाउजुहरुका अगाडी लाज भोग्नु परेको छ । लाजले भुतुक्कै हुनु परेको छ । मैले खोज्ने निधो लिइ । अब पत्रिकामा दिइएको ठेगाना खोज्दै म पुरुष भएपनि महिलाको कुमारित्व फर्काउने, स्तन टाईट, सानो तथा ठुलो बनाउने स्थान चाहार्न थाले । गल्लि–गल्लीमा आँखा फिजाउदै लिङ्ग सानो तथा ठुलो बनाउने, लिङ्ग कडा बनाउने कोठरी खोज्दै हिँडे । चोकका गल्लि–गल्लीमा देखे । त्योपनि ठुल्ठुला होडिङ्ग बोर्डमा ।

अनौठोपनि लाग्यो । हल्का उत्ताउला देखिने मोडलले मोडलिङ्ग गरेका बिज्ञापनले सहर उत्ताउलो बनायो भन्दै बिज्ञापन च्यात्दै हिड्ने महानगरका आँखा यी चोकमा चै खल्तीमा पसेछन् की क्या जस्तोपनि लाग्यो । घर नै आधा ठाक्ने होडिङ्ग बोर्ड मज्जाले टाँगिएको देख्थे । ठाउँ त पत्ता लाग्यो । अब फसाद पर्यो । माथी जान लाज लाग्यो । वरिपरीका अरु ब्यवसायीक पसल, कार्यालयका मानिसले के भन्ने हुन् । पक्कै लिङ्ग ठुलो या सानो बनाउन आएको होला भन्छन् नै स्वभाविक मानव भावले मलाई प्रश्न गरिरह्यो । ह्वात्त होडिङ्ग बोर्ड टाँगिएको तलमा पुग्न मलाई सरमले छोडेन ।

फेरी मनलाई दह्रो गरे । म त पत्रकार पो त आफ्नो जिम्मेवारीले मलाई साहासिलो बनायो । मनले नै प्रश्न, उत्तर, प्रश्न उत्तरको दोहोरी खेलिरह्यो । चाबाहिल चोकको यो होडिङ्ग बोर्ड भएको फ्ल्याटमा पुगे । तीन वटा कोठा एउटा बाथरुम भएको फ्ल्याट थियो । दुई वटाका ढोका खुल्ला थिए । एउटा बन्द थियो । ३५–३६ बर्षको एउटा युवाले हातमा युवतीको ब्रा मात्र लगाएको तस्बीर भएको डब्बा बोकेको थियो । दुई जना युवतीले उसलाई जिज्ञासा राखिरहेका थिए । साप्पै छाती भएकी युवतीले अलिक चासो देखाईन् । अर्की मलाई देखेपछि अलिक लजाईन् । मलाई देख्दा देख्दै उनले सोधि हालेकी थिइन् यसले फुलाउछ त ? मलाई देखेपछि युवक टक्क रोकिए । मलाई सोधे के थियो होला ? मैले सोधे ग्लोबल फिटनेस सप प्रा.लि. यही हो । उसले हो भन्यो । बस्नुस्न भन्न नपाउदै म अर्को कोठाको सोफामा पुगिसकेको थिए । उनीहरु बन्द भइरहने कोठा तर्फ गए । भित्रको सम्वाद सुनिएन ।
केही मिनेटमा युवक आए र मलाई जिज्ञासा राखे । उनले मलाई पत्रिकामा भएको विज्ञान हेरेर आउनुभएको ? प्रश्न तेस्र्याए । मैले सुचना लिन ग्राहक नै बन्ने निर्णय लिए । उसैले सोध्यो । लिङ्गको बारेमा उपचार हो । मैले साँची यो के हो ? जिज्ञासु तरिकाले सोधेँ । उसले टेबलको बक्साबाट पुरुषले भित्री कपडा मात्र लगाएर खचाएको तस्बीर भएका तीन वटा बक्सा निकाल्यो । कत्रो चाहियो ? प्रश्न गर्यो । मैले यही भन्दापनि कसरी काम गर्न उसैलाई जिज्ञासा थपे ।

यो लङ्ग जोन लामको क्रिम, यो हर्वल क्रिम हो । यो लगाएर नियमित मसाज गरे तपाईको लिङ्ग इच्छ्याए सम्मको ठुलो हुन्छ । मैले अरु जिज्ञासा थपे । यो स्तन, भर्जिनिटी फर्काउने चै के हो ? उपचार गर्नुहुन्छ की ? उसले बाँकी अरु डब्बापनि निकाल्दै देखायो । यो ग्रीन टी ब्रेष्ट लिफ्टीङ्ग फाष्ट क्रिमले स्तन बढाउछ । यस्तै अरु क्रिमहरु छन् । सबै क्रिमबाट गर्ने हो । केही पम्पहरुपनि उपलब्ध छन् । मैले बन्द कोठमा के गर्नुहुन्छ ? प्रश्न गरे । उसले लगाउने तरिका सिकाउने हो ।

मैले थप जिज्ञासा राखे । कस्ता मानिस आउछन ? उसले कुनै धक नमानी भन्यो । आज मैले यो विजनेस गरेको १२ बर्ष भयो । यहाँ खास सबै मानिसहरु आउछन् । कुनै लेवल छैन । खासगरी ब्रेष्ट ठुलो बनाउन शारिरीक रुपमा नै सानो हुने युवतीहरु आउछन् । बे्रष्ट सानो बनाउन, टाईट बनाउन चै धेरै जसो श्रीमान् विदेश गएका श्रीमातीहरु आउछन् । भर्जिनिटी फर्काउन बिबाह अगाडी नै शारिरीक सम्बन्ध राखेकाहरु बिबाह हुनुभन्दा केही अगाडी मात्र यस्तो खोजीमा आउछन् । उसले खुलेरै जानकारी दिए ।

हर्वल क्रिमले स्तन बढ्छ ?
स्तन एक विशेष किसिमको ग्रन्थि हो, जसले सन्तान उत्पादनपछि पोषणका लागि दूध बनाउँछ । बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छ, तर किशोरावस्थामा पुगेपछि केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यतः दुई–तीन वर्ष ढिलो–चाँडो हुन सक्छ ।

स्तनको विकासका चरणहरू

स्तनको विकासको कुरा गर्दा आकृति (shape), आयतन (size) लाई नै Tanner Stage भनिने पाँचवटा चरणमा बाँडिएको छ ।

पहिलो चरण : यो किशोरावस्थाभन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : द्यगम जस्तो देखा पर्छ, स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझ बढ्छ र ग्रन्थीय तन्तु (glandular tissue) बन्छ ।

चौथो चरण : Areola र मुन्टो अझ उठ्छ, स्तनको सबै भागमा थप वृद्धि हुन्छ ।

पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुन्छ, स्तनले गोलाकार आकृति लिने, स्तनको अन्य भागको सतह समान हुन्छ र मुन्टो मात्र उठेको स्थितिमा हुन्छ ।

पूर्ण विकसित स्तनको आकारमा प्रशस्त भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन ठूलो हुन्छ । व्यक्तिको वजन धेरै भए यसको साइज पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको वृद्धि तीव्र हुनुको मुख्य कारण स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिँदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनले ।

स्तनको आकार र आयतनको महत्व

स्तनको महत्व छ । महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैका लागि यौन आनन्दको स्रोत हुन्छ । स्तनको आकृति तथा आयतनको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूले स्वास्थ्यभन्दा सुन्दरताका कारण स्तनको चिन्ता बढी गर्छन् भनिन्छ ।

अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक बनाइएको हुन्छ, हाम्रो सामाजिक जीवनमा त्यसो गर्न सजिलो पनि छैन, कतिपय अवस्थामा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आम व्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्रको जस्तै हुनुपर्छ भन्ने छैन । सानो स्तन हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता वा शिशुलाई स्तनपान गराउने कुरामा असक्षम हुने होइन । केही पुरुष ठूला स्तनप्रति आकर्षित भए पनि वास्तविक यौन क्रियामा स्तनको आयतनलाई नै सुखमय यौनजीवनको मुख्य मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् ।

स्तन ठूलो बनाउने उपाय छ ? अथवा क्रिमले काम गर्छ ?

मुख्यतया: स्तनको आकारको निर्धारण आन्तरिक रस (हार्मोन) हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । तपाईंको तौल के–कस्तो छ यसलेपनि फरक पार्छ । धेरैले प्राकृतिक उपायको खोजी गरेको पाईन्छ । यस्तै बजारमा पाउने क्रिम तथा पम्प खोजीमा युवतीहरु चाहादै हिँडेको पाईन्छ । तर यो कुरा हाम्रो नेपालमा सम्भव छैन ।

विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलब्ध छन् । तर यसको प्रभावकारिता वा विश्वसनीयता छैन । यसको विश्वास विश्वभरी नै छैन । त्यसैले यस्ता हर्वल युक्त क्रिमहरु खोज्दै नहिँड्न चिकित्सकको सुझाव छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले कतिपय विकसित मुलुकमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको नकारात्मक असर पर्न थालेको देखिएकाले त्यसका वैकल्पिक उपायहरूका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ । योपनि उपयुक्त उपाय हैन ।

सबैले के थाहा पाउनुपर्यो भने स्तन खुला राख्नु नपर्ने अङ्ग हो । खुल्ला राख्न सम्भवपनि छैन । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न सक्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसैगरी स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन २ साइजसम्म ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी आफ्नो वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि उपलब्ध छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगा बाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो–होइन भन्न सकिँदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी बनाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ । त्यसैले गलत कुरामा लागेर स्वास्थ्यमा नकारात्मक असर नपार्न चिकित्सकहरुको सुझाव छ । यसले स्वास्थ्य र पैसाको नाश हुन्छ ।

 

लिङ्गको आकार बढाउने घटाउने असम्भव, ठुलो लिङ्गले बढी आनन्द भ्रम मात्र

लिङ्गको बिकासपनि मानिसको बिकाससँगै हुने हो । यो हरेक मानिस अनुसार भिन्न छ । लिङ्ग बढाउनका लागि अहिलेसम्म कुनै उपचार वा औषधि छैनन् । भ्रममा नपर्न चिकित्सकको सुझाव छ । लिङ्गको आकार बढाउने अनेक उपाय खोज्दै हुनुहुन्छ भने सावधान, यो सम्भव छैन । कुरा रह्यो लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा यो गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान गरेको थिए ।

उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् । पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै तनावमा हुने गरेको पाइएको छ। अझ ब्लू फिल्ममा जस्तै पुरुषको लिंग मोटो र लामो हुनुपर्छ भन्ने धारणा बनाउँछन् ।

अमेरिकाको गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३ दशमलब ४ देखि ३ दशमलब ७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५ दशमलब १ देखि ५ दशमलब ७ इन्च हुन सक्ने जनाएको छ । यौन सन्तुष्टि लिंगको आकारभन्दा पुरुष महिलाबीचको प्रेममय क्रिडामा भर पर्छ। बजारमा लिंग बढाउने नाममा धेरै किसिमका साधन पाइन्छन् । तीमध्ये पम्पहरू बढी प्रचलित छन्। तर, पम्प प्रयोग गर्दा अगंभङ्ग हुने हुन्छ । यसले फाईदा दिँदैन । यसले लिंगलाई चोट पुर्‍याउनसक्छ । लिंगको आकार ठूलो हुँदा महिलालाई समस्या हुन सक्छ । ठूलो लिंग योनीभित्र बलपूर्वक छिराउँदा योनीमा चोट पनि पुग्न सक्छ । लामो लिंग महिलाको योनीको भित्रसम्म पुग्ने र अझ बलपूर्वक सम्भोग गर्दा महिलालाई पीडा हुनुका साथै रक्तस्राव पनि हुन सक्छ ।

त्यसैले ठूलो र मोटो लिंगले महिलालाई चरम यौन आनन्द दिन्छ भन्नु गलत हो । लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो । महिलाको सुन्दर जिउडालले मात्र पुरुषलाई यौन आनन्द दिन सक्दैन । पुरुषको सम्भोग कलाले मात्र फरक पार्छ किनकी यो एक कला हो । सम्भोगअघि प्राक्क्रीडालाई धेरै समय दिनुपर्छ । हतारहतार आफ्नो आकांक्षा तृप्त गर्नुलाई सम्भोग भनिँदैन, जुन एकतर्फी हुन्छ । सम्भोगमा दुवैको सहभागिता बराबर चाहिन्छ । न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ ।

भर्जिनिटी कुमारित्व फर्काउने कुरा भ्रम मात्र
उपत्यकाका केही अस्पताल, निजी स्वास्थ्य संस्था तथा यस्ता केही पसलहरुले कुमारित्व गुमाएका महिलालाई फेरि कुमारी बनाइदिने भ्रम पारेर धन्दा चलाइरहेका छन् । जुन गैरकानुनी र अनैतिक धन्दा हो । यो असम्भवपनि छ । पहिलो कुरा त महिलाहरूको भर्जिनिटी एकपटक गुमेपछि त्यो फेरि फर्काउन नसकिने चिकित्सकको दावी छ । स्त्रीरोग विशेषज्ञहरू डाक्टर भोला रिजाल र जागेश्वर गौतमपनि यही भन्छन् । तर पनि नेपालमा हुनै नसक्ने अप्रेसनको नाटक गरेर एकातिर कमाउ धन्दा भइरहेको छ भने अर्कोतिर सामाजिक मनोविज्ञानलाई समेत ख्याल गरिएको छैन । छिमेकी देशहरूमा ‘हाइमिन रिपेरिङ’ हुने भए पनि नेपालमा भने त्यस्तो सेवा दिने कुनै पनि अस्पताल छैन । तर पनि नेपालका ठूला भनिएका केही अस्पताल र क्लिनिकहरूले ‘भर्जिन’ बनाउने भन्दै महिलाहरूको प्रजनन् अंग सिलाउन थालेका छन् ।

अहिले योनि सिलाएर फेरि भर्जिन बन्न अविवाहित युवतीदेखि आमा भएकाहरू पनि यस्ता धन्दा चलाउने अस्पताल र क्लिनिकहरूमा धाउन थालेका छन् । सँगै यस्ता क्रिमहरु खोज्दै हिँडेका छन् । डाक्टरको काम महिलाहरूको प्रजजन अंगमा कुनै समस्या भए वा कुनै कारणले योनिको आकारमा परिवर्तन भए त्यस्तो सेवा दिने हो । तर, अहिले डाक्टरहरूले केही रकम पाउने आशमा र महिलाहरू फेरि कुमारी बन्ने दौडमा धमाधम योनि सिलाउने व्यापार र लहड बढेको छ । जुन विश्वमै सम्भव छैन ।

जनबोली | जनबोली न्यूज नेटवर्क (प्रा.) लि.
थप समाचारका लागि हाम्रो वेबसाइट
http://www.janabolinews.com/

पेज लाईक गरेर हाम्रा हरेक अपडेट फेसबुकमा हेर्न
https://www.facebook.com/janaboli/
Likes बटममा क्लिकसँगै Following मा क्लिक गरेर See First बटममा क्लिक

    Comment Here!


सम्बन्धित समाचार